निबन्धकार ज्ञानु अधिकारीको पहिलो निबन्धसङ्ग्रह ‘संवेदनाको समायोग’ (२०८०) पछिल्लो समय प्रकाशित कृति हो। नेपाली निबन्ध विधामा आत्मपरक निबन्धसङ्ग्रहका रूपमा रहेको यस कृतिका निबन्धहरू परम्परित निबन्ध लेखनभन्दा पृथक् छन्।
नेपाली निबन्धको इतिहासमा आत्मपरक निबन्ध कम लेखिँदै आएको आजको सन्दर्भमा यस कृतिले नेपाली आत्मपरक निबन्ध परम्परामा इँटा थप्ने काम गरेको छ।
यस सङ्ग्रहभित्रका निबन्धमा जीवन र जगत्प्रतिको दृष्टिकोण, वैयक्तिक जीवनका अनुभूतिका साथै ऐतिहासिक, सामाजिक, सांस्कृतिक, साहित्यिक परिदृश्यको सूक्ष्म विवेचना गरिएको छ।
मानवीय संवेदना, देशप्रेम, आत्मसम्मान, लैङ्गिक विभेद, पित्तृसत्तात्मक सोच, नारी–अस्तित्वको खोजी उनका निबन्धमा पाइने विशेषता हुन्। प्रस्तुत कृतिका निबन्धहरू कलात्मक मूल्य, लालित्यपूर्ण र काव्यात्मक भाषाशैलीको प्रयोग र सूक्तिमयताको दृष्टिले पनि पठनीय देखिन्छन्।
सरल, सुबोध भाषाले यो सङ्ग्रहभित्रका निबन्धलाई अझ बढी गतिशीलता एवम् आस्वादनीय तुल्याएका छन्। यी निबन्धले जीवनका अनुभव र अनुभूतिलाई नजिकैबाट प्रस्तुत गर्न सक्षम रहेका छन्।
आत्मपरक निबन्ध परम्परामा नारी स्रष्टाको उल्लेख्य उपस्थिति नभएको सन्दर्भमा यो रिक्तता पूर्ति गर्ने मार्गमा ‘संवेदनाको समायोग’ रहेको छ। २२० पृष्ठमा संरचित यस निबन्धसङ्ग्रहभित्र ७ वटा खण्ड र ३७ वटा निबन्ध सङ्गृहीत रहेका छन्। यसमा कुनै लेखकीय भूमिका नभई केवल निबन्धकारका एकल दृष्टिकोणलाई ‘प्रारम्भ अनि प्रारम्भ...’ बाट विषयको उठान गरी र ‘अन्त्यमा...’ शीर्षक दिएर निबन्धलाई प्रस्तुत गरिएको छ।
मझौला आकारको यस कृतिको पहिलो खण्ड ‘असम्यक् स्पर्श’अन्तर्गत समेटिएका छवटा निबन्ध रहेका छन्। यसअन्तर्गत ‘के म सफल आमा बन्न सकें?’, ‘शृङ्गार सौन्दर्य’ र ‘नारी’, ‘तिम्रो अनुपस्थिति’, ‘मानवसभ्यताको यात्रामा नारी’, ‘नारीलेखनका चुनौती’ र ‘के नारीवादीहरूले पुरुषको ईष्र्या गर्छन्?’ आदि नारी संवेदनासँग सम्बन्धित निबन्ध रहेका छन् भने ‘कीर्तिपुर डायरी’ दोस्रो खण्डअन्तर्गत ‘देशभित्रको डायस्पोरा’, ‘विश्वविद्यालय: सरोगेट मदर’, ‘देवढोकाको अन्तिम खुड्किलोमा उभिएर’ र ‘अविदित यात्रा’ जस्ता कीर्तिपुरसँग सम्बद्ध चार वटा निबन्ध रहेका छन्।
यस खण्डका निबन्धहरूमा खासगरी नेपालको उच्च शिक्षाको स्थिति र विश्वविद्यालयको अवस्थाका साथै कीर्तिपुरको परिवेश, संस्कृति र कीर्तिपुरको आजको अवस्थाको जीवन्त चित्रण गरिएको छ। यस सङ्ग्रहको तेस्रो खण्डलाई ‘भावका अनुगुञ्जन’ नाम दिइएको छ।
यस खण्डमा जीवनका विविध भोगाइ र अनुभूतिलाई प्रस्तुत गरिएको छ। यस खण्डका ‘निबन्धहरूमा तिम्रो प्रेमका नाममा’, ‘सौन्दर्यबोध’, ‘आफैंलाई भेटेपछि’, ‘स्वतन्त्रता र जीवन’, ‘चिसा आँखा र भत्किएको आशा’, ‘शान्ति नै सबैकुरा पनि त होइन रहेछ’ र ‘मन दुःखेको कुरा’ गरी सात वटा निबन्ध समावेश भएका छन्।
‘हृदयको क्यानभासबाट’ शीर्षकको चौथो खण्डमा निबन्धकारको जीवनमा छाप छोड्न सफल व्यक्तित्वहरूका बारेमा प्रस्तुत गरिएको छ। यस खण्डमा ‘नयाँ पुस्ताबाट बेखबर एउटा नाम’, ‘वाह! डाक्टरसाहेब!’, ‘एउटा फरक सत्यसँग साक्षात्कार’, ‘मेरो पहिचानको धरोहर’ र ‘अप्राप्तिप्रतिको अनुराग’ गरी पाँच निबन्ध समेटिएका छन्।
यसै गरी ‘छोडेर आएका पाइलाहरू’ शीर्षकको पाँचौंखण्ड संस्मरणात्मक शैलीमा लेखिएका निबन्धहरू रहेका छन्। यस खण्डमा ‘हिउँदको एक रात’, ‘खोलाकिनारामा कविता लेख्दैगरेकी केटी’, ‘आँसु र पसिनाले लेखेको कथा’ र ‘मास्टर्नी हुँदा’ आदि निबन्ध रहेका छन्। यी निबन्धमा निबन्धकारका जीवनसङ्घर्ष र भोगेर आएको समयको चित्र प्रस्तुत गरिएको छ।
‘सीमाभन्दा पर फैलँदै’ शीर्षकको छैटौं खण्डमा यात्रापरक निबन्धहरू समेटिएका छन्। यात्राका क्रममा सँगालेका अनुभव र अनुभूतिका साथै त्यहाँको जीवन्त चित्र प्रस्तुत गरिएको छ।
यस खण्डमा ‘हजारौं लोकविश्वासले सिँगारिएको अद्भुत सहर’, ‘समुद्र: यात्रानुभूति र आत्मानुभूति’, ‘आँखामा कञ्चनजङ्घा’, ‘टिस्टा नदी मात्र होइन रहेछ’, ‘रमाइलोको परिभाषा’ र ‘यात्रामा कथा मिसिएपछि’ जस्ता यात्रानुभूतिसम्बद्ध निबन्ध रहेका छन्। यस खण्डका निबन्धहरूको विषय यात्रा भए पनि यी अनुभूति पक्षसँग बढी सम्बद्ध छन्।
यसैगरी यस कृतिको अन्तिम खण्डका रूपमा रहेको ‘शब्द र अक्षरहरूमा...’ खण्डमा साहित्यिक विषयसँग सम्बन्धित निबन्धहरू समेटिएका छन्। जसमा ‘पठन एक आत्मिक यात्रा’, ‘यथार्थभन्दा पर पनि’, ‘विमोचनको अनुष्ठान’, ‘यो आख्यानको समय हो’ र ‘समालोचनाको यात्रामा’ जस्ता पठनअनुभूति र साहित्यलेखनसँग सम्बद्ध निबन्ध समावेश गरिएका छन्।
प्रस्तुत निबन्धसङ्ग्रहमा समावेश गरिएका निबन्धहरू पढिसकेपछि हरेक पाठकले निबन्धको फरक स्वाद र मौलिक कलालाई महसुस गर्न पाउने छन्।
नेपाली निबन्धको इतिहासमा आत्मपरक निबन्धको बलियो आधारस्तम्भ खडा गर्नमा ‘संवेदनाको समायोग’ निबन्धले एउटा इँटा थप्ने काम गरेको यथार्थलाई बोध गर्न सकिन्छ।
‘संवेदनाको समायोग’ आत्मपरक निबन्धसङ्ग्रह भए पनि निबन्धकारका व्यक्तित्वमा समालोचकीय व्यक्तित्वको प्रभाव परेको देखिन्छ।
सङ्ग्रहभित्रका निबन्धमा निबन्धकारका वैचारिक चिन्तन र चेतनाअनुरूप निजात्मकता, वैयक्तिकता, वैचारिकता, संस्मरणात्मकता, स्मृतिविम्बको प्रयोग, भावना एवम् कल्पनाको अभिव्यक्ति, अनुभूतिको प्रकटीकरण, भाषाशैलीगत विशेषता व्यक्त भएका छन्।
‘संवेदनाको समायोग’ निबन्धमा कतिपय निबन्ध खँदिला र कतिपय निबन्ध अपेक्षाकृत कम खँदिला रहेका छन्। ‘के म सफल आमा बन्न सके?’, ‘सौन्दर्यबोध’, ‘मन दुखेको कुरा’, ‘समुद्र: यात्रानुभूति र आत्मानुभूति’, ‘टिस्टा नदी मात्र होइन रहेछ’ आदि निबन्ध कलात्मक छन्। यसैगरी ‘तिम्रो प्रेमका नाममा’, ‘आफैलाई भेटेपछि’, ‘नयाँ पुस्ताबाट बेखबर एउटा नाम’, ‘यात्रामा कथा मिसिएपछि’लगायतका निबन्ध मध्यमस्तरका रहेका छन्।
प्रकाशित: २ मंसिर २०८० ०२:०८ शनिबार