१) मुक्तक
शून्य भए गाउँका बस्ती, फिर्ता आउने पाइला छैनन्,
झाम्रे र खेली रन्काउँथे, रसिला ती साइला छैनन्।
साइँलीहरू शहर पसे, विदेश जाने उतै फसे,
‘डाँडाका घाम’झैं बाआमाका, दिन कसै रमाइला छैनन्।
२) मुक्तक
गर्दै नगर्नेको भजन, नारा सिद्धान्त घोक्नुपर्या छ,
अपराधी वा वापती हुन्, पहुँच छ र बोक्नुपर्या छ।
थुकेको थुक चाटिएन, आफूले कबै ढाँटिएन,
अगाडि, माथि चम्चे पुग्दा, आफूले सलाम ठोक्नुपर्या छ।
३) मुक्तक
दुर्गुणहरू पन्छाईपन्छाई, सदभावका बाटा चलियोस्,
हिरण्यकश्यपु र होलिका छन्, प्रह्लाद भएर छलियोस्।
सत्यको विजय हुने नै छ, लक्ष्यले शिखर छुने नै छ,
उत्सव हो जिन्दगी दुःख फाली, खुशीको रंग दलियोस्।
४) मुक्तक
जीवन भनेकै संघर्ष हो, समस्याहरू यत्रतत्र छन्,
धमिलो पानीमा माछा मार्न, कतिपयका सत्र छन्।
बुझी नसक्नु चाल यहाँ, देखि नसक्नु हाल यहाँ,
कति जीवन बचाउँदा, कतिकति अलपत्र छन्।
५) मुक्तक
सत्ता, शक्ति र सम्पत्तिको, मातै खतरा हुँदो रैछ,
नशा चढेपछि तिनको, जातै खतरा हुँदो रैछ।
मदिरालाई पाखा सार्ने, कुरा नमिले विघ्न पार्ने,
स्वार्थ आफ्ना पूरा नभए, घातै खतरा हुँदो रैछ।
६) मुक्तक
त्यतिका यात्रु निले पनि, उत्तिकै बलि माग्छ अझै,
घटना हुँदा थैया कठै, उत्तिकै करुणा जाग्छ अझै।
कतिको काल बनिसक्यो, कतिको गाल बनिसक्यो,
सिद्धबाबा सडक खण्ड, एम्बुस जस्तै लाग्छ अझै।
७) मुक्तक
तिमीलाई नसम्झिने रात छैन भन्थ्यौ, हर सपनीमा आउने भएछु,
उजाड लाग्दा ती दिनहरूमा पनि, हराभरा वसन्त ल्याउने भएछु।
कहाँबाट कसरी चट्ट्याङ पर्याे, या कसैले नचाहिंदो कान भर्याे,
तिम्रै नजरमा कसरी अचेल, पर्नै नसक्ने गरी बिझाउने भएछु।
८) मुक्तक
सिइएका छन् कतिका मुख, सत्य बोली त बोलिनै छ,
नचिताएका ’सत्यवादी’ पनि, गजबसित पोलिनै छ।
सुन्दैमा यो छाती चर्किन्छ, लहरो तान्दा पहरो थर्किन्छ,
तर्साउने छन् काण्डहरू, कति फाइल त खोलिनै छ।
९) मुक्तक
जाति र लिंगमा छुट्टिंदैन, न सम्पत्तिको रास हो प्रेम,
टाढा र नजिक भए पनि, नवीकरणीय खास हो प्रेम।
जस्तो अर्थमा लिए पनि, परिभाषा जस्तो दिए पनि,
आफ्नै मनले सँगालेको, अनुभवको मिठास हो प्रेम।
१०) मुक्तक
पुरुषकै निम्ति महिलाका, सारा जीवन थोतिएका छन्,
निर्दोष हुँदा हुँदै पनि, बदनामीले पोतिएका छन्।
पुरुषप्रधान भएर हो, या नारी सक्षम नभएर पो,
कुनै न कुनै बाहनामा, महिला अझै जोतिएका छन्।
-गोम विक्रम
प्रकाशित: १५ माघ २०८० ०५:४८ सोमबार