१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

हेम्जामा एकमहिने सारंगी प्रशिक्षण

गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजना एवं हेम्जा साहित्य प्रतिष्ठानसँगका सहकार्यमा कास्कीको हेम्जामा एकमहिने सारंगी प्रशिक्षण भएको छ।

गन्धर्व समुदायका २५ बालबालिकाको सहभागिता रहेको प्रशिक्षणमा स्थापित सारंगी वादक सम्मरबहादुर गायकले सहजीकरण गरेका थिए। प्रशिक्षण समापन कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले वैदिककालभन्दा अघि सारंगीको उत्पत्ति भएको बताउँदै एक तार हुँदै आज सारंगीको विकसित रूप चार तारसम्म आइपुगेको बताए। ऐतिहासिक महत्व बोकेको सारंगी गन्धर्व समुदायसँग जोडिनु खुसीको कुरा भएको उनले बताए।

नेपाली लोकभाकामा प्रयोग गरिने सारंगी बाजा मात्र नभई व्यवसाय पनि भएको उल्लेख गर्दै उनले नयाँ पिँढीले यसको संरक्षण प्रवद्र्धनका साथै व्यवसायसँग पनि जोड्नुपर्ने आवश्यकता औँल्याए।

प्रशिक्षणका सहजकर्ता सम्मरबहादुरले यस्तो प्रकारको प्रशिक्षणले नयाँ पिँढीलाई आकर्षण गरेको बताए। प्रशिक्षणका लागि एक महिनाको समयावधि कम भएको भन्दै उनले यस्ता प्रशिक्षण निरन्तर हुनुपर्ने आवश्यकता औँल्याए।

गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले प्रज्ञा प्रतिष्ठानको काम नै जातजातिका विभिन्न मौलिक संस्कृति जर्गेना गर्ने भएको बताउँदै पछिल्लो समयमा नयाँ पुस्ता आफ्नो भाषा, बाजा, वेशभूषा र संस्कृतिप्रति उदासिन बन्दै गइरहेको जनाउँदै चिन्ता व्यक्त गरे।

हेम्जा साहित्य प्रतिष्ठानका अध्यक्ष बलराम पौडेलले प्रशिक्षणले नयाँ पुस्तामाझ सारंगी बाजाको महत्वलाई उजागर गरेको बताए। प्रशिक्षण गत पुस २७ गतेबाट सञ्चालन भएको गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए। –रासस

प्रकाशित: २९ माघ २०८० ०९:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App