८ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

हाम्री अनुराधा, जो बाबरमार्फत विश्व साहित्यमा चिनिइन्

नेपालका एक लेखकले नेपालमै बसेर बेलायती प्रकाशन गृहका लागि लेखेको एउटा पुस्तकले ११ भाषामा अनुदित हुने अवसर पाएको छ। मूल अंग्रेजी भाषामा लेखिएको ‘द स्टोरी अफ बाबर: प्रिन्स, एम्परर, सेज’लाई बेलायतको स्काला आट्र्स एन्ड हेरिटेजले प्रकाशन गरेको हो।

अनुराधा शर्माले आफ्नो यो पहिलो अन्तर्राष्ट्रिय सहकार्य भएको र पुस्तक निस्कनासाथ विभिन्न भाषामा अनुदित हुने अवसर पाएको नागरिक दैनिकलाई बताइन्। यो पुस्तकलाई बेलायतको गार्डियन पत्रिकाले सन् २०२२ को ‘नोटेबल बुक्स’को सूचीमा समेत राखेको थियो।

भारतको मुगल शासक बाबरको समयमाथि एक वर्ष लामो अध्ययन–अनुसन्धान गरी उनले लेखेको बालपुस्तक ‘द स्टोरी अफ बाबर’ सन् २०२१ मा प्रकाशनमा आएको थियो। प्रकाशनको एक वर्षमै पुस्तकको रुसी, उज्बेकिस्तानी, फ्रान्सेली, जर्मनेली, चिनियाँलगायत ११ भाषामा अनुदित भइसकेको छ भने ब्रेललिपिमा समेत अनुदित भएको लेखक अनुराधाले बताइन्।

नेपाली बालसाहित्यमा एक दशकदेखि सक्रिय अनुराधाका नेपाली तथा अंग्रेजी भाषामा २० पुस्तक प्रकाशित छन्।

यसअघि कुनै नेपाली लेखकले नपाएको अवसर उनले कसरी पाइन् त ? उनी भन्छिन्, ‘मलाई केही थाहा छैन। यहाँ मेरा बालपुस्तक त प्रकाशन भइरहेकै थिए, कसैले मेरो नाम सिफारिस गरेको हुनसक्छ।’

अचानक प्रकाशकले आफूलाई बाबरमाथि पुस्तक लेख्न गरेको प्रस्ताव कोमार्फत, कसरी आयो भन्नेबारे अनविज्ञ रहेको उनले बताइन्।

यो पुस्तक उज्बेकिस्तानमा जन्मिएर भारतमा शासन गरेका बाबरका बारेमा हो। उनको जन्म, हुर्काइसँगै भारतमा कसरी शासन गर्न पुगे भन्नेबारेमा पुस्तक केन्द्रित छ। यो पुस्तक लेख्न आफूलाई प्रकाशकले विभिन्न स्रोत उपलब्ध गराएको उनले बताइन्। ‘मैले पनि एक हजार पृष्ठको बाबरनामा अध्ययन गरेपछि त्यसलाई बाल संस्करणका लागि उपयोगी हुने गरी कथा तयार पारें,’  उनले भनिन्।

भाषाको पकड, बालबालिकाको रुचि छान्ने खुबी र प्रस्तुतीकरणले आफूले यो अवसर पाएको हुनसक्ने अनुराधाले बताइन्। बाबरलाई नेपालीमा अनुवाद गरेर प्रकाशित गर्ने तयारीमा उनी छिन्। अनुवाद उनी स्वयंले गरेकी छन्। बाल्यकालमा आफ्ना पिता दामोदर शर्माले ‘टिनटिन’, ‘एस्ट्रिक्स’जस्ता कमिक्स पढेर सुनाउने बानीले पुस्तकप्रति रुचि बसेको उनी बताउँछिन्। उनले स्कुले पाठभन्दा पनि बाहिरिया पुस्तकमा लत लागेपछि घरमा आमा माया ठकुरीले लेख्न घचघच्याएको स्मरण गरिन्।

सन् २००८ मा पारिजात स्मृति केन्द्रले आयोजना गरेको बालकथा लेखन प्रतियोगितामा भाग लिन हौस्याएको र दुईपटक सर्वोत्कृष्ट भएपछि लेखनतर्फ आकर्षित भएको उनले जानकारी दिइन्।

पछि साझा प्रकाशनले सो पुरस्कृत कथालाई सन् २०१२ मा ‘शनिबारको दिन’ शीर्षकमा प्रकाशन गरेपछि उनी लेखनप्रति गम्भीर भएको अनुराधाले बताइन्।

बेलायतमा उच्च शिक्षा अध्ययनपछि नेपालमा लेखनकै क्षेत्रमा पाइला चाल्न आफू प्रेरित भए पनि केही पुस्तकका पाण्डुलिपि अस्वीकृत भएको उनको गुनासो छ।

 ‘नेपालमा विज्ञान–आख्यान कमै लेखिने भएकाले एउटा पाण्डुलिपि तयार पारेकी थिएँ तर कसैले पनि प्रकाशन गर्ने रुचि राख्नुभएन,’ अनुराधा भन्छिन्, ‘पछि जब यो प्रकाशित भयो, सबैले रुचाउनु मात्र भएन, अहिले पनि बेस्टसेलर बालसाहित्यमध्येमा पर्छ।’

नेपालमा बालसाहित्यमाथि निकै कम काम भएको उनी बताउँछिन्। महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेको ‘राजकुमार प्रभाकर’ पहिलो नेपाली बालसाहित्य हो। त्यसयता १४० वर्षको दौरानमा जम्मा चार हजार बालसाहित्य लेखिए पनि बालबालिकाको रुचियुक्त चित्रपुस्तक ४० प्रतिशत मात्र निस्किएको छ।

नेपाली बालसाहित्यमाथि पिएचडीसमेत गर्दै गरेकी उनी शून्य उमेरदेखि १८ वर्ष उमेर समूहका बालबालिका र किशोरकिशोरीका लागि नेपाली साहित्यले धेरै काम गर्न बाँकी रहेको बताउँछिन्।

नेपालको जनसंख्या–अनुपात हेर्ने हो भने १८ वर्ष उमेरसमूहका बालबालिकाको प्रतिशत ४० भए पनि सो अनुपातमा बालसाहित्य उत्पादन हुन नसकेको उनी औंल्याउँछिन्।

सन्तान गर्भमै रहँदा पनि सरस र सरल तरिकाले गर्भिणी महिलाले आफ्नो गर्भे सन्तानलाई पढाउन सकिने महाभारतको अर्जुन–सुभद्राको प्रसंग उल्लेख गर्दै अनुराधा भन्छिन्, ‘अभिमन्यु जन्मनुअघि नै कथा सुन्थे। हामीले त्यो कला बिर्सिएका छौं। अझ हुर्कंदै गरेका बालबालिकाको रुचि र स्वादका सिर्जना हामीकहाँ ज्यादै न्यून छन्। त्योभन्दा पनि अभिभावक स्वयंले बालसाहित्यको महत्त्व बुझेका छैनौं। त्यसैले यस क्षेत्रमा काम गर्न धेरै बाँकी छ।’

लेखकले आफूलाई बालसाहित्यसँग प्रासंगिक बनाउनुपर्ने, बालबालिकालाई प्रत्यक्ष प्रभाव पार्ने नयाँ नयाँ पक्षको जानकार हुनुपर्ने उनी बताउँछिन्।

अनुराधाले जे अवसर पाइन्, त्यो अन्य नेपाली लेखकले पाउन सम्भव छ त? त्यसका बाधा के हुन सक्छन् भन्ने प्रश्नमा अनुराधाको नजर दुई बाधामा छन्। पहिलो, भाषाको पकड र दोस्रो, लेखनशिल्प।

यी दुवैको अभावमा नेपाली लेखकले अवसर पाउन गाह्रो छ। विदेशी भाषाको ज्ञान नहुँदा राम्रो भाषा भएका लेखकले राम्रो साहित्य पढ्न सकेका छैनन्। राम्रो साहित्य नपढी राम्रो साहित्य सिर्जना हुन सकिरहेको छैन। र, राम्रो साहित्य सिर्जना हुन नसक्दा अवसर पनि सीमित छ।

बालसाहित्य अन्य साहित्यभन्दा गम्भीर भएको अनुराधा बताउँछिन्। उनी भन्छिन्, ‘बालबालिकाले पढ्ने पुस्तक उनीहरूको जीवनकै पहिलो पुस्तक हुन सक्छ। म पहिलो लेखक हुन सक्छु। त्यसैले लेखनमा ज्यादै सचेत, ज्यादै इमानदार हुन जरुरी छ। म त्यही सोचका साथ हरेक किताब लेखिरहेकी हुन्छु।’

बेलायतको युक्लान विश्वविद्यालयमा इन्टरकल्चर बिजनेस कम्युनिकेसन्समा स्नातकोत्तर अनुराधाले ‘बाबर’ पुस्तकको सफलतापछि हालै एउटा अन्तर्राष्ट्रिय पुस्तकमा सहलेखन सकेको र थप केही प्रोजेक्टमा काम भइरहेको बताए पनि थप खुलाउन भने चाहिनन्।

प्रकाशित: १९ पुस २०८० ०१:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App