१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

उर्दू गजलका बादशाह

मंगलबार शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुरस्कार ग्रहण गर्दै अब्दुल लतिफ ।

काठमाडौं– कात्तिक महिनाको एक साँझ जब भेरी साहित्य प्रतिष्ठानका अध्यक्ष हरिहर तिमिल्सेनाले अब्दुल लतिफ शौकलाई नेपाल प्रज्ञा प्रतिष्ठानले पुरस्कृत गर्ने निर्णय गरेको खबर सुनाए, अब्दुललाई पहिले त विश्वास नै लागेन । तर, अन्य सा्रेतबाट समेत खबरको पुष्टि भएपछि उनलाई विश्वास गर्न करै लाग्यो । नेपालगन्जमा बसेर आफ्नै सुरले उर्दू गजलमा योगदान गरिरहेको उनले यसअघि साहित्यकार प्रेम प्रकाश मल्ल ‘मधुकर’को नाममा स्थापित पुरस्कारबाहेक अन्य पुरस्कार पाएका थिएनन् । त्यसैले उनलाई साहित्यको सर्वोच्च संस्था नेपाल प्रज्ञाप्रतिष्ठानले पुरस्कृत गरेको खबर झ्वाट्टै विश्वास गरिहाल्न गाह्रो भएको थियो ।  
 

तर, मंगलबार राष्ट्रपति विद्या भण्डारीको हातबाट पुरस्कृत भएपछि बल्ल उनलाई पुरस्कारको गहिराईको अनभूत भयोे । नेपाली साहित्यका दिग्गजसँगै पुरस्कृत हुँदा उनलाई आफ्नो साहित्य साधनाले सार्थकता पाएको महसुस भएको छ । बुधबार नागरिकसँग कुराकानी गरिरहँदा उनले त्यो खुशी लुकाएनन् । ‘ राज्यबाट पुरस्कृत भएको खबर आउँदा निश्चय नै खुशी लागेको थियो । तर, हिजो जुन माहोलमा जसरी पुरस्कार पाएँ, त्यो सन्तुष्टि कुनै शब्दमा वर्णन हुन सक्दैन,’ अब्दुलले भने ।

उर्दू गजल लेखनमा विशेष दख्खल राख्ने अब्दुलको पुस्तैनी पेसा सुन व्यापार हो ।  तर, उनले भने सुन व्यापारसँगै गजल लेखनलाई पनि निरन्तरता दिइरहेका छन् । यही निरन्तरताका लागि नेपालगन्जमा ठ्याम्मै बिक्रि नहुने  उर्दू गजलका चार वटा किताब प्रकाशित गरिसकेका छन् ।

अब्दुलले मातृभाषाको साहित्यमा गहकिलो योगदान गरेवापत मातृभाषा साहित्य तर्फको प्रज्ञा पुरस्कार हात पारेका हुन् । प्रत्येक वर्ष प्रदान गरिने पुरस्कारको राशि एक लाख रहेको छ । सामान्य लेखपढ गर्न जान्ने अब्दुल लतिफ उर्दू साहित्यका भने बादशाह हुन् । उर्दू साहित्यको संरक्षणमा भगीरथ झैं लागेका उनले यसका लागि गूल्जार ए अदब नामको संस्था खोलेर नेपालगन्ज र वरपर उर्दू साहित्यलाई जोगाइ राखेका छन् । २०३३ सालदेखि अहिलेसम्म संस्थाको अनवरत अध्यक्ष रहेका उनको यही निरन्तरताले पनि उर्दू साहित्यमा उनको योगदानको तस्बिर पेस गर्छ । तर, अब्दुलले चाहेर भने पद ओगटेर बसेका हैनन् । उनीपछिको पुस्ता उर्दू साहित्यमा सक्रिय नभएकै कारण उनले संस्था हस्तान्तरण गर्न पाएका छैनन् ।

उर्दू गजल लेखनमा विशेष दख्खल राख्ने अब्दुलको पुस्तैनी पेसा भने सुन व्यापार हो । उनीअघिको तीन पुस्ता नेपालगन्जमा सुनको कारोबार गर्दै आएको छ । तर, उनले भने सुन व्यापारसँगै गजल लेखनलाई पनि निरन्तरता दिइरहेका छन् । यही निरन्तरताका लागि नेपालगन्जमा ठ्याम्मै बिक्रि नहुने  उर्दू गजलका चार वटा किताब प्रकाशित गरिसकेका छन् ।
सन् १९९५ मा नेपालगन्जमा जन्मिएका अब्दुल आफूलाई उर्दू साहित्यमा ल्याउने श्रेय वासिफु कादरीलाई दिन्छन् । हल्का फुल्का शायरी लेख्ने अब्दुललाई गजल लेखनका पैंतरा कादरीले नै सिकाएका थिए । अब्दुलले कहिलै पनि गजल लेखनलाई यसरी अगाडि लैजान्छु भन्ने सोचेका थिएनन् तर ख्याल ख्यालमा सुरु भएको शौखले उनलाई शायरको पंक्तिमा खडा गरिदिएपछि चाहेर पनि पछि फर्कन सकेनन् ।

‘सुरु सुरुमा शायरी लेख्दा, मेरो उद्देश्य साथीहरुलाई सघाउनु थियो । केही मुसायरमा भाग लिएर रहर पूरा गर्नु थियो तर समयले थाहै नपाई शायरको भीडमा उभ्याइदियो । यो ठाउँसँग पनि मेरो मन बस्यो,’उनले भने, ‘ मुसायरा हुँदै गएपछि सबैले इज्जत गर्न थाले । अन्चलाधिश, राजा रानीको जन्मदिन, प्रजातन्त्र दिवस आदि दिनमा गजल भन्दाभन्दै गजलकार भएँ ।’
नेपालमा उर्दू भाषीको संख्या एकदमै कम छ । उर्दूको उत्पत्तिस्थल भारत हो । भारतका सारा चिज नेपालमा लोकप्रिय छन् । उर्दू गजल मन पराउने जमात पनि ठूलै छ तर अब्दुललाई यति हुँदाहुँदै पनि अचम्म लाग्छ , नेपालमा उर्दू साहित्य किन फस्टाएको छैन ? अब्दुल आफैंलाई पनि  यसको अनुमान छ । टेलिभिजन र मोबाइलको बढ्दो प्रयोगले अहिलेको पुस्तालाई साहित्यबाट टाढा लगिरहेछ । नेपालको उर्दू साहित्यलाई पनि ।  

‘आजको पुस्ता विज्ञान प्रविधिको चपेटामा छ । जहाँसम्म हाम्रो समुदायको कुरा छ यहाँ पनि नयाँ पुस्ता मोबाइल र टेलिभिजनले बिग्रिएको छ’ अब्दुललाई लाग्छ । अवधि भाषीको बाहुल्यता भएका कारण पनि नेपालगन्जमा उर्दू साहित्य फस्टाउन सकेको छैन । तर, अब्दुल यसको विकास हुनेमा ढुक्क छन् । उनलाई विश्वास छ जसरी नेपालमा आफ्नो संस्कृति र जातीय पहिचानको लहर चलेको छ यो लहर एक दिन मुसलमान समुदायमा पनि उर्दू साहित्यको संरक्षणका लागि चल्नेछ ।
‘आज  नाम चाहियो भने भोलि काम पनि गर्लान्,’ उनले आशावादी हुँदै बताए ।
अब्दुलले आफ्नो लेखनीमा सामाजिक विषयलाई प्राथमिकता दिँदै आएका छन् । तर, उनका गजलमा राष्ट्रप्रेम पनि उत्तिकै चोटिलो भेटिन्छ ।
बिगाडो मत मेरे भाइ मेरे नेपालकी धर्ती
जनम दाता है सीताकी मेरे नेपालकी धर्ती
इसी पर बुद्ध ने गीत अहिंसा की सुनाए थे
बहुत प्यारी थी गौतमको मेरे नेपाल की धर्ती
जरा चलकर देखो महाकाली से मेची तक
लगेगी तुमको जन्नत सी मेरे नेपालकी धर्ती ।
अब्दुल ४० वर्षदेखि नेपालगञ्जलाई कर्मथलो बनाइ उर्दू गजल लेखिरहेका छन् । उनको सक्रियताले नेपालगञ्जमा उर्दू साहित्य त फस्टाएको छ नै अब्दुल लतिफको उपस्थितिले बेला बेलामा जातीय दंगा भड्किने नेपालगञ्जमा सामाजिक सद्भाव कायम राख्न  लागि पनि ठूलो भूमिका खेल्ने गरेको छ । किनकि, अब्दुलको चाहना छ, ‘नेपाल दुनियाँका लागि ‘मिसाल’ बनोस् ।


    

 

प्रकाशित: २१ पुस २०७४ ०१:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App