११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

बराबर

लघुकथा

आज उनलाई भव्य समारोहको बीच महिला शसक्तीकरणबारे भाषण दिनु थियो। उनकी श्रीमती पनि समाजसेवी थिइन्। श्रीमान् श्रीमती के कसो कसरी सामाजिक काम गर्ने भनेर सरसल्लाह पनि गर्दथे। त्यो दिन बिहान श्रीमानले श्रीमतीसँग ‘मैले के कस्तो विषयपट्टि बढी जोड दिएर बोल्नुपर्ला बुढी भनेर सोधेर राम्ररी तयार भएका थिए। त्यसै दिन बिहान भात खाने बेलामा तरकारी मीठो भएन भनेर रिसाउँदै ‘तिमी सबै कुरा काम गर्नेको भरमा छोडिदिन्छौ। लोग्नेलाई के कस्तो मीठो लाग्छ त्यत्ति हेर्न,पकाउन सक्दैनौ ’ भनेर रिसाएका थिए।

घरको मालिक उनी  नै थिए। उनलाई नसोधीकन श्रीमतीले केही निर्णय लिएको मन पर्दैन थियो।

‘तिमी त खुब जान्नेसुन्ने भएछौ। घरव्यवहारमा मलाई कत्ति पनि वास्ता गर्न पर्दैन जस्तो गर्छौ’ भनेर डाइलग हुत्याइहाल्थे।

छोराछोरी विदेशतिर लागिसकेका थिए। आधुनिक बंगला, चिल्लो गाडी, नोकरचाकर, काखमा खेलाउन महँगो वि¥र्डको कुकुर उनीहरूको परिवार थियो।

दिउँसो दुवै जनाको एउटै विषय तर बेग्लै ठाउँमा कार्यक्रममा सहभागी हुनुपर्ने थियो। उनले जोडदारको साथ भने, “महिलाहरू हामी पुरुषसरह छौं भन्छन्। त्यसो भन्नु तिनीहरूको मुर्खता हो। मेरो विचारमा महिलाहरू पुरुषहरू समान मात्र नभै उनीहरूभन्दा धेरै बुद्धिमान छन्। मेरै घरमा घरकी मालिक्नी मेरी श्रीमती छन्। म उनलाई नसोधीकन केही पनि घरायसी निर्णय गर्दिनँ।’

उनको यो भनाइप्रति ठूलो गडगडाहतसहितको ताली बज्यो।

कार्यक्रम सकियो। उनी सुगरका बिरामी थिए। उनी घर पुग्दा श्रीमती पुगेकी थिइनन्। नोकरले बनाएको खाना देख्दै उनको रीसको आगो पराकाष्ठमा पुग्यो।

नोकरलाई ‘तेरो मालिक्नीलाई लोग्ने मरोस् कि बाँचोस् मतलव छैन। उसलाई मै हुँ भनेर सान देखाउन पाए पुग्छ। ऊ आएपछि यो खाना उसैलाई खानु भन है भनेर ढोका बजार्दै सुत्ने कोठा भित्र पसे।

प्रकाशित: २८ मंसिर २०८० ०४:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App