२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

नियतिको निसाना

लघुकथा

१) नियतिको निसाना

“आहा! क्या चीज छ यार!” रूपसीको रूप देख्दा जो कोही लोग्ने मान्छेलाई लोभ लाग्थ्यो र धेरै लोग्नेमान्छेको मुखबाट यस्तै चर्चा हुन्थ्यो। लुगा सिलाउन बुटिकमा जाँदा उनको शरीरको बनौट देखेर स्वास्नी मान्छे छक्क पर्थे। उनको स्तनको आकार र बनौट देखेर ईर्ष्या गर्थे। उनी पनि आफ्नो सुन्दरताप्रति गर्व गर्थिन्। गर्व मात्र होइन, घमण्ड पनि। खानपान र व्यायाममा उत्तिकै ध्यान दिन्थिन्। निकै मेहनतले चालीस बर्से उमेरमा पनि ‘फिगर मेन्टेन’ गरेर पच्चीस वर्ष जस्तै देखिन्थिन्।

उनलाई आज अलि अस्वस्थ अनुभव भयो र अस्पताल पुगिन्। जाँच परीक्षणपछि रिपोर्ट हेर्दै डाक्टरले भने,“तपाईलाई स्तन क्यान्सर भएको छ। अप्रेशन गरेर दुवै स्तन फाल्नुपर्छ।”

२) शंका

“धेरै पटक भर्खरको केटासँग भिडियो च्याटमा रमाईरमाई कुरा गरेकी मेरै आँखाले देखेको हुँ।” विदेशबाट फर्केकै दिन बुबाले मलाई भन्नुभएको थियो।

ऊ स्वर्गकी परी जस्तै थिई। मैले निकै गाह्रो गरी उसलाई पाएको थिएँ।

“परी छ यार! परी तर उसको लोग्ने विदेशबाट आजै फर्केछ, बर्बादै भयो नि” पल्लाघरको अविवाहित लठ्ठुले फोनमा कसैलाई भन्दै गरेको पनि सुनेकाे थिएँ।

सोचें, राम्रा मान्छेको व्यहोरा हुँदैन भन्थे, हो रहेछ। दिउँसो त्यहीसँग हाँसेर बोल्दै थिई। ‘साढे एघारमा है’ फोनमा त्यो जगल्टेले भन्दै गरेको सुनें। मनमा सुनामी हुँइकियो।

‘आफूसँग हुँदा त यस्तो, नहुँदा केके मात्र गरी धोकेवाजले। सानी छोरी छ। त्यसैले छोड्न पनि सक्दिन।’

मनमा कुरा खेलाउँदै म चाँडै निदाएको जस्तो गरें। साढे एघारमा बिस्तारी बाहिर निस्की र चारतला तल झरी। यसो झ्यालबाट हेरें। दुई घर बिचको होचो पर्खाल थियो। जुनको थोरै उज्यालोमा पर्खालका दुईतर्फ दुई मानव आकृति देखिए।

“छिटो गरौं न, बुढाले थाहा पाउँछन् फेरि” बुढीको आवाज सुनें।

पर्खाल नजिकै पल्लो घरका फूलका बोटहरू पनि हल्लिए। म रिसले चुर भएँ र खुकुरी पछाडि च्यापेर ढोकाको कुनामा उभिएँ। करिब बिस मिनेटपछि ऊ उसैगरी सुस्तरी फर्की।

“जन्मदिनको अनन्त शुभकामना प्यारा! आरोग्य र दीर्घायू प्राप्ति होस्” गुलाफको फूल दिंदै भनी। थुक्क म आज मेरो जन्मदिन पो रहेछ।

-इन्दिरा चापागाईं

प्रकाशित: २७ पुस २०८० ०८:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App