१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

जनताको आङमाथि सरकारी टाङ!

व्यंग्य

हो त नि! केही हुनु र भइरहनु पनि एउटा आतङ्क नै हो। भनौं नयाँ उपलब्धि। त्यसैले भर्खरै लाहाछाप लागेको शासन–व्यवस्थाअनुसार गठन भएका सुन्दर गाउँ पालिकामाथि थपिएका अति सुन्दर महानगरपालिकाहरूले भरिपूर्ण हाम्रो यो गणतन्त्रमा टाङआतङ्कको पनि शुभारम्भ भएको छ।

एउटा सपुतले केही गरिदेखाउँछु भन्यो भने सरकारी लाउके जमातले टाङ पसारेर वाङ खुवाइदिने कर्तुतमा कुनै कमी छैन। अर्थात् यो देशमा शान्ति सुव्यवस्था र अमनचैन कायम गर्न बनेको जनताको सरकार छ! र नै बेला–कुबेला हुने र बारम्बार भइरहने नानाथरी टाङआतङ्कको पनि उत्तिकै दरकार ठान्छ। नत्र बिचरो सरकार बाँचोस् पनि कसरी?

कामकाजबिनाको हल्लुँड भएर हल्लन तिवारी बन्दै खाइपाई आएको घाँसपानीमाथि बेरोजगार भत्तासमेत थपिमाग्न अघि सर्‍यो भने? या त काम खोज्दै खाडीमुलुक र कोरियातिर उक्लिएर घरघाटबाट फुक्लियो भने? खाडीसम्म त लौ ठिकै पनि होला, तर कोरियातर्फ लाग्दा उसैको छिमेकीले भर्खर परीक्षण गरेको हाइड्रोजन बमका घातक विकिरणहरूले भेटे भने? विकिरणले गाँजेको सरकार मधौरु ज्यान लिएर फर्किंदा बबुरा नेपाली जनताले झनै थेगी नसक्नु अर्को टाङआतङ्क खडा हुन के बेर? टाढा किन जाऊँ? 

अलि वर्ष अघिसम्म स्थानीयदेखि केन्द्रीय तहसम्मको चुनाव आतङ्कले देशैलाई हाराबारा खेलायो। भागै नलिने भनेर कुनै भाइहरू गर्धन फुलाएर पाखा लागे। चुनाव गराउने निहुपिहुमा आयोग नियोगदेखि गयोगसम्मका खाली खर्क खुला भए। हरियो घाँस चर्न धोतीपाटा फेरका लाउेकेहरूले अनेकौं पुस्ताका लागि सरसम्पत्ति जोडेर राजनीतिक दलाली र पाउलागीको बेजो उठाए।

अर्धाङ्गिनीदेखि मर्दाङ्गीसम्मले नाक, कान, घाँटी, नाइटो, नारी र औंलासमेत झरिझुट्ट सजाउँदै तीजको तिलहरीसमेत थपेर मेखै मारिदिए। दसैं-तिहारको कुरा त झन् गरीसाध्यै भएन, झ्याँकु नै झारिदिए।

फेरि मुखमुख आइरहेका अरू अरू चुनाव-उपचुनाव नाउँका सदाबर्ते मेलाहरूले ठेलमठेल र पेलमपेल गराउँदै उनीहरूलाई कहाँ कताको ताजमहल ठड्याउने बहादुरीमा पुर्‍याउने हो? देखन्ते जनता रनभुल्लै छन्।

त्यति मात्रै किन? यो देशमा पानीबत्तीको हाहाकार हुनुमा नै सरकारको असरदार योगदान रहेको छ। ठुला आयोजनामा सरकारी टाङ तेर्सिएपछि हन्डाचिन्डा मुख बाउँदै बाटो छेक्छन्।

लेकबेंसीमा बस्ने भूकम्प पीडित बालबालिका र बुढाबुढीको बेलैमा थातबास र हेरचाह नहुनुमा पनि यसैको असर छ। विदेशीका दानअनुदानमा समेत सरकारी टाङ तेर्सिएर बिखपात छ। यहाँको सोच यस्तै छ र नै टाङ अड्याउनुमा नै सरकारको दम मानिन्छ।

भूकम्प परकम्प र बाढीपहिरो पीडित क्षेत्रको खुसीयाली र शान्तिसुरक्षा बहालीमा पनि टाङकै अनुपम सक्रियता बरकरार छ। हो त, यो देशमा सरकार छ र नै जनतामा विचित्र आनन्द छ ! विचित्र यस अर्थमा छ कि सरकार स्वयं बहुचित्रको छिरबिरे पार्टीहरूका नौथरी रङमा रङ्गिएको छ र नै यो टाटेपाटे चितुवा भएर जनतामा सुखसमृद्धि, अमनचैनका बाघपन्जा मार्न कसिएको छ।

टाटेपाटे पनि यस अर्थमा छ कि यसभित्र संलग्न देश धुल्याउने माकुरा अरिङ्गाल अनि धमिरासमेत एकज्यान भएर एकै काम्लोभित्र अटाएका छन्। सरकार भएर नै देशभित्र कर्मचारी नाउँका ट्रेड युनियनका हरूवाचरुवाहरू पाखुरा निमोठेर घुसघास केन्द्रहरू कब्जा गर्न अगाडि पुगेका छन्। कोही विदेशी नियोग आयोगमा छाल गन्न छरिएका छन्।

 कोही घाम तापेरै ढन्डेसो सेकाएरै कर्मठ अनुशासित कर्मचारी हुनुको पुरस्कारले सुशोभित बनिभ्याएका छन्। त्यही बहुरङ्गी सरकारको छत्रछाया पाएर नै देशभित्र अमनचैनको खाताखात छ र नै गणतन्त्र भाँणतन्त्रको सर्वोत्कृष्ट उदाहरण बनेको छ। यो तन्त्र पनि यति जनप्रिय भइदिएको छ कि मान्छेको मनमस्तिष्कमा ऐजेरु बनेर दिनरात नभनी अहोरात्र मौलाएको छ।

पुँजीवादी अर्थशास्त्रीहरू राज्यलाई आवश्यक अभिशाप भन्थे, नभइ पनि नहुने, भए पनि सुखभन्दा दुःख बढी दिने। हाल आएर गणतन्त्रे नेपालमा भने राज्य आफै आवश्यकभन्दा अति आवश्यक अभिशाप हो या आशीर्वादचाहिँ बनेको हो। सोझासिधा जनतालाई दोधार दोमन यस्तैउस्तै लाग्न थालेको छ।

एउटा कुरा केचाहिँ मज्जा भइदियो भने यहाँ त राज्यको काम सरकार बनाउने र सरकारको काम परपरि भाषण ठोक्ने र जनताका दुःखकष्ट, असुविधा, अनिकाल, डुबान र अन्धकारमा रमाएर हाँसो ठट्टा गर्दै रत्यौली मनाउनु रहेको छ।

डेउडा, रोधी र हुड्के नाचले अरू ज्यान थपेको छ। त्यसमा पनि दूरदराजमा रहेका बाढीपहिरो अनि भूकम्पपीडित अनाथहरूको नाउँमा राजनीति दाउ खेलेर तिनलाई महँगो भाउ खोजेर भजाउँदै आफू र आसेपासेको धोक्रो भर्ने काममा यो देशको सरकारले अझ बढी सुनाम कमाइरहेको छ।

सरकार छ र नै त्यो बनाउने, भत्काउने, पुच्छर निमोठ्ने र पगाहा लगाउने दलहरू छन्। दल भएर नै दलालहरू छन्। देशको अस्मितामाथि दाउ थापेर जुवा हान्ने खालेहरू छन्। अपच्दो सरकारी सुविधा हसुरेर मझेरी फोहोर गर्नेहरू छन्। पालो आउला र बिगौती खाउँला अनि बिगुल बजाउँला भनी कोतपर्व पर्खने भण्डारखालेहरू छन्। सरकार छ र नै नानाथरी नामनामेसीका विविध दिक्पालहरू अटाएका छन्।

देशको ढुकुटी रित्याउन भूपू वर्तमान सबैखाले सन्डमुसन्डका लागि सदाबर्त भन्डारा लागेको छ, अनि हसुर्ने प्रयोजनमा बलिया-बाङ्गाले मात्रै डाडुपन्यु आफैंतिर घर्काउने र भारेभुरे बाथ भन्दै भोकानाङ्गा, वृद्धबालकजतिलाई ढिम्किन नदिने जोग परेको छ।

 बोर्डरमा तस्कर पालेर नाकाबन्दीको मौका छोप्दै र नौथरी बहाना बनाउँदै एकलौटी हसुर्नेको खाँडो जागेको छ। त्यसमा सहयोग पुर्‍याउन क्षेत्रपाल, द्वारपाल, उदरपाल नाउँका गणहरू पनि टाट्नो चाटेर उग्राउँदै छन्। आङमा सफा खोल हालेर भाङको तालमा देश बनाउन भन्दै पराइ देशमा पाउलागी पर्ने पनि छन्।

कुनै दिन संघीयतालाई घाँडो भनेर होहल्ला गर्ने र अहिले त्यसैको कुन्युमाथि दाइँ हाल्नेहरू छन्। छन् मात्र होइन, त्यही संघीयताको फाँडो खाएर मझेरीमा नै फोहोरको रैफाँडो थुपार्ने खालेहरू झनै जमजमाएका छन्। भूकम्प, बाढीजस्ता दैवीप्रकोपको नाउँमा लाग्ने विदेशी सदावर्ते भतेरका लागि हाँपझाँप गर्न मात्र यो धर्तीमा अवतरित भएका जिओ-एनजीओहरू लाइन लागेका छन्।

आआफ्नो औकातअनुसार केही घोक्रो फुलाएर सहनाई फुक्दै छन्। कोही कर्नाल डुक्रँदै छन्। कोही ट्याम्का ठटाउँदै छन्। कोही मादल त कोही झ्याम्टा बजाउँदै छन्। सबै बलिया बहादुरहरू आआफ्नै राग अलापेर देशविकासको मालसिरी गाउनमा मग्न छन्।

हो, यो देशमा सरकार छ र नै विकास निर्माणका आयोजना छरपस्ट छन्। कोही सडक, बिजुली त कोही नहरबाँध र खानेपानी आयोजना छन्। कोही मोटर गुडाउने र जहाज उडाउने आयोजना पनि छन्। कोही सिँचाइ गरेर देशमै चाहिँदो अन्न फलाउने पनि छन्।

छन् मात्र होइन, ती सबै सधैं चालु छन्, रहेकै छन् र नै ती कहिल्यै पूरा हुनेतर्फ अघि बढ्दैनन्। तिनै आयोजनाको कात्रोमाथि बसेर यहाँका नायकहरू नायबी चलाउँछन्। अनि जनताकै नाम भजाएर ङारङुर गर्दै सरकार बनाउने, बिगार्ने र टिकाउने खेल हुन्छन्। तिनमा कतै झेल हुन्छ त कतै राष्ट्रिय ढुकुटी पेलमपेल हुन्छ।

कतै कसले पहिलो भाग सुम्ठ्याउने भनेर आपसमै खडाजङ्गी पर्छ र ठेलमठेल हुन्छ। अन्त्यमा मिलिजुली खाने एकसूत्रीय मेल हुन्छ। भाषणको फास्टरोडमाथि गाडी र भाषणकै लिकमाथि सुपरफास्ट रेल चलेर हुइयाँ छोड्दै देशैभरि दौडिएर छुट्टी गर्छ।

हो, देशमा सरकार छ र नै बलियाले भान्सा चलाउने ग्यास पाउँछन्, निर्धाले पुलिस दाइको कुटाइ खान्छन्। हो देशमा सरकार छ र नै अनिकाल छ।

अनिकाल छ र नै खाद्यान्न, तेलमसला, लुगाफाटा आयात गरिन्छ। आयात हुन्छ र नै सरकार आफैं उपभोग्य वस्तुको तस्करी र कालोबजारी चलाएर जनतामाथि जाल हान्छ।

अन्नपात, चिनी, इन्धन र अरू चाहिने वस्तुमा उच्चस्तरीय सरकारी अधिकारीहरू खटाएर सरकार आफैं सुकिलो बजारी गर्छ। तेलभण्डार-गृहमा थरीथरी माछा पाल्ने गर्छ। तिनै असला माछामाथि मसला मोलमाल गरेर धनियाँ-प्याजसहितको सोरुवा बनाएर पुसको ठन्डी मनाउँछ।

महँगीको मारमा पिल्सिएका जनताको छाला तरेर सरकार चर्मपरिधान पहिरिन्छ। बेसहारा चेलीबेटीको कपाल उखलेर झिँगा भगाउने चमर डोलाउँछ। आफू तीनपानेको बर्को ओड्छ। तिनै अनाथ जनाताले भोगिआएको इन्धन अभावको क्याम्प–फायरमा सुकुटीसँग तातो सिप दिँदै दोहोरी गीत गाएर नाँच देखाउँछ। तब  पो सरकार!

देशमा राष्ट्रिय भेषभूषासहितको सरकार छ र नै तराई दुनका जनतालाई भोकतिर्खा वा गर्मीसर्दीको अनुभव हुँदैन। बाढी, आँधीबेहरीको अलि अलि प्रकोप भइहाले पनि सिडियो लगाएर चाउचाउ, बिस्कुट त कहिले ठुटामुढा बाँडिदिन्छ।

भोको पेटमा भरपूर चारो हाल्ने गफ दिन्छ तर काममा जिरो। उल्टै भाषणको बिचबिचमा धारे हात लम्काउँदै अलच्छिनको घारो मात्र तेर्स्याउँछ। उधारो आस्वासन बाँडेर अभाव र बेरोजगारी पीडितलाई झिँगा मार्ने व्यवसायको नाउँमा समेत एकमुस्ट ठगी गरेर पारङ्गत बनाउँछ।

तास खेल्ने काम लगाइदिन्छ। लामो हाते कोष खडा गरेर छाउराभुरालाई बगली भरेर बरबाद गर्छ। उसको जादुगर पाराको भाषण सुन्दा च्यातिएका प्लास्टिके छाना एकाएक रंगीचंगी बज्रबुर्जामा बदलिएको भान पार्छ।

असी बर्से लेकाली बुढाबुढीको कठ्याङ्ग्रिएको ज्यानलाई बादल फाटेको दिन न्यानो घामको पाहार उपहार दिएर सरकार मक्ख पर्छ। यो देशभित्रै सरकार छ र नै सुरक्षा छ। सुरक्षाका लागि देशले प्रहरी गुप्तचर अनि सेना पालेको छ र नै सेना दरबन्दी थपेकोथप्यै गर्छ। सेना परेड खेल्छ, तालिम गर्छ।

विदेश जान्छ र डलर कमाइ ल्याउँछ। सेना छ र नै बन्दुक पड्काएर परेवा भगाउँछ, भँगेरा तर्साउँछ। बोर्डर पारिबाट आएका विदेशी अपराधीले पुलिस चौकीमा पेट्रोल बम हान्दा थपडी मारेर दुःख मनाउँछ।

सीमापारिबाट सशस्त्र बल आएर आफ्ना नागरिकलाई मार्दा र दशगजा कब्जा गर्दासमेत गहिरो घुराइमा मस्त रहन्छ। अनि कसैले घचघच्यायो भने मज्जैले भनिदिन्छ-सोझासिधा नागरिकका अगाडि गुड्डी हाँक्ने, फुइँ झार्ने, ठेकेदारी गर्ने, दरबन्दी थप्ने र विदेश जाने या बसीबसी खाने मात्रै हाम्रो काम हो।

सरकार छ र नै देशभित्र थुप्रैथरी आयोग छन्। यी बन्नकै लागि बनेका छैनन्, बिनाकाम राज्यको ढुकुटी चपाएर कोही पङ्खा चलाएर त कोही हिटर तापेर उङ्दै छन्। कोही पहारमा उग्राइ बसेका पनि छन्।

कोही राम्रो गर्छु भनेर कस्सिँदा सत्तोसराप खाएर हाड मकाउने पनि छन्। तिनले गर्नुपर्ने काम–कर्तव्यसम्बन्धी नीतिनियम कानुन निर्माणका प्रतिनिधि भनाउँदालाई सरोकार छैन। सरकारलाई चासो र फुर्सद पनि छैन। मानौं आयोग भन्नु विकासे घाँसको मैदान हो, जहाँ कामकाज नभएका, नपाएका नेताका फेर समाउने साँढे दादाहरू स्वछन्द चर्ने गर्छन्, अबाध विचारण गर्छन्।

देशमा सरकार छ र नै विदेशमा नियोगहरू छन्। नियोगमा नियुक्त उच्च अधिकारीहरू देशमा भूकम्प, बाढीपहिरो अनि छिमेकबाट नाकाबन्दी हुँदा खुच्युँ भन्दै सुतेर दिन कटाउन आनन्द मान्छन्। रातमा अरूले दिएको हानपार्टी र भोजभतेरको मात साट्छन्।

 गरिब देशको कमजोर मुद्रा साटेर महँगो डलर पचाउँछन् तर देशमा जस्ता सङ्कट पर्दा पनि तातोछारो केही नगरी अनलाइन र फेसबुकका समाचार हेरेर रमाउँछन्, युट्युबमा मनोरञ्जन पघारेर निदाउँछन्, बस !

प्रकाशित: ९ मंसिर २०८० ०४:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App