१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

पुतली चिनेका ‘पुतली बाजे’

सम्झना

पुतली बाजे र उनले पाएको नागरिकता। तस्बिर सौजन्यः सुनिल उलक।

खासमा उनको नाम ‘कोलिन फिलिप स्मिथ’ हो। तर, पहिचान दिने नाम भने ‘पुतली बाजे’ रह्यो। कोलिनभन्दा पनि पुतली बाजेभन्दा उनलाई धेरैले चिन्थे। सधैं पुतली पछ्याउने भएकाले उनलाई बालबच्चाले पहिल्यैदेखि ‘पुतली बाजे’ भनेरै बोलाउँथे। बालबच्चाको त्यही नाम नै उनलाई अन्तिम दिनसम्म पनि चिनाउन काफी रह्यो। उनै पुतली बाजे ८७ वर्षको उमेरमा गत सोमबार सधैंका लागि अस्ताए।

१९९३ मंसिर ९ मा जन्मेका उनी खासमा बेलायती नागरिक हुन्। तर, ८७ वर्षको उमेरमा नेपाली नागरिक भएर उनी नेपालमै अस्ताए। कोलिन फिलिप स्मिथलाई नेपाली नामले पहिचान दिलाएझैं उनले नेपाललाई पनि ठुलो गुन लगाएका छन्-पुतली संकलन। जुन जो कोहीका लागि पनि अध्ययनको थलो बनेको छ र बन्नेछ। उनले नेपालमा पुतली खोजीमा मात्र झन्डै पाँचदशक बिताए। विभिन्न ठाउँमा संग्रहालय खोल्न उक्साए। उनै पुतली बाजेका कारण नेपालमा पाइने पुतलीबारे अध्ययन भयो।

पोखराका फोटो सङ्कलक सुनिल उलकका अनुसार उनी पहिलो पटक २०२२ माघमा पोखरा आएका हुन्। युनाइटेड मिसन टु नेपालमार्फत उनी पहिलोपटक पोखरा आएका थिए।

सुरुमा उनी पोखरामा नेपाली आदर्श विद्यालय (हालको गण्डकी बोर्डिङ स्कुल) मा पढाउन आएका थिए। युनिभर्सिटी अफ लन्डनबाट एमएस्सी सकेर उनी अध्यापनका क्रममा पोखरा आएका थिए। पोखराको भैरव टोलमा बस्दै आएका कोलिनसँगै उलकको करिब साढे ३ दशकदेखिको चिनजान थियो।

पोखरामा सुरुका दुई वर्ष अध्यापन गरेपछि उनी लन्डन फर्केका थिए। तर, पछि फेरि नेपाल आएर गोरखाको लुइँटेल स्कुलमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र चिकित्सक डा. उपेन्द्र देवकोटा लगायतलाई अध्यापन गराएका थिए। नेपालप्रतिको माया र ममताले उनी केही वर्ष नेपालमा पढाएर स्वदेश फर्के पनि उनको मन भने नेपालतिरै रह्यो। त्यसपछि फर्केर विभिन्न ठाउँमा अध्यापन गर्न थाले।

अध्यापनसँगै पुतली संकलन उनको रुचिको विषयलाई पनि निरन्तरता दिइरहे। उलकका अनुसार नेपालमा सुरुवाती चरणमा अध्यापन गराए पनि पछिल्ला वर्ष भने उनले कुनै जागिर गर्दैनथे। आफ्नै रकमले उनले खर्च जोहो गरेका थिए। अध्यापनबाहेक उनको सानैदेखिको रुचि थियो–पुलती संकलन गर्ने। बेलायतमा रहँदै पुतली संकलनमा रुचि बोकेका उनी नेपालमा रंगीचंगी पुतली पाउँदा उनमा पुतलीप्रतिको मोह झनै बढ्यो, अनि पुतलीमै सुरुदेखि नै लोभिएर संकलन गर्न थाले।

पोखरामै रहँदा उनको पिसकप्र्स भोलिन्टियर डोरोथी मिरोसँग भेट भएपछि कोलिन पुतली संग्रहालय बनाउन झनै लोभिएका थिए। खासमा डोरोथी मिरो म्युजियम बनाउने धुनमा थिए, तर कोलिनले डोरोथीको म्युजियममा पुतली संग्रह नै थपिदिए।

२०२३ मा पोखरामा पृथ्वीनारायण क्याम्पस खुलेपछि त्यही परिसरमा अन्नपूर्ण नेचुरल हिस्ट्री म्युजियम पनि खुल्यो। त्यसपछि त्रिभुवन विश्वविद्यालयसँगको सम्झौताबमोजिम कोलिन विभिन्न जिल्लाको भ्रमणमा गएर पुतली संकलन गर्न थाले।

‘त्रिविले बजेट दिएपछि कोलिनले नेपाल टुर गरे। २५ हजार पुतली संकलन भयो,’ उलकले भने, ‘पुतली संकलन मात्र गरेनन् कि ती पुतलीको प्रजाति पनि छुट्याइयो।’ उनका अनुसार नेपालमा ६ सय ६० प्रजातिका पुतली पाइने गरेको कोलिनकै संकलनले पुष्टि भएको हो। विश्वमा १७ हजार ५ सय प्रजाति पुतलीमध्ये ६ सय ६० प्रजाति नेपालमा पाइने गरेको कोलिनकै संकलनले देखाएको उलकले बताए। ‘पुतली संकलनमा कोलिनको योगदान निकै नै छ। यो आगामी दिनमा अरू विद्यार्थीका लागि अध्ययन गर्ने ठाउँ बनेको छ,’ उनले भने।

‘कोलिन जतिबेला पनि पुतली समात्ने गर्थे। बच्चाले नै उनलाई पुतली बाजे भनेर बोलाउँथे,’ उलकले भने, ‘पोखरामा मात्र नभई विभिन्न विश्वविद्यालय र संग्रहालयमा पनि पुतलीका लागि ठाउँ राख्नुपर्छ भनेर उनैले हौसाउने गर्थे।’

कोलिनको संग्रह नै नेपालको अध्ययन गर्ने थलो बनेको उनले बताए। ‘नेपाल सरकारले उनलाई बेलैमा बुुझ्न र चिन्न सकेन। कोलिनले जे जति पुतली जम्मा गरे, ती पुतलीको फोटो खिचेर पनि राखेका छन्,’ उलकले भने, ‘पुतलीको फोटो कसैलाई काम लागेमा दिनुहोला भन्नुभएको छ। किताब छाप्छु भन्नेका लागि त्यो संग्रह काम लाग्न सक्छ।’

कोलिनले जीवितै पुतली संकलन गर्थे। तर, संरक्षणका लागि राख्ने भन्दै मरेपछि पनि नकुहिने गरी सुरक्षित गरिदिन्थे। ‘पुलती जिउँदै समाउने गर्थे। तर, मरेपछिको संरक्षणका लागि विभिन्न तरिका अपनाउँथे,’ उलकले भने। कोलिनकै पिएनमा अझै पनि विद्यार्थी छन्। पुतली जम्मा गर्न र संकलन गर्न सिकाएका व्यक्ति छन्।

जीवनको धेरै समय नेपाल बिताएका कोलिनको योगदानको कदर गर्दै सरकारबाट २०७६ मा मानार्थ नेपाली नागरिकता पाएका थिए। उनी विगत एकवर्षदेखि विभिन्न रोगले थलिएका थिए। पोखराको पृथ्वीनारायण क्याम्पस परिसरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सञ्चालन गरिरहेको अन्नपूर्ण पुतली संग्रहालय छ। जहाँ पुतलीका ५८७ प्रजाति छन्।

त्यही संग्रहालयका वरिष्ठ सहायक सुरेन्द्र परियारका अनुसार कोलिनको मुख्य योगदान नै पुतली संग्रहालयमा रहेको छ। २०२२ मा पोखरा आएदेखि कोलिनले पुतली संकलन गर्न थालेका थिए। उनले त्यो बेला संकलन गरेका पुतली अहिले पनि संग्रहालयमा रहेको परियारले बताए। ‘पहिलो पटक २०२२ मा कोलिन पोखरा आउनु भएको हो।

२०२२ सालदेखि नै पुतली राख्न थाल्नुभएको हो। त्यो बेला नै राखेका पुलती अहिले पनि जे का त्यही छन,’ परियार भन्छन, ‘अन्नपूर्ण पुतली संग्रहालयमा नेपालभर संकलन मध्ये ५ सय ८७ प्रजातिका पुतली छन्।’

त्यही पुतली संग्रहालय अहिले अनुसन्धान केन्द्र नै बनेको छ। विदेशीका लागि पर्यटकीय क्षेत्र बनेको छ भने पुतली बुुझ्न खोज्नेका लागि अनुसन्धान थलो बनेको परियार बताउँछन्। पुतली संग्रह गर्न सकिने रहेछ भन्ने पुुष्टि गर्न पनि कोलिन सफल भएको उनले बताए। 

‘अध्ययन अनुसन्धानदेखि मनोरञ्जन र शिक्षा लिन खोज्नेका लागि पुतली संग्रहालय गजबको सम्पत्ति बनेको छ। कोलिनको शरीर भौतिक रूपमा नभए पनि उनको योगदान सधैंका लागि रहनेछ,’ परियारले भने, ‘एकजना विदशीले नेपाली बनेर नेपालका लागि छाडेको चिनो अहिले पोखरामा छ।’

प्रकाशित: २५ कार्तिक २०८० ०२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App