१) मुक्तक
मै हुँ भन्नेहरूको पनि हुँदैन दिन सधैं बलियो,
बल, बुद्धि र धन त कंस र रावणको पनि थियो।
जति नै फुर्ती गरे पनि एक दिन मेटिन्छ अस्तित्व,
तेल रहुन्जेल मात्र न हो यो तेजिलो बल्ने दियो!
२) मुक्तक
त्यो उम्लेको दम्भ त्यो अहङ्कार केका लागि,
प्रज्ञाबिनाको त्यो दिव्य अनुहार केका लागि?
आफ्नै धरातल बिर्सेपछि मेटिन्छ अस्तित्व पनि,
टेक्ने आधार भाँचिएपछि यो संसार केका लागि?
३) मुक्तक
यहाँ मान्छेले बाँच्नकै लागि अनेक प्रपञ्च गर्छन्,
जतिसुकै फुर्ती गरे पनि आखिर एक दिन त मर्छन्।
हावा,पानी र माटोको भर रहुन्जेल न हो जिन्दगी,
हाँगाले साथ छोडेपछि शिशिरको पातझैं झर्छन्।
४) मुक्तक
हेर्नुस् उचाइमा पुगेपछि लडिन्छ होस गर्नुस्,
आफैंले टेकेको धरातल बिर्सिन्छ होस गर्नुस्।
बालुवामा घर बनाएर धेरै नसोच्नुस् महोदय,
सुनामी आउँदा छिनभरमा मेटिन्छ होस गर्नुस्!
५) मुक्तक
यहाँ चिप्लो बोलेरै जित्छन् चाटुकारहरू,
नबोलेर नै ओझेलमा पर्छन् लाचारहरू।
पद, पैसा र शक्ति सधैं झुटकै वकालत गर्छ,
सहनै पर्छ अचानोले खुकुरीका मारहरू।
६) मुक्तक
गोलार्द्धको एक छेउमा रात अर्को छेउमा घाम हुन्छ,
कसैको मनमा अल्लाह यशू कसैको प्रिय राम हुन्छ।
हरेकको आफ्नै हिंड्ने बाटो र अलग विचार हुन्छन्,
कसैलाई मन्दिर, मस्जिद कसैलाई घर नै धाम हुन्छ।
७) मुक्तक
यो मनलाई तड्पाईतड्पाई सताउने पनि आफ्नै हुन्,
भित्र दुखाएर बाहिर मलम लगाउने पनि आफ्नै हुन्।
जो नजिकै हुन्छन् तिनै ईर्ष्यामा जल्छन् जल्न दिनुस्,
यो देहलाई घाटसम्म लगेर जलाउने पनि आफ्नै हुन्।
८) मुक्तक
गुमनाम भएर बस्नेको पनि एउटा पहिचान हुन्छ,
हरेक मान्छेभित्र आत्मगौरव र स्वाभिमान हुन्छ।
नजरअन्दाज नगर्नुस् महाशय! तकदिरको खेल हो,
मिल्काएको पत्थर पनि कुनै दिन भगवान् हुन्छ!
९) मुक्तक
घर पनि अँध्यारो देखिन्छ, एउटा नारी नहुँदा,
बज्दैनन् चुराका झङ्कार छोरीबुहारी नहुँदा।
रित्तोरित्तो उजाड लाग्छ, आफ्नै आँगन पनि,
बेली-चमेली मगमगाउने सुन्दर फूलबारी नहुँदा।
१०) मुक्तक
नशा र धमनीमा दौडिरहने त केवल रगत हो,
जीवन भन्नु आखिर एक मुठी श्वास फगत हो।
मृत्यु शाश्वत सत्य छ क्षणभङ्गुर हो जिन्दगी,
जिउँदो साक्षी त केवल एक अटल जगत् हो!
प्रकाशित: ५ माघ २०८० ०४:०७ शुक्रबार