२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

नाटक ‘एक चिहान’ मंसिर १८ देखि मञ्चन हुने

हृदयचन्द्र सिंह प्रधानद्वारा रचित ‘एक चिहान’ उपन्यासमा आधारित नाटक मंसिर १८ गतेदेखि सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा मञ्चन गरिने भएको छ।

पुस १२ गतेसम्म मञ्चन हुने उक्त नाटक कक्षा १२ का विद्यार्थीलाई लक्ष्य गरेर मञ्चन गर्न लागिएको जनाएको छ। तर सो अवधिमा सार्वजनिक बिदाका दिनमा भने नाटक मञ्चन नहुने बताइएको छ।

नाटकका लागि बजार व्यवस्थापनको जिम्मेवारी सम्हालेका अनुपम शर्माका अनुसार हरेक दिन बिहान ८ बजे एउटा र मध्याह्न १२ अर्को गरी दुई पटक नाटक मन्चन हुनेछ।

नाटक करिब १ घन्टा ४५ मिनेटको रहेको उनले बताए।नाटकका लागि शुल्क प्रतिविद्यार्थी निजी विद्यालमा पढ्ने विद्यार्थीको  हकमा ३५० रुपैया  र सामुदायिक विद्यालयमा  पढ्ने विद्यार्थीको हकमा प्रतिविद्यार्थी २५० रुपैया कायम गरिएको शर्माले जानकारी दिए।   

‘एक चिहान’ उपन्यास कक्षा १२ को अनिवार्य नेपाली विषयको पाठ्यक्रममा समावेश गरिएको छ।सोही उपन्यासलाई नाट्य रूपान्तरण गरेर नाचघरले प्रदर्शन गर्दै आएको छ।विद्यार्थीले उक्त नाटक हरेर उपन्यासको समग्र विषयवस्तुलाई मनोरञ्जनात्मक ढंगले बुझ्न सक्ने शर्माको दाबी छ।

नाटकको परिकल्पनाकार तथा निर्देशक वीरेन्द्र हमाल हुन् भने उपन्यासलाई नाट्य रूपान्तरण रमेश बिजीले गरेका हुन् । उपन्यासलाई नाटकका रूपमा मञ्चन गर्न कलाकारहरूले निकै मिहिनेत गरेको बजार व्यवस्थापक शर्माले बताए । नाचघरसँग आबद्ध राष्ट्रिय कलाकारहरूले नाटकका लागि उपन्यासमा प्रयुक्त विभिन्न पात्रको भूमिका निभाएका छन् । शर्माका अनुसार नाटकमा डाक्टर गोदत्त प्रसादको भूमिकामा रामभजन कामत, सुब्बा सुरमानको भूमिकामा आकाश क्याप्छाकी र रामबहादुरको भूमिकामा राजेन्द्र गड्तौला देखिनेछन्।  

त्यसैगरी नानीथकुं बनेर सुशीला थापा र शिवनारान बनेर मिलन नेपाली मञ्चमा आउनेछन्।मदन थापाले अष्टनारानको, विपीन घिमिरेले पुननारानको र रोहित सुवेदीले हर्षनारानको चरित्र निभाउनेछन्।रामखेलावन रावतका रूपमा ओमप्रकाश बानिया, लतमायाका रूपमा गीता थापा र हाकुमायाका रूपमा माया थापाले भूमिका निर्वाह गर्नेछन् । पुतलीमा सुस्मिता तामाङ देखिनेछिन्।यस नाटकमा अन्य थुप्रै कलाकारको भूमिका देख्न सकिन्छ।

प्रकाशित: १५ मंसिर २०८० १३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App