२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

रामरंगमा निमग्न अयोध्या !

मंगल भवन अमंगल हारी, द्रवहु सुदशरथ अजिर बिहारी...

राम आएंगे तो अंगना सजाउंगी, दीप जलाके दिवाली मै मनाउंगी...।

भारतको उत्तर प्रदेशस्थित अयोध्या अहिले यी र यस्तै गीतहरूले गुञ्जयमान छ। अयोध्याका गल्ली–गल्लीमा हिँड्ने सबैको मुखमा रामका यस्तै गीत झुन्डिएका छन्। अयोध्यामा आज राम मन्दिरको प्राण प्रतिष्ठा हुँदैछ। नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको मुख्य ‘यजमान’ प्रधानमन्त्री नरेन्द्र मोदी छन्।

भारत र नेपालले मात्र होइन, यो कार्यक्रमलाई विश्वले नै नियालिरहेको छ। यो कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालबाहेक नेपालबाट आउनेहरूको सूचीमा राजनीतिक दल वा नेताहरूको नाम छैन। यस कार्यक्रममा धार्मिक क्षेत्रका व्यक्तित्वहरूलाई विशेष महत्वका साथ निम्त्याइएको छ। नेपालका विभिन्न धार्मिक स्थलहरूका पुजारीहरू, महन्तहरूलाई कार्यक्रममा निम्त्याइएको छ।

जनकपुरधामस्थित जानकी मन्दिरका महन्त रामतपेश्वर दास, जानकी मन्दिरकै उत्तराधिकारी महन्त रामरोशन दास, विराटनगर पाञ्चालीस्थित लक्ष्मीनारायण मन्दिरका पीठाधीश स्वामी अच्युत प्रपन्नाचार्य, झापाको सतासी धामका आचार्य नन्दकिशोर भारद्वाज, देवघाटका तीन मुख्य महन्त, वराह क्षेत्रस्थित चतरा धामबाट सिद्धबाबा भनिने कृष्ण गिरी, पशुपति क्षेत्र विकास कोषका मूल भट्टलाई कार्यक्रममा निम्त्याइएको छ।

यीबाहेक पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव, पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली, पूर्वआइजिपी अच्युतकृष्ण खरेल र विश्व हिन्दु महासंघकी उपाध्यक्ष ज्योत्सना साउद अयोध्या आइपुगिसकेका छन्।

प्राण प्रतिष्ठा कार्यक्रममा सहभागी हुन राष्ट्रिय स्वयंसेवक संघका प्रमुख मोहन भागवत, योगगुरु रामदेव, बागेश्वरधामका प्रमुख धीरेन्दकृष्ण शास्त्री, अभिनेता अनुपम खेर, अभिनेत्री कंगना रनौत, गायक÷संगीतकार शंकर महादेवन, अभिनेता परेस रावललगायत आमन्त्रित अयोध्या आइपुगिसकेका छन्। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आइतबार नै अयोध्या आइपुगेका छन्।

आधुनिक अयोध्या

अयोध्यामा १४ सय ५० करोड भारतीय रूपैयाँको लगानीमा अत्याधुनिक महर्षि बाल्मीकि अन्तर्राष्ट्रिय विमानस्थल अयोध्याधाम सञ्चालनमा आएको छ। भगवान् रामको जीवनबाट प्रेरित भएर निर्माणाधीन राम मन्दिरकै नागर शैलीमा विमानस्थल बनाइएको हो। यस अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन गत डिसेम्बर ३० मा प्रधानमन्त्री मोदीले गरेका थिए। सो विमानस्थल दुई वर्षको अवधिमा ८ हजार वर्गमिटर क्षेत्रफलमा बनेको हो। विमानस्थलको डिजाइन वास्तुविद् विपुल वार्षणेयले गरेका हुन्।

विमानस्थलले हरेक वर्ष १० लाख यात्रुलाई सेवा दिने सरकारी दाबी छ। साथै फ्लोरिङमा पनि पृथ्वी, आकाश, वायु, जल र अग्निका पाँच तŒवबाट प्रेरित भएर रङको प्रयोग गरिएको छ।

अयोध्याको आध्यात्मिक विकासमा अयोध्याधाम जक्सन रेल्वे स्टेसन पनि मुख्य रहेको छ। २४० करोड भारतीय रूपैयाँभन्दा बढीको लागतमा यो रेल्वे स्टेसन बनाइएको हो। तीन तले सुविधासम्पन्न आधुनिक रेलवे स्टेसन भवनमा लिफ्ट, एस्केलेटर, फुड प्लाजा, पूजाका लागि पसल, क्लोक कोठा, बाल हेरचाह कोठा, प्रतीक्षालय हललगायत छन्।

अयोध्यामा प्रधानमन्त्री मोदीले सुपरफास्ट यात्रुवाहक रेल अमृत भारत एक्सप्रेसको पनि डिसेम्बर ३० मा उद्घाटन गरेका छन्। अमृत भारत रेल ‘पुस पुल’ ट्रेन हो। यस रेलमा यात्रुहरूका लागि सुन्दर र आकर्षक डिजाइन गरिएका सिटहरू, राम्रो लगेज ¥याक, उपयुक्त मोबाइल होल्डरसहितको मोबाइल चार्जिङ प्वाइन्ट, एलइडी बत्ती, सिसिटिभी सार्वजनिक सूचना प्रणालीलगायत सुविधाहरू छन्। अयोध्यामा सञ्चालन हुने रेल दरभंगा–अयोध्या–आनन्द विहार टर्मिनल अमृत भारत एक्सप्रेस हो। यो रेल १३० किलोमिटर प्रतिघन्टाको गतिमा चल्छ।

चर्चामा रामललाका मूर्तिकार

अयोध्यामा निर्माणाधीन राम मन्दिरमा प्राण प्रतिष्ठा हुन लागेको रामलला (रामको बाल स्वरूप) को मूर्तिका मूर्तिकारको चर्चा व्यापक छ। कृष्णशिलाबाट रामललाको मूर्ति कुँद्ने कर्नाटकका मूर्तिकार अरूण योगीराज हुन्। अरूण योगीराज मैसुरका बासिन्दा हुन्। अहिले उनले बनाएको भगवान् रामको मूर्ति राम मन्दिरको गर्भगृहमा स्थापना गरिएको छ। यो मूर्ति बनाउँदा उनले सात्विक आहार मात्र लिएका थिए।

मूर्ति बनाउने क्रममा उनका आँखामा ढुंगाको धारिलो टुक्रा उछिटिएर पसेको थियो। यसपछि उनको शल्यक्रिया भयो। उनलाई केही दिनसम्म एन्टिबायोटिक र पेनकिलरको प्रयोग गर्नुप¥यो। तर भगवान् रामको भव्य मूर्ति बनाउनबाट उनी रोकिएनन्। अरूण योगीराजले पहिले नै भनेका थिए, ‘भगवान् रामको बाल स्वरूपको मूर्ति दिव्य हुनुपर्छ, किनभने मानिसहरूले यसमा भगवान् देखेर दर्शन गर्नेछन्।’

प्रकाशित: ८ माघ २०८० ०१:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App