४ पुस २०८१ बिहीबार
image/svg+xml
कला

विशिष्ट संस्था

लघुकथा

आफूले संस्थापन गरेको संस्थालाई स्थापित गर्न शैशवले कुनै कसर बाँकी राखेका थिएनन्। संस्थालाई अघि बढाउने क्रममा प्रमिताको संस्थामा पदार्पण भयो। खुबै धाकधक्कु लगाएर, म निकै सक्षम छु भन्ने देखाई संस्थाको ठूलै पद ओगट्न उनी सफल भएकी थिइन्। अब संस्था राम्रो हुन्छ भन्नेमा शैशव ढुक्क र खुशी देखिन्थे। काम गर्दै जाँदा केही सफलता हासिल पनि हुँदै गएको थियो।

एउटा ठूलो कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा बडो उत्साह छाएको देखिन्थ्यो। कार्यक्रममा शैशवले अध्यक्षता ग्रहण गरेका थिए। प्रमुख अतिथि शैशवसँग नजिक व्यक्ति संस्थाका सल्लाहकार रमेश सिंहलाई बनाइएको थियो।

कार्यक्रममा स्वागत भाषण र प्रतिवेदन पेश भएपछि प्रमिताको बोल्ने पालो आयो। उनको बोलाइमा प्रमुख अथितितिर केन्द्रित रहँदै केही व्यङ्गवाण पनि गरिरहेको सुनिन्थ्यो। अर्थहीन, कुतर्कले भरिएको भाषण सकेपछि उनी तत्कालै अर्को कार्यक्रममा जानको निम्ति हल छोड्न अध्यक्षसँग अनुमति मागिन्।

कार्यक्रम समयभरि बसिदिन अध्यक्षले अनेक अनुनयविनय गरे तर प्रमिताले मानिन। दुःखी मनले अध्यक्षले अनुमति दिए।

प्रमिताले हल छोड्दा हातले केही इशारा गरिन्। त्यसपछि हलमा उपस्थित दर्शकहरूमध्ये एक तिहाई  दर्शक उठेर हलबाट बाहिरिए।

ब्यानरमा संस्थाको नाम उल्लेख गरिएको थियो, ‘शिष्ट समाज संस्था।’

-रचना शर्मा प्रतीक्षा

प्रकाशित: ६ मंसिर २०८० ०४:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App