५ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

ताप्लेजुङमा चासोक तङ्नाम पर्वमा फुटबलसहित धाननाच र पालाम प्रतियोगिता हुने

चासोक तङ्नाम पर्वका अवसरमा सदरमुकाम फुङलिङमा प्रथम कञ्चनजंघा सेसेलुङ गोल्ड कप हुने भएको छ। खेल पुस ४ देखि ११ सम्म भानुजन माध्यमिक विद्यालयको प्रांगणमा हुने खेल संयोजक चन्द्र थेवेले बताए।

थेवेका अनुसार गोल्डकपमा आठ समूहको सहभागिता रहने छ। प्रतियोगिता विजेताले तीन लाख दुई हजार ८० र उपविजेताले एक लाख ५१ हजार ८० रुपैयाँ प्राप्त गर्ने चासोक तङ्नाम सञ्चालक समितिले जनाएको छ।

त्यस्तै लिम्बु समुदायमा आधारित मौलिक नृत्य जस्तै– च्याब्रुङ नाच, धान नाच, छेलो, धनुषकाँड, हाक्पारे, ख्याली प्रतियोगिता हुने भएका छन्। च्याब्रुङ नाचतर्फ प्रथम हुनेले ५० हजार, द्वितीयले ४० हजार र तृतीयले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्। त्यस्तै धान नाचतर्फ प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतीयलाई पाँच हजार रुपैयाँ प्रदान गरिने समितिले जनाएको छ।

पुस ४ मा लिटल बुद्ध इङ्लिस बोर्डिङ स्कुलमा अन्तरमाविस्तरीय वक्तृत्वकला सञ्चालन गरिने छ। वक्तृत्वकला चासोक तङ्नाम विषयमा केन्द्रित हुने छ। स्थानीय तथा राष्ट्रिय कलाकारका साथमा बृहत् सांगीतिक तथा सांस्कृतिक कार्यक्रमसमेत हुने छ।

कञ्चनजंघा फुङलिङको आयोजनामा सञ्चालन हुने प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रममा चासोक तङ्नाम सञ्चालक समिति र ङावोरक सङजुम्भो फुङलेङले समन्वय गर्ने छन्। प्रतियोगिता सम्पन्न गर्न ५६ लाख रुपैयाँ खर्च हुने आयोजकले जानकारी दिएको छ।

के हो चासोक तङ्नाम? 

लिम्बु समुदायले महान् पर्वका रूपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम। यसलाई उधौली पूजा पनि भन्ने गरिन्छ। उधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ। चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ। लिम्बु भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ।

किराँत समुदायका अनुसार मानिस, जीवजन्तु तथा चराचुरुंगी लेकतिरबाट बेंसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्र्याएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ।

प्रकाशित: २९ मंसिर २०८० ०७:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App