३ मंसिर २०८१ सोमबार
image/svg+xml
कला

अनुप र वर्षाको ‘जय शम्भु’

फिल्मका प्रमुख कलाकार अनुपविक्रम शाही, वर्षा सिवाकोटी र प्रशान्त ताम्राकार । तस्बिर सौजन्यः कुशल घतानी राई

काठमाडौं–निर्माता तथा निर्देशक अशोक शर्माले निर्देशन गरिरहेको फिल्म ‘जय भोले’को झापामा धमाधम छायांकन भइरहँदा उस्तै लाग्ने नाममा ‘जय शम्भु’को घोषणा गरिएको छ । आइतबार राजधानीमा पत्रकारमाझ नाम र कलाकार, प्राविधिक सार्वजनिक गरिएको फिल्म सोमबारबाट फ्लोरमा जाँदैछ।

तामाङ फिल्ममा अभिनयसँगै निर्देशनको अनुभव लिइसकेका रुपेश तामाङले निर्देशन गर्ने फिल्ममा  अनुपविक्रम शाही, वर्षा सिवाकोटी र प्रशान्त ताम्राकार मुख्य भूमिकामा देखिनेछन् । अभिनेता अनुपले फिल्मको कथावस्तु र आफ्नो भूमिका दमदार लागेका कारण काम गर्न लागेको बताए । प्रशान्तले कथा र भूमिका मन परेका कारण फिल्म साइन गरेको बताउँदा वर्षाले फिल्म राम्रो बन्नेमा विश्वस्त रहेको बताइन् । फिल्ममा अनुप र वर्षा जोडीको रुपमा देखिनेछन् भने प्रशान्त फेरि एक पटक भिलेनको रुपमा देखिनेछन् ।
दिनेश शाही प्रस्तुतकर्ता र राजुकमार नगरकोटी तथा चक्र पाख्रिन कार्यकारी निर्माता रहेको फिल्ममा रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना, प्रदिप दाहाल, कृष्ण सिवाकोटीलगायतका कलाकारको पनि अभिनय रहनेछ।

अरविन्द शाक्यको लगानी रहेको फिल्म काठमाडौं र अन्नपूर्ण आधारशिविरमा खिचिनेछ । फिल्ममा हरि घले लामाको छायांकन, प्रदीप कँडेल र अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व र प्रविण ढकालको सम्पादन रहनेछ । फिल्म २०७५ को साउन १ गते प्रदर्शनमा आउनेछ।


 

प्रकाशित: १४ फाल्गुन २०७४ ०३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App