काठमाडौं– चिसो मौसमले विस्तारै बिट मार्न लागिरहँदा राजधानीमा आयोजित एक फेसन सोमा दुई दर्जन मोडलले र्याम्प नाप्दै दर्शक तताएका छन् । नयाँ डिजाइनका फेसनलाई प्रोत्साहन गर्न दरबारमार्गको आइ क्लबले आयोजना गरेको ‘फेसन मेनिया’को १८ औं श्रृंखलामा मोडलहरूले विभिन्न पहिरन प्रस्तुत गरे ।
काजल क्रियसनका डिजाइनर काजल शर्माले आउँदो गर्मीलाई लक्षित गरी बनाएका इभिनिङ गाउनको प्रस्तुतिसँगै सुरु भएको फेसन सोमा जिपर सारी र जिपर चोलोको सिक्वेन्स पनि प्रस्तुत गरिए । विभिन्न डिजाइनका लेहंगा पनि सोको प्रमुख आकर्षण बन्यो । जाडो लक्षित ओभरकोट, विन्टर गाउन, गर्मीलाई लक्षित गरिएको वान पिस जस्ता पहिरन पनि फेशन सोमा प्रस्तुत गरिए ।
बेटर ग्यालेक्सी इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको कोर्यक्रमको कोरियोग्राफी धिरज तण्डुकारले गरेका थिए । र्याम्पमा एञ्जिला भेटवाल, पुनम भण्डारी, प्रसिमा बुढाथोकी, विशाखा पाण्डे, सन्ध्या कोइराला, प्रेमा भुजेल, सिम्रन शाक्य, वर्षा श्रेष्ठ, मिरा लामा, शोफी कार्की, पूजा गिरी, ममता बस्नेत, प्रवीणा थापा, श्रद्धा सुवेदी, रोशनी ऐर, रुक्सना श्रेष्ठ, सुष्मा भट्टराईलगायतका मोडलले ‘बिरालो चाल’ चालेका थिए ।
प्रकाशित: २२ माघ २०७४ ०४:११ सोमबार