२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

अनाजमा कला पोख्ने पर्व: सकिमना पुन्हि

संस्कृति

नेपाली संस्कृति ऋतु आहारका लागि प्रख्यात छ। ऋतुअनुसार पाइने हरेक खाद्यवस्तुको आफ्नै महत्त्व हुन्छ। चाहे त्यो सागसब्जी होस् या फलफूल। यति मात्र होइन, कन्दमूल वर्गमा पर्ने पिँडालुको पनि आफ्नै पर्व छ। विशेष गरेर नेवार समुदायले मनाउने यो पर्वलाई ‘सकिमना पुन्हि’ भनिन्छ।

ऋतुपरक सांस्कृतिक पर्व मनाउने चलनले के सिद्ध गर्छ भने मानिस प्रकृतिभन्दा अलग प्राणी होइन। मानव जाति प्रकृतिको सुन्दर सिर्जना हो। प्रकृति विपरीत मानव जीवन सहज हुँदैन। नदीको विपरीत धारतर्फ उक्लने प्रयास असफल हुन्छ।

प्रकृतिले मानव लगायत हरेक प्राणीको जीवन रक्षाका लागि खाने, लगाउने, बस्ने, पिउने वस्तु उपलब्ध गराएको छ। त्यसैले प्रकृतिको यो अमूल्य योगदानप्रति आभारी हुँदै हरेक चाडपर्व प्रकृति मैत्री बनाइएको हुनुपर्छ।

हुन पनि मानव पूर्ण रूपमा प्रकृतिमा आश्रित रहेको छ। प्रकृतिबाट प्राप्त प्राणवायुमा श्वास फेरेर जीवनलाई सजीवता प्रदान गर्दै आएको छ। प्रकृतिले नै दिएको जल पिएर जीवनलाई गतिशील बनाएको छ।

यहींको माटोमा फलेको अन्न खाएर मानिस बाँचेको छ। प्रकृतिबिना मानव-अस्तित्व कल्पना नै गर्न सकिँदैन। प्रकृतिको यही महत्त्व बुझेर यस्ता प्रकृतिपरक चाडबाड मान्दै आएको देखिन्छ।

यो चाड कात्तिक पूर्णिमाका दिन मनाउने चलन छ। नेवार समुदायले मान्ने प्रायः सांस्कृतिक चाडहरूको प्रकृतिसँग नजिकको सम्बन्ध रहेको हुन्छ। यस्तै प्रकृतिमैत्री पर्वहरूमध्ये ‘सकिमना’ पनि एक हो। ‘सकिमना’ नेपालभाषाको शब्द हो। यहाँ ‘सकि’ शब्दको अर्थ पिँडालु र ‘मना’को अर्थ उसिनेको भन्ने हुन्छ।

यसरी सकिमनालाई अर्थ्याउँदा ‘उसिनेको पिँडालु’ भन्ने हुन्छ। उसिनेको पिँडालुलगायत अन्य गेडागुडी भुटेर खाने पर्व भएकैले यसलाई सकिमना भनिएको हो।

यस पर्वले कृषि परम्परालाई उच्च महत्त्व दिएको देखिन्छ। ऋतुअनुसार पाइने हरेक खानेकुरा मानवका लागि हितकर हुने सन्देश हाम्रा चाडपर्वले दिन्छन्। मानव समुदायलाई यो पर्वको पनि गहिरो सन्देश रहेको देखिन्छ।

हिउँदमा चिसोले सताउँछ। प्राचीन कालमा मानव जीवन कृषिमा आश्रित थियो। हिउँदमा खेतबारीमा काम गर्ने किसानहरूलाई बढी प्रोटिनको आवश्यकता पर्छ। पिँडालुमा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ। शरीरका लागि आवश्यक प्रोटिन प्राप्त गर्न समाजको विकासक्रममा यस प्रचलनको प्रारम्भ भएको अनुमान लगाउन सकिन्छ।

यति मात्र कहाँ हो र? यसमा क्यालोरीको मात्रा कम हुन्छ भने फाइबरको मात्रा उच्च हुन्छ। यसका अतिरिक्त भिटामिन ए, भिटामिन सी, क्याल्सियम पनि प्रचुर मात्रामा हुने गर्छ। साथै रोगसँग लड्ने एन्टिअक्सिडेट पनि पिँडालुमा हुन्छ।

सायद पिँडालुको यही गुन थाहा पाएर हाम्रा पुर्खाले यस नामको पर्व चलाए। एकातिर पिँडालुका फाइदालाई विज्ञानले नै प्रमाणित गरेको छ भने अर्कातर्फ कात्तिक पूर्णिमाका दिन उसिनेको पिँडालु खाँदा वर्षभरि शरीरलाई पुग्ने बल प्राप्त हुने, तागत मिल्ने धार्मिक विश्वास पनि समाजमा जीवन्त छ।

हुन त यस पर्वमा पिँडालु मात्र खाइँदैन। अन्य गेडागुडी पनि खाने प्रचलन रहेको छ। सकिमना पुन्हिका दिन घरलाई शुद्ध बनाउन लिपपोत गर्ने चलन छ। त्यसपछि हरेक घरमा पिँडालु, सखरखण्ड उसिन्ने चलन छ। त्यस दिन पिँडालुका साथै मकै, गहुँ भुट्ने चलन पनि छ। यसका साथै विभिन्न थरीका गेडागुडी पनि भुटेर खाने चलन छ। आफूले ग्रहण गर्नुभन्दा अगाडि आफ्ना इष्टदेवलाई अर्पण गर्ने अनि साँझमा टोलमा रहेका देवालयहरूमा चढाउनका लागि देउताको भाग छुट्याउने चलन छ।

यस दिन साँझपख आआफ्ना टोलमा रहेका गणेश, शिवलगायतका मन्दिरमा उसिनेको पिँडालु, सखरखण्ड, भुटेको मकै, भट्टमास, गहुँ, केराउ आदि लगेर चढाउने गरिन्छ। यसरी आआफ्ना टोलमा रहेका देवतालाई चढाएपछि आफूले पनि फलाहार गर्ने परम्परा रहेको छ।

भक्तजनले चढाएका पिँडालु, सखरखण्ड, अन्न र गेडागुडीका परिकार मन्दिरअगाडि मन्दिरकै स्वरूपमा सजाएर पूजा आराधना गर्ने, भजन कीर्तन गर्ने प्रचलन रहेको छ।

 यसको समन्वय भने टोलटोलमा रहेका दाफा भजन खल अर्थात् समूहले गर्छ। यस दिन प्रत्येक टोलमा रहेका मूल मन्दिर झिलिमिली बत्ती र फूलमालाले सजाइएका हुन्छन्।

साँझ भक्तजनहरूले ल्याएका पिँडालु, गेडागुडी, फलफूल आदिको प्रयोग गरेर कतै देवालयकै आकृति त कतै देवताका विभिन्न आकृति बनाएर आआफ्ना कला पनि प्रस्तुत गर्ने गर्छन्। सामान्य दृष्टिकोणले हेर्दा सामान्य पर्वजस्तो मात्र देखिने यस पर्वको वैज्ञानिक आधार त छँदै छ। साथै यस पर्वमा कला पक्षको समेत उल्लेखनीय भूमिका रहेको देखिन्छ।

यो अन्न, गेडागुडी अनि फलफूलमा कला पोख्ने पर्व हो। यस दिन एकातिर पूर्णिमाले उज्यालो छरिरहेको हुन्छ भने अर्कातिर कलाले फालेको उज्यालोले रात चहकिलो बन्छ। टोल टोलका बिच कलाको प्रत्यक्ष प्रतियोगिता नभए तापनि अप्रत्यक्ष रूपमा प्रतिस्पर्धा सधैं रहिरहन्छ। यही स्वच्छ प्रतिस्पर्धाबाट कलाको विकासले गति लिने काम गर्छ।

यति मात्र कहाँ हो र? सो दिन नौबाजाको प्रदर्शन हुन्छ। नौबाजाका सबै ताल बजाएर देवालय अगाडि घण्टौंको भजनकीर्तन हुने गर्छ। नौबाजा नभएको ठाउँमा अन्य बाजा बजाएर भजनकीर्तन गर्ने चलन रहेको छ।

भजनकीर्तन सकिएपछि आरती गाउने परम्परा पनि प्रायः स्थानमा देखिन्छ। यस्ता भजनकीर्तनका पनि आफ्नै महत्त्व छन्। भजन सकिएपछि टोलबासीले चढाउन ल्याएका अन्न र गेडागुडीका परिकारलाई प्रसादका रूपमा बाँड्ने गरिन्छ।

विशेष गरेर नेवार बस्ती रहेको ठाउँमा हरिशयनी एकादशीबाट हरेक साँझ आआफ्ना टोलमा रहेको पाटीमा जम्मा भएर साँझपख भजन गाउने चलन छ। स्थानीय भाषामा यस प्रथालाई ढल्चा हालेगु भन्ने गरिन्छ।

यो भजनकीर्तनको क्रम चतुर्मास अवधि भर चल्छ। हरिशयनी एकादशीबाट प्रारम्भ भएको ढल्चा हालेगु रात्रिकालीन भजन पनि सकिमना पुन्हीकै दिन साँझको भजनकीर्तनपश्चात् समापन गर्ने चलन छ।

यस दिन व्रत बस्नेहरू पनि हुन्छन्। दिनभर व्रत बसेका व्रतालुहरू साँझ चन्द्रमा उदाएपछि पूजा सम्पन्न गरेर प्रसादका रूपमा पिँडालु, सखरखण्ड, पुरी, मालपुवा आहार गर्ने प्रचलन रहेको छ। नेपाल संवतअनुसार यस वर्षको पहिलो पूर्णिमा पनि हो।

परम्परादेखि नै नेवार समुदायले आफ्नो खेतबारीमा उब्जनी भएका अन्न, फलफूल, कण्दमूल आदि पहिले भगवान्लाई चढाएर मात्र आफूले ग्रहण गर्ने चलन रहेको छ। यो दिन पनि भगवान्लाई कण्दमूल चढाएर आफूहरूले पनि खाने गर्छन्।

दसैंतिहारपछि आउने यस पर्वको महत्त्व ठुलै छ। एकातिर यसले मानव समाजलाई ऋतुअनुसारको आहार गर्नुपर्छ भन्ने सन्देश दिन खोजेको देखिन्छ भने अर्कातर्फ कला सभ्य समाजको पहिचान भएको सङ्केत गर्छ।

प्रकाशित: ९ मंसिर २०८० ०२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App