१२ असार २०८१ बुधबार
image/svg+xml
कला

सामाजिक रूपान्तरण र जल संरक्षणका लागि अनन्त ब्राह्मण्डीय महायज्ञ-२०८०

धार्मिक कार्यक्रमका माध्यमबाट सामाजिक रूपान्तरण गर्ने र जलको संरक्षण गर्ने उदेश्यसहित ‘अनन्त ब्राह्मण्डीय महायज्ञ-२०८० को आयोजना गरिने भएको छ।

सर्वसिद्धिधाम, पन्चकोट, बागलुङमा आगामी २०८० फागुन ९-२३ गतेसम्म आयोजना गरिने यस महायज्ञमा दस लाख बढी भक्तजनको उपस्थिति हुने अनुमान गरिएको छ।  

श्रीकृष्णागण्डकी, शालग्राम र समग्र मुक्ति क्षेत्रको महिमालाई लोकोत्त गर्ने, गोवंशको संरक्षण गर्ने र गर्न प्रेरणा प्रदान गर्ने, पञ्चकोटमा जलसम्पदा संरक्षणको प्रतीकस्वरूप निर्माणाधीन विश्वशान्ति गण्डकी कलशको निर्माणलाई पूर्णता दिने, नैतिक, शिष्ट, समुन्नत र सच्चरित्रवान् समाजको पुनर्जागरण गर्ने र यज्ञमा शेष रहेको रकम सर्वसिद्धिधाम पञ्चकोटको सर्वाङ्गीण विकासमा प्रयोग गर्ने यस महायज्ञको उद्देश्य रहेको छ।

२०८० माघ १३ गते शनिबार आनन्द भवन पशुपति तिलगंगा काठमाडौमा जल संरक्षण महाअभियानअन्तर्गत आनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८० हुने जानकारी एवं सत्सग कार्यक्रम सम्पन्न भएकाे छ। जल र प्रकृति संरक्षणका लागि सचेतना फैलाउने उद्देश्यले महायज्ञको आयोजना गरिने भएको छ।

मुक्तिनाथ पीठाधीश मुक्तिनाथ बाबा कमलनयनाचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा महायज्ञसँगै अन्य विविध क्षेत्रबारे विचारविमर्श समेत हुने जानकारी गराइएकाे थियो। कार्यक्रममा बोल्दै वरिष्ठ चिकित्सक डा. भोला रिजालले कालीगण्डकीको जल प्रदूषणबारे चिन्ता व्यक्त गरेका थिए। शालिग्राम चोरी पैठारी र जल प्रदूषणबारे अब पनि चासो नदिए ठूलो क्षति बेहोर्नुपर्ने उनको भनाइ थियो।

त्यस्तै कार्यक्रममा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले आध्यामिक ज्ञानसँगै प्राकृतिक संरक्षणको काम निकै प्रभावकारी हुने विश्वास व्यक्त गरिएको थियो।

पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले कालीगण्डकी जस्तो पवित्र अन्य देश कतै नभएको भन्दै त्यसलाई जोगाउन लागि नपरे भोलि नाश हुने बताए।

कार्यक्रममा पूर्व मुख्य सचिव मुकुन्द शर्मा पौडेल, क्याप्टेन रामेश्वर थापा लगायतले आआफ्नो मन्तव्य राखेका थिए।

रंगकर्मी एवं आख्यानकार किशोर पहाडीले धेरै पहिला त्यहाँ पुगेर नदीबाटै शालिग्राम ल्याएर घरमा पुज्ने गरिएको बताए।

उनले भने, ‘धेरै पहिला त्यहाँ पुगेर नदीबाटै शालिग्राम ल्याएर घरमा पुज्ने गरिएको छ। अहिलेमाथिसम्म पनि शालिग्राम पाइँदैन भन्ने सुनेको छु। गण्डकी दोहन भएको छ, कवि आर के अदिप्त गिरि यो अभियानमा छन्। मलगायत हामी साहित्यकार पनि यो अभियानमासँगै रहेका छाैं।’

मुक्तिनाथ पीठाधीश मुक्तिनाथ बाबाले पशुपतिनाथ, मुक्तिनाथ र राष्ट्रको महिमासहित विश्व शान्ति कामनाका लागि यो महायज्ञ गर्न लागेको बताएका थिए।

उपस्थित सबैलाई बाबाबाट रुद्राक्षको माला लगाइदिएर आशीर्वाद प्रदान गरिएको थियो। कार्यक्रम संचालन र सहजीकरण कवि संचारकर्मी ठाकुर बेल्बासेबाट भएको थियो।

महायज्ञमा शुभारम्भ दीप प्रज्वलन गरेर सम्माननीय राष्ट्रपतिबाट हुनेछ। पहिलो दिन नै जल ऊर्जा विशेषज्ञ कृष्ण आचार्यको संयोजनमा ‘जल, ऊर्जा, विकास तथा वातावरण सम्मेलन’, दोस्रो दिन फागुन १० गते पूर्व मन्त्री देवेन्द्र पौडेलको संयोजनमा ‘राष्ट्रिय राजनीतिक एवं कर्मचारीतन्त्र सम्मेलन’ र फागुन ११ गते महाप्रसाद शर्माको संयोजनमा ‘राष्ट्रिय शिक्षा प्रणालीको कार्यान्वयनसम्बन्धी सम्मेलन’ गरिने भएकाे छ।

त्यस्तै फागुन १२ गते जीतबहादुर शेरचनको संयोजनमा ‘गण्डकी प्रदेश विकासको अवधारणासम्बन्धी सम्मेलन’, फागुन १३ गते उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मा. दिपेन्द्रबहादुर थापाको संयोजनमा ‘प्रादेशिक राजनीति र सुशासन सम्नेलन’ र फागुन १४ गते पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठको संयोजनमा ‘राष्ट्रिय सुरक्षा प्रणाली र न्यायिक पद्धतिको कार्यान्वयन सम्मेलन’ हुने भएकाे छ।

त्यस्तै फागुन १५ गते प्रधानमन्त्री तथा मन्त्री परिषदका सचिव एकनारायण अर्यालको संयोजनमा ‘आत्मनिर्भरतामुखी राष्ट्रिय कृषि सम्मेलन’, फागुन १६ गते खेलकुद परिषदका सदस्य–सचिव डा. चिन्तामणि गौतमको संयोजनमा ‘योग तथा खेलकुद प्रवर्द्धन सम्मेलन’ हुने भएकाे छ।

त्यस्तै फागुन १७ गते स्वामीज्यूको संयोजनमा ‘पूर्वीय चिकित्सा पद्धति र जनस्वास्थ्य विकास सम्मेलन’, फागुन १८ गते नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाको संयोजनमा ‘राष्ट्रिय अर्थतन्त्रको विकास तथा वित्तीय संस्थाहरुको योगदानसम्बन्धी सम्मेलन र फागुन १९ गते सिर्जना केसीको संयोजनमा ‘समावेशीताको सिद्धान्त र महिलाको क्षमता विकास विशेषक सम्मेलन’ को आयोजना हुनेछ।

यसैगरी माघ २० गते साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको संयोजनमा ‘भाषा, साहित्य र संस्कृति संरक्षण सम्मेलन’, फागुन २१ गते सागर थापाको संयोजनमा ‘समाजसेवा र समाजसेवीको प्रभावकारितासम्बन्धी सम्मेलन’, फागुन २२ गते कृष्णमान प्रधानको संयोजनमा ‘प्राकृतिक स्रोत संरक्षण सम्मेलन’ र फागुन २३ गते रमेश उप्रेतीको संयोजनमा ‘वैदिक सनातन तथा बौद्ध धर्म र धार्मिकस्थलको संरक्षण सम्मेलन’ को आयोजना हुनेछ। यसैगरी महायज्ञको प्रचारको लागि विभिन्न कार्यक्रमहरुको आयोजना हुनेछ।

प्रकाशित: १४ माघ २०८० ०६:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App