२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

फैलिएर हाँसेको गोसाइँकुण्ड

नियात्रा

अटाउन्न अँगालोमा, सुन्दर उस्तै अपूर्व यो,

फैलिएर हाँसेको यो गोसाइँकुण्ड भूस्वर्ग हो।

साँच्चै नै शब्दमा अव्यक्त छ गोसाइँकुण्डको सुन्दरता। आफ्नो छातीमा अपार जलराशि बोकेर सजिएको यस कुण्डले संसारभरका प्रकृतिप्रेमीलाई आफूतिर आकर्षित गरेको छ। वरिपरि चट्टानै चट्टानका बिचमा लम्पसार परेर फैलिएको यो कुण्ड तिनै चट्टान फोरेर निस्कने जलधाराले भरिएको छ भने चट्टानकै एक छेउबाट छङछङ गर्दै भैरवकुण्डतिर बगेको छ।

कतैकतै काई, बुकी, काँडेझारबाहेक केही नदेखिने यो क्षेत्र चट्टानै चट्टानको आधिक्य भए पनि भूबनोट, हिमाली काख र उचाइले सदा प्रसन्न मुद्रामा देखिन्छ। छिनछिनमा देख्न पाइने रवि र मेघनाथ बिचको लुकामारी नै यसको सबैभन्दा लोभलाग्दो र रहस्यमय पक्ष हो।

यिनै रहस्यमा लट्ठिन चाहने जोकोहीलाई यसले हरदम स्वागत गरिरहेको हुन्छ। त्यही रहस्य बुझ्न र त्यस भूस्वर्गको काखमा रम्न हाम्रो टोली पनि २०८० सालको असोज २७ गते घटस्थापनाका दिनमा त्यतातिर हानिएको थियो।

‘घुम्न जाने’ भन्ने कुरा भनाइमा सामान्य, तयारीमा हम्मेहम्मे अनि भोगाइमा सुरम्य रहेछ। अझ यात्राप्रतिको उत्सुकतालाई त हिम्मतको द्वार माने पनि हुन्छ। यात्राको थुप्रै दिन अगाडिदेखि नै टिकट बुक गर्ने अनि लट्ठी, रेनकोट, झोला, सुखा खानेकुरा, टिमुर, अदुवा, लसुन, औषधि, सामल आदिको जोहो गर्ने काम भइरहेको थियो।

हामी दश जनाको टोलीमा सम्पर्क र समन्वय गर्ने काममा कल्पना पन्त, कुमार बस्नेत र कमल कार्की अनवरत रूपमा लागिरहनुभएको थियो। उहाँहरूकै योजना अनुसार म हरिप्रसाद गौतम लगायत सीता ज्ञवाली, जितेन्द्र भट्ट, सिर्जना खड्का, इन्दिरा थापा, सुदिन शाक्य, लीलादेवी कार्कीसमेत गरी दश जनाको टोली बनेको थियो। यो टोली कहिले विद्यालय छुट्टी होला र हिंडौंला भने व्यग्र प्रतीक्षामा थियो।

यात्राको पहिलो दिन हामी काठमाडौंको स्वयम्भूस्थित ‘हामा’ पेट्रोल पम्पमा बिहान ६ बजे भेला भयौं। माछापोखरीबाट छुटेको बस समयमै आइपुगेको भए पनि साथीहरूले आआफ्ना साधन पार्किङ गर्न थाल्दा उक्त ‘टुरिस्ट बसले ट्राफिक व्यवस्थापनका कारण सबैलाई कुर्न पाएन।

सबै साथी एउटै बसमा चढ्न नपाउँदा कतै यात्रा नै खल्लो हुने हो कि जस्तो पनि लाग्यो। तैपनि उहाँहरूमध्ये कुमारजीले पठाउ चढी धादिङ पुगेर हामीलाई भेट्नुभयो भने सुदिन र लीलाजीलाई भने अर्को बस समाती धुन्चे बजारमै भेट्ने व्यवस्था कमल सरले मिलाउनुभयो। त्यसपछि बल्ल मनमा आनन्द आएको थियो। गल्छी पुगेर हाम्रो बस उत्तरतिर लाग्यो। त्रिशूलीको तिरैतिर पहाडको फेदीमा रहेका फाँट र वरपरको हरियाली साँच्चै  मनमोहक थियो। तादीखोला र त्रिशूलीको सङ्गम देवीघाट कटेर हामी अगाडि बेत्रावती बजार पुग्यौं। त्यसपछि त्रिशूलीलाई तलै छाडेर रसुवा जिल्लामा प्रवेश गरेको हाम्रो बसले हरेक घुम्तीबाट नुवाकोटको हरियालीलाई हात हल्लाइरहेको थियो।

हामी पहिलोपटक कालिकास्थानमा खाना खान रोकिएका थियौं। कमल कार्की सरले छुटेका साथीलाई थप सम्पर्क गरिरहनुभएको थियो भने हामी पहाडी झरना र भिरपाखामा दृश्य डुलाउँदै थियौं। अनेक घुम्ती, उकाली अनि गाडीभित्रको भिडमा ठेलिएरै हामी नेपाली सेनाको चेकपोइन्टमा पुग्यौं।

त्यो निकुञ्ज प्रवेशद्वार रहेछ त्यसैले सबैका लागि प्रतिव्यक्ति सय रुपैयाँ तिरेर टिकट लिनुपर्ने रहेछ। चेकिङपछि बल्लतल्ल साढे बाह्र बजे हाम्रो गाडी धुन्चे बजारमा गएर रोकियो र हामी ओर्लियौं। त्यसपछि छुटेका साथीलाई अढाई-तीन घन्टा पर्खन परेकाले हामी एउटा होटलमा गएर चियाखाजा खाँदै बसिरह्यौं।

दिउँसोको साढे तीन बजेतिर साथीहरू आइपुगे। एकछिन सुस्ताएर हामी झोला बोकी लट्ठी टेकेर ४ बजेतिर त्रिशूली किनारै किनार हुँदै गोसाइँकुण्डका लागि बिस्तारै उकालो लाग्यौं।

पुल, खोल्सा, झाडी, झरना हेर्दै फोटो खिच्दै अगाडि बढिरहेका हामी झमक्कै साँझ परेपछि बल्ल अलि सतर्क भयौं। ठाडो उकालाले केही साथीलाई अलि पछाडि छोडेको थियो। अगाडि पुगेका हामी ६ जना गोसाइँकुण्ड ५ मा पर्ने  खेन्दीको ‘न्यु भिलेज’ होटलको आँगनमा रोकियौं। त्यहाँ त्यो होटलका मालिकको स्वागत गर्ने शैलीले द्रवीभूत भएका हामीले त्यही होटलमै आतिथ्य ग्रहण गयौं। केही समयपछि साथीहरू आइपुगे। त्यहाँ खाना खाएर नाचगान पनि गरी भोलिको सपना बुन्दै आनन्दले सुत्यौं।

खेन्दीबाट हिंड्दा बिहानको ६ बजेको थियो। लट्ठीको भरमा चिसो बिहानीसँग जुध्न र ठाडो उकालो काट्न हम्मे परिरहे पनि इन्दिरा मेडमले दिएको मकैभटमास अनि अन्य ड्राइफुड चपाउँदै देउराली पुगेर सुस्तायौं।

त्यहाँबाट देखिने लामटाङ हिमालको दृश्य साँच्चै आँखा नचिम्ली हेरिरहौं जस्तो थियो। हामीलाई धेरै माथि जानु थियो त्यसैले त्यहाँबाट हिंडिहाल्यौं। देउरालीबाट माथि डिम्सामा रहेको खिम्ती खाजाघरसम्मको उकालो जति ठाडो थियो, त्यति नै रमाइलो पनि थियो।

बिहानै चर्न निस्केका वनकुखुरासँगको साक्षात्कारले मलाई एकचोटि आफ्नै जन्मठाउँ गुल्मीको ढँड्यानतिर डुल्दाको याद दिलायो। हामीले हिमालसँग जिस्किँदै र पछाडि परेका साथीहरूलाई पर्खिदै हामीले डिम्सास्थित खाजाघरसम्मको यात्रा तय गरिसकेका थियौं। त्यहाँ चिया र त्यहींको मिठो आलु खाएर हामी एकनास उकालो र घुम्टी बाटो हिंडेर चन्दनबारी पुग्यौं। त्यहाँ हामीले शेर्पा होटलमा खाना खाने योजना बनायौं। खाना पाकुन्जेल साथीहरूले बनाएको टिकटकमा रमाएर हिमालसँग उचाइको दोस्ती लगाउँदै हामीले भरपुर आनन्द लियौं।

चन्दनबारीबाट हल्का उकालो र तेर्सो बाटो काट्न हामीलाई खासै गाह्रो नभए पनि केही साथीहरू हिंड्न सक्नुभएको थिएन। त्यसैले पनि घाम र कुहिरासित खेल्दै बिस्तारै हिंडेर हामी साढे तीन बजेतिर चोलाङपाटी पुग्यौं। नयाँ ठाउँप्रतिको उत्सुकता त छँदै थियो, उसैमाथि माथिबाट फर्कने हरेकसँग राखिएका हाम्रा जिज्ञासाका फरकफरक जवाफले हामीलाई त्यस रातको वासका लागि निर्णय लिन गाह्रो हुने गर्दथ्यो। तैपनि पछाडि छुटेका साथीका लागि हरेक होटल तथा लजमा खबर छोडेर हामी आजको बास बस्ने होटल बुक गर्‍याै।

तेस्रो दिन सोमबार परेकाले हाम्रो समूह गोसाइँकुण्डमा नुहाउन पाइने कुराले उत्साहित थियो। त्यसैले हामी त्यहाँबाट ६ बजेतिर गोसाइँकुण्डका लागि प्रस्थान गर्‍यौं। बाटैभरि सेतो तुसारो जमेकाले जताततै हिउँ परेजस्तो देखिन्थ्यो। हामीमध्ये केही साथी हिजोकै चिसोले अलिकति बिरामीजस्तै भएका थियौं। उसैमाथि बिहानको त्यो चिसोसँग उकालो बाटाले हाम्रो सास बढिरहेको थियो। लेक नलाग्ने औषधि नखाईकन माथि पुग्ने मेरो धोको हुनाले सकीनसकी म अरूको पछिपछि लाग्दै थिएँ।

माथि पुग्दा यौटा बौद्धस्तुपा रहेछ, त्यसपछि अलिअलि तेर्सो लागेको बाटो हुँदै हामी अलग अलग समूह बनेर निकै परको गोसाइँकुण्ड पुगेका थियौं। भिरपाखाको बाटो हुनाले फलामे बार लगाइएको रहेछ। त्यहाँ हिंड्न नसक्नेहरू घोडामा पनि जाँदा रहेछन्। घामको झुल्कोसँगै हिंडेका हामीले तेर्सो बाटो लागेपछि डाँडापाखा, पहरा, छहरा, छाँगा तथा कुण्डहरू हेरेर बाटो काटिरह्यौं।

त्यहाँ पुगेपछि नौ बजेतिरको रापिलो घामले नुहाउन सकिने अवस्था सिर्जना भयो। कल्पना म्याम, लिला म्याम, सीता म्याम, इन्दिरा म्याम र सुदिन सर कुण्डमा पसेर नुहाउन सफल हुनुभयो। मैले पनि बल्लतल्ल जल सेचन मात्रै गरें। एक चरण त्रिशूलधारा जाने समूह उता गएपछि कमल सरले पनि कुण्डको जल ल्याएर मन्दिरमा चढाउनुभयो।

हामी धेरैलाई खै कुन्नि किन हो, यत्तिकै झुम्म पारेकोजस्तो भएको थियो तर के भएको थियो भन्ने अनुभूतिलाई शब्दमा व्यक्त गर्न भने सकिएको थिएन। त्यसैले स्वास्थ्य थप नबिग्रोस् भनेर डराएकी मेरी सँगिनीले पूजाआजा सकेपछि हामी अब फर्कनुपर्छ भनेर सुझाव दिएकी थिइन्।

सूर्यकुण्ड पुग्ने आशालाई दबाएर हामी बिस्तारै ओरालो लाग्यौं। तर, तीन जना म्याम त्यहींको होटलमा झोला छोडेर माथि सूर्यकुण्डतिर उकालो लाग्नुभयो। पछि होटलवालाले मोबाइल राख्न नमानेपछि उहाँहरूका मोबाइल हाम्रा साथमा रहे। हामी सबै उहाँहरूसँग सम्पर्कविहीन भयौं।एकातिर चार्ज सिद्धिएका मोबाइल, अर्कातिर नो नेटवर्क अनि उसैमाथि फोन जति हामीसँग हुनाले हामी अलग अलग धारमा बाँडिन पुग्यौं।

गोसाइँकुण्डको सुन्दरता, मौसमको फेरबदली, बाटोको विकटता, झरना, गोरेटा र चट्टानै चट्टानका पहाडको उपस्थितिले मन रोमाञ्चित भए पनि प्रतिकूल स्वास्थ्य, थकान र फरकफरक समूहमा बाँडिएका साथीको चिन्ताले भने मन पिरोलिएको थियो।

तैपनि कमल सरको सक्रियता, जितेन्द्र सरको साथ, सीता मेडमको ढाडसले सिर्जना मेडमको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको थियो।

हामी बल्लतल्ल लौरीबनाको माया होटलमा आएर त्यहाँ राखिएका हाम्रा आआफ्ना झोला टिपी पछाडि आउने साथीलाई खबर छाडेर चोलाङपाटीतिर लाग्यौं। हामीभन्दा पछाडि रहेका कुमार सर र इन्दिरा मेडमलाई सम्पर्क गर्ने हाम्रो प्रयास असफल भए पनि उहाँहरू कहाँसम्म आउनुभयो भन्ने खबरचाहिं हामीले अन्य यात्रीको वर्णनबाट थाहा पाइरहेका थियौं। त्यसैले चोलाङपाटीमा खाजा खाएर हामी चन्दनबारी पुगेर होटल बुक गरी बस्ने तरखरमा लाग्यौ।

 शरीरमा थकाइ र भोक भए पनि साथीको चिन्ताले भोक मर्दै गएको थियो। उसैमाथि पानी पर्न थाल्यो। पछाडि छुटेका साथीहरूसँग न फोन थियो न टर्च थियो न कहाँ गएर बस्ने भन्ने टुङ्गो नै।

यस्तै अन्योलका बिचमा मसँग रहेका साथीहरूलाई होटलमै छाडी भिजेरै भए पनि म बाटोमा बसिरहें। त्यहाँ आउने हरेक जनासँग हुलियासहित साथीबारे सोध्न थालें।

रात झमक्क परेपछि होटलअगाडिको वनको बाटामा उभिँदा डर बढ्न थालेको थियो। थुप्रै मान्छे आइसक्दा पनि उहाँहरू नआएपछि मेरो मनले केके चिताउन थाल्यो। झन् पिर बढ्दै गयो। यसैबिच निकै समयपछि जङ्गलका बिचमा पिलपिल गर्ने उज्यालो देखियो। अलिकति आशा बढ्यो। साँच्चिकै हाम्रा साथीहरू नै रहेछन्। यसरी भिज्दै र अन्य बटुवाको साथ लागेर आइपुगेका साथीहरूसँग भेट हुँदा निकै खुसी लाग्यो।

भात खाएर सुतेको भए पनि मन शान्त हुन सकेको थिएन। रात छिप्पिंदै थियो, पानी परिरहेको थियो, भोलिको बाटो चिप्लो हुने चिन्ता बढ्न थाल्यो। गोसाइँकुण्डनेर लडेर घाइते भएकी ६७ वर्षकी विदेशी महिलालाई प्रतिकूल मौसमका कारण हेलिकप्टरले उद्धार गर्न नसकेपछि भरियालाई भारी बोकाएर उनी पनि बास बस्न त्यहीं होटलमा आएकी रहेछिन्। हाम्रोभन्दा पनि मलाई उनको धेरै चिन्ता लागेको थियो तर उपाय केही थिएन। त्यसैले येनकेन रात कटाउने प्रयास भने गरिरह्यौं।

बिहान तीन बजे नै आँखा खुले। झमझम परिरहेको पानीले चिन्ता बढाइरहेको थियो। साथीहरू मस्त निद्रामा थिए। केहीबेर निदाउने प्रयास गर्दागर्दै उज्यालो भइहाल्यो। उज्यालो हुनासाथ नित्यकर्म सिध्याएर हामी त्यहाँबाट देखिने दृश्य कैद गर्नतिर लाग्यौं।

अघिल्लो रात बास बसेको लौरीबिनाको होटल आज हिउँले घेरिएको थियो तैपनि चन्दनबारीबाट देख्न सकिने दृश्य भने हामीले कैद गर्‍यौं। त्यसपछि त्यहाँनजिकै रहेको चिज फ्याक्ट्रीबाट चिज किनेर ओरालो लाग्यौं। बाटो ओरालो भएपनि सोचे जस्तै चिप्लो थिएन तसर्थ सजिलैसँग हामी डिम्सास्थित होटलमा पुगी चिया खायौं र एकछिन सुस्तायौं।

डिम्सामुनिको ठाडो ओरालो हिंडेर हामी देउरालीमा पुगी बचेखुचेको ड्राइफुड बाँडेर खान थाल्यौं। फोटोमा एकछिन अलमलिएपछि हामी हल्लीखल्ली गर्दै खेन्दीको उही हामी अस्ति बसेको न्यु भिलेज होटलमा पुगी खाना बनाउन भन्यौं। लोकल कुखुरो, फर्सीका मुन्टा, सिस्नु र अण्डाको स्वाद बटुलेर हामी एकछिन सुस्ताएपछि बिस्तारै ओरालो लाग्यौं।

तल पुगेर झरनाको फोटो खिची अगाडि गएका साथीलाई भेटाउन भन्दै हामी धुन्चेबजार पुगी गाडी बुक गर्नतिर लाग्यौं। होटलमा पाएको नम्बरका  आधारमा एकजना स्कर्पियोवाला सन्तोष भाइ हामीलाई काठमाडौं लैजान राजी भए। उनले हामीलाई करिब छ घन्टामा काठमाडौं पुर्‍याउँछु भन्दै थिए। हामी करिब दुई बजे त्यहाँबाट हिंड्यौं।

अनेक घुम्ती काटेर तल बेंसी झरेपछि हामी त्रिशूली बजारमा एकछिन चियानास्ता गरेपछि गँगटेबाट बायाँ मोडिएर टोखा जाने बाटोतिर लाग्यौं। मजाले हुइँकिएको हाम्रो गाडी नुवाकोटका फाँट, डाँडा, खोँच, पाखा आदि हुँदै टोखा नगरपालिका प्रवेश गर्‍यो। यस्तैमा हाम्रो गाडी ओरालो बाटोको आफ्नै रफ्तारमा थियो।

अचानक उता रोकिएको गाडी पछाडिबाट आउँदै गरेको मोटरसाइकलको लेग–गार्ड हाम्रो गाडीको पाङ्ग्रामा प्वाल पार्ने गरी ठोक्कियो। बम पड्केजत्तिकै ठुलो आवाज आयो। सारा मान्छे जम्मा भए। एकैछिन झमेला भयो तैपनि प्रहरी र बाँकी सबैको सहमतिमा हाम्रो गाडीले नयाँ टायर फेरेर यात्रुलाई गन्तव्यमा पुर्‍याउने अनुमति पायो।

त्यतिबेला मलाई कमल सरकी आमाको भनाइको सम्झना आयो। उहाँले शनिबार र औंसी परेको हुँदा अर्को दिन मात्रै हिंड्न सुझाउनुभएको थियो। टिकट भइसकेकाले बदल्न मिलेन। उसैमाथि समाजमा चलेको “शनिबारको बिछोड, मङ्गलबारको भेट, कि आउँछ ज्वरो कि दुख्छ पेट” भन्ने भनाइले पनि यात्रामा सावधानी अपनाउनुपर्ने कुरालाई यो मनले नकारिरहेको थिएन।

धन्न कसैलाई केही भएन। ईश्वरलाई धन्यवाद दियौं। त्यसपछि हामी ओरालो बाटो हुँदै धापासी पुग्यौं। त्यहाँ लीला म्याम ओर्लनुभएपछि हामी सबै दश बजेतिर स्वयम्भू पुगेर रोकियौं। पाटन पुग्नुपर्ने सुदिन सरलाई कमल सर र जितेन्द्र सरले पठाउमार्फत पठाउनुभयो। कुमार सर र म्याडम मकहाँ राखिएको बाइकमा दुवाकोट जानुभयो भने कल्पना म्यामलाई गाडीले घरसम्म पुर्‍यायो।

दशैको माहोलले नेपाली धर्ती तातिसकेको थियो। हामीलाई गाउँ पुग्नका लागि टिकट लिने काम बाँकी नै थियो। तैपनि गोसाइँकुण्डको यात्राका रमाइला क्षण र त्यहाँका अनुभूति साट्दै हामी अर्को दिन जन्मस्थल गुल्मी पुग्यौं।

गोसाइँकुण्डको यस यात्राबाट हामीमा हाम्रो देश साँच्चीकै भूस्वर्ग नै रहेछ भन्ने छाप परेको छ। सैनिकद्वारा संरक्षणमा रहेको क्षेत्र भएर पनि होला, यहाँ यति धेरै पर्यटक भित्रिने भएर पनि कुनै खालको प्रदूषण कतै पनि देखिँदैनथ्यो।

यो ठाउँ साँच्चै मनमोहक रहेछ। त्यसैले हाम्रो यो यात्रा–वर्णन त्यहाँसम्म पुग्न चाहने नेपाली तथा विदेशी पर्यटकहरू सबैका लागि जानकारी र उत्प्रेरणा दुवै बनोस् भन्ने हाम्रो कामना छ। साथै धार्मिक तथा प्राकृतिक रूपले निकै आकर्षक यो स्थलको विकास र संरक्षणमा सबैले आआफ्नो तर्फबाट सोच्नुचाहिँ निकै जरूरी देखिन्छ।

-हरिप्रसाद गौतम, गुल्मी, हाल: स्वयम्भू, काठमाडौं।

प्रकाशित: २५ कार्तिक २०८० ०५:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App