२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सय प्रभावशाली महिलाको सूचीमा परेकी रुक्शना को हुन् ?

तस्बिर: रुक्शना कपालीको सामाजिक सञ्जालबाट।

बेलायती सञ्चारमाध्यम बीबीसीले हरेक वर्ष प्रकाशित गर्ने सय प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्शना कपाली परेकी छन्। बीबीसीले सोमबार सार्वजनिक गरेको सन् २०२३ का लागि संसारभरका एक सय जना प्रभावशाली महिलाको सूचीमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक अभियन्ताका रूपमा सक्रिय अभियानकर्मी कपाली परेकी हुन्।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक अभियानकर्मी कपाली नेवा समुदायकी सदस्य तथा पारलैंगिक मानवअधिकारकर्मी समेत हुन्। आफू हुर्किँदै गर्दा आफ्नो पहिचानबारे यथेष्ट जानकारी नभएकाले उनले किशोरावस्थादेखि तेस्रो लिङ्गीसँग सम्बद्ध विषयमा सामाजिक सञ्जालमा पैरवी गर्दै आएकी छन्।

हाल कानुन विषयमा स्नातक तहमा अध्ययनरत उनी नेपालका एलजीबीटीक्यू प्लस समुदायका मानिसको कानुनी र संवैधानिक अधिकार दिलाउन लागि परेकी छन्। उनी राजनीति र वकालतअन्तर्गत आवास अधिकार अभियानकर्मीको रूपमा बीबीसीको १ सय प्रभावशाली महिलाको सूचीमा परेको हुन्। सो सूचीमा नारीवादी नेत्री ग्लोरिया स्टाइनम, जोर्जिआकी पत्रकार तमार मुसेयरिंजे, अभिवक्ता अमाल क्लूनी, पूर्व सैन्य अधिकृत रिना गोनोइ, सांसद डीएना डेभिसन, मन्त्री सोनिया ग्वाजजरा, शरणार्थी अधिकार अभियानकर्ता सुमिया तोरा र अमेरिकी पूर्व प्रथम महिला तथा लेखक मिसेल ओबामालगायत परेका छन्।

नेवा समुदायमा सीमान्तकृत भनिने ‘जुगि’ जातिकी सदस्य यौनिक तथा लैङ्गिक अल्पसंख्यक अभियन्ताका रूपमा सक्रिय अभियानकर्मी कपाली सो समुदायका मानिसहरू बस्दै आएको घरमा बलपूर्वक निकालिने कार्यविरुद्ध संघर्ष गरिरहेकी छन्। नेपालबाट यसअघि सन् २०१७ मा सो सूचीमा कारागारमा रहेकाहरू आमाबाबुका छोराछोरीलाई शिक्षाको पहुँच प्रदान गर्न सक्रिय समाजसेवी इन्दिरा रानामगर परेकी थिइन्। सन् २०१८ मा सो सूचीमा बादी समुदायका महिलामाथि हुने विभेदमा आवाज उठाउँदै आएकी नेत्री उमादेवी बादी परेकी थिइन्। सन् २०१९ मा नेपाली बोनिता शर्मा र सन् २०२०मा सो सूचीमा बेवारिसे शवहरूको व्यवस्थापन गर्दै आएकी सपना रोक्का मगर परेकी थिइन्।

बीबीसीले यस वर्ष जलवायु परिवर्तनको क्षेत्रमा काम गर्ने अग्रणी व्यक्तिहरू, संस्कृति र शिक्षा, मनोरञ्जन र खेलकुद, राजनीति र वकालत र विज्ञान, स्वास्थ्य र प्रविधिअन्तर्गतबाट प्रभावशाली सय महिला छनोट गरेको हो। यस वर्षको सूचीमा जलवायु परिवर्तनको क्षेत्रका सक्रिय २८ जना महिलाहरू समेत परेका छन्। जलवायु परिवर्तनको क्षेत्रमा काम गर्ने अग्रणी व्यक्तिहरूमा मानसिक स्वास्थ्य अभियानकर्मी जेनिफर उचेन्डु, फोटोग्राफर आरती कुमार राव, हरित उर्जा परामर्शदाता नतालिया इन्द्रिसोभा र हास्यव्यङ्ग्य कलाकार एन ग्राललगायत परेका छन्। संस्कृति र शिक्षा विधामा मोडल तथा इन्फ्लुअन्सर लिसा फेर्ज, कलाकार चिलाकुमारी बर्मन, बौद्ध भिक्षुणी जेत्सुन्मा तेन्जिङ पाल्मो, जलनपीडित अभियानकर्ता जज्नतुल फिर्दीस, सौन्दर्य व्यवसायी हुँदा कत्तान र कवि डारिया सेरेन्कोलगायत परेका छन्।

मनोरञ्जन र खेलकुद विधामा बलिउड अभिनेत्री दिया मिर्जा, हलिउड स्टार अमेरिका फरेरा, ब्लोन डीओर विजेता फुटबलर आइताना बोन्माती, डिजे पारामिदा, क्रिकेटर हरमनप्रीत कौर र बहिरा कलाकार जस्टिना माइल्स परेका छन्। त्यस्तै विज्ञान, स्वास्थ्य र प्रविधि विधामा सडक सुरक्षा प्राध्यापक एस्ट्रिड लिन्डर, वैज्ञानिक जानान डाग्डिभिरेन, मिड्वाइफ नेहा मंकणी, चिकित्सक नाटाली सेला र बालअधिकार पैरवीकर्ता ओलेना रोज्भाडोभ्स्कालगायत परेका छन्।

प्रकाशित: ५ मंसिर २०८० १४:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App