१९ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

जीवनसाथी भन्छौ, दासको जस्तो व्यवहार किन गर्छौ?

मुक्तक

१) मुक्तक

कसैले देला र खाउँला भन्ने नसोचे हुन्छ,

कसैले देला र लाउँला भन्ने नसोचे हुन्छ।

यहाँ अरबपतिलाई पनि धनको कमी छ,

कसैले देला र पाउँला भन्ने नसोचे हुन्छ।

२) मुक्तक

नाता गाँस्नुभन्दा पहिले नै पाहुना बनेर घरमा आउँछन्,

को कस्तो छ, घरको चलन के छ पहिल्यै थाहा पाउँछन्।

केटी हेर्न जाने माग्न जाने चलन थियो, अहिले फरक छ,

उहिले बुहारी तह लाउने भन्थे अहिलेकाले सासू तह लाउँछन्।

३) मुक्तक

मन्त्रीका कुरा सुन्दा एउटा एअरपोर्ट पुग्दा कुरा अर्को लाग्छ,

देशमै विकास भ’को छ भन्छन् विदेश जानेको लर्को लाग्छ।

उमेर र सीप, बुद्धि भ’का तन्नेरीहरू देशमा बस्नै मान्दैनन्,  

भोभो यी नेताका कुरा नगर यिनका कुरा सुन्दै झर्को लाग्छ।

४) मुक्तक

कहिले छोराछोरी कहिले बुढी, कहिले बुढा बिरामी,

रोग लाग्दा व्यथा बोक्नुपर्ने एक्लै, अरू बेला हामी।

मरिएला भन्ने मनमा चिन्ता, सास हुञ्जेलको आश,

अस्पतालले जब हु्न्न भन्यो तब चाहियो लामाधामी।

५) मुक्तक

तिम्रा पाउमा मेरा यी निधार पर्दा तिमी मक्ख पर्छौ,

कहिले कुनै काम विशेषले भुलेछु भने आँखा तर्छौ।

यी दासताका अवशेष हुन् भोलि पक्कै रहने छैनन्,

जीवनसाथी भन्छौ, दासको जस्तो व्यवहार किन गर्छौ?

प्रकाशित: १८ माघ २०८० ०८:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App