सम्झौता
भयानक कत्ति पनि छैन-ऐठन
व्यर्थै उसको अनुहार कल्पिएर
त्रस्त हुन्छौं हामी।
बस!
सम्झौता हो भयानक
सम्झनाभन्दा एकदम भयानक
अब हामी
यहींनेर एकचोटि सँगै मुस्कुराऔं
अब हामी
यहीं देउरालीबाट उल्लासपूर्वक छुटौं!
कुन्नि, किन चटक्कै बिर्सिदिनुपर्ने मैले
नबिर्सूं भन्दा भन्दै बिर्सिएर
पलपल सम्झिनुपर्ने मैले
आँसुको मैनबत्ती जल्नुअघिको उज्यालोमा
मेरो आँखाबाट परपर...
टाढिंदै गइरहेको उदास क्षितिजलाई
किन मुटुमा राखेर यसरी दुखाउनुपर्ने मैले
तिम्रो सामिप्यमा
अन्तिम चोटि स्वास फेर्ने भित्री लालसा
किन हो फेरि जगाउनुपर्ने मैले
पछ्याउँदै जाउँ त त्यो क्षितिजलाई
एउटा पाइला सर्दा
अर्को यहीं अल्झिए जस्तो
आफूभित्रको उकुसमुकुसले
आफैलाई थिचिरहे जस्तो
यद्यपि
सम्झौताभन्दा
दर्दनाक कत्ति पनि छैन बिछोड।
यो रक्ताम्य मुटुलाई
यै ढुंगे धारामा पखालूँ या त्यसै छाडूँ जस्तो
काँडाले कोतर्दा पनि यो निस्सार छातीमा
आफू जीवित छु या यसै मरिसकें जस्तो
अस्पष्ट यो भग्नस्थितिमा
एक्लै कहाँ हो कहाँ छु जस्तो
तर
ठिक यतिबेला मैले यी सब कुरा बिर्सनुपर्छ
र हाम्रो सम्झौतालाई कसै गरी सम्झनुपर्छ
जीवनको रिक्ततालाई
प्रेमले कस्सिलो अँगालेर
मस्तिष्कले गरेका भुलहरूलाई
हृदयको मसीले सच्याउनुपर्छ।
प्रकाशित: १ माघ २०८० ०६:०९ सोमबार