चलचित्र दिमाग खराबको प्रिमियर शो भएको छ।बिहीवार ललितपुरस्थित एक सिनेमा हलमा फिल्मको प्रिमियर शो गरिएको हो। प्रिमियर शोमा राजनीतिक व्यक्तित्वहरुदेखि खेलाडी र कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
शोपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलले टिम राम्रो भइसकेपछि खेल र कप्तान आफैँ राम्रो हुने प्रतिक्रिया दिए । त्यस्तै खेलाडी कुशल भुर्तेलले विश्वकप खेल्ने सपना पूरा भएकोमा खुशी व्यक्त गरे । त्यस्तै कलाकार जितु नेपालले फिल्मको कथावस्तु धेरै नै उत्कृष्ट रहेको बताए ।
त्यस्तै उपसभामुख इन्दिरा रानाले फिल्ममा राजनीतिक दाउपेच र युवाहरु बिस्थापित भएको कुरालाई देखाइएको बताइन । उनले फिल्म समसामयिक कथावस्तुमा आधारित रहेको बताइन । देशमा भ्रष्टाचारी व्याप्त भएपछि युवाहरुमा नैराश्यता फैलिएको कुरा फिल्ममा देखाइएको वरिष्ठ कलाकार हरिवंश आचार्यले बताए भयो ।
उनले आगामी चुनावका लागि यो चलचित्र जनचेतनाको कोर्षबुक हुने बताए । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चलचित्र धेरै उत्कृष्ट र सबैले हेर्नुपर्ने किसिमको रहेको बताए । चलचित्रले अहिलेको मुलुकको अवस्थालाई चित्रित गरेको बताए । शोपछि बोल्दै अभिनेता अर्पण थापाले आफ्नो क्यारेक्टरले कुनैपनि राजनीतिक व्यक्तिलाई म्यासेज दिनु राम्रो भएको बताए ।
उनले कुनैपनि प्रशासनबाट थिचिएको समाज लोकतान्त्रिक हुन नसक्ने र सोही कुरालाई चलचित्रमा देखाइएको बताए । त्यस्तै अभिनेता खगेन्द्र लामिछानेले आफू चलचित्र क्षेत्रमै सन्तुष्ट रहेको बताए।उनले समाजमै भएका कथाहरु जोडेर चलचित्र बनाउने भएकाले समाजका राम्रा र नराम्रा कुराहरुलाई चलचित्रमा उठाइएको बताए।
त्यस्तै अभिनेता निश्चल बस्नेतले फिल्ममा सबै कलाकारहरुले आफ्नो उत्कृष्टता पस्किएको बताए। अभिनेत्री स्वस्तिमा खड्काले दर्शकले फिल्म रुचाएको प्रतिक्रिया दिनु नै आफ्नो लागि खुशीको कुरा भएको बताइन।
चलचित्र सर्वसाधारणका लागि आज कात्तिक २४ बाट (आज) प्रदर्शन भएको छ। आम मानिस र नेताबीचको लडाइँको कथा भनिएको चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, स्वस्तिमा खड्का लगायतका कलाकारको अभिनय रहेको छ।आकाश बरालको लेखन र सुशन प्रजापतीको छायाङ्कन रहेको चलचित्रलाई निश्चल बस्नेतले निर्देशन गरेका हुन्।
प्रकाशित: २४ कार्तिक २०८० १०:२५ शुक्रबार