दूरदर्शी पुर्खा। अनुभव बटुलेर व्यवहारले पाका बनेका। मृदुभाषी, कामको अभिव्यक्ति दिएर नवपुस्ताको मनमस्तिष्कमा तर भर्ने अद्भूत क्षमता सम्पन्न! जहाँ साँघुरो त्यहीँ पहिरो, अनुप दुखेसो पोख्दै थिए।
को छ घर भन्दै बलवीर आइपुगे। अनुपमा-हामी छौं,भन्दै हातमा टुकी लिएर अर्को हातले हावा छेक्दै बाहिर आइन्।
पल्लो गाउँ हिंडेको रात पर्यो भनेर ज्वाइँ नातो लाउँदै सन्तबहादुरले परिचय दिए। अनुपले पिंढीमा गुन्द्री ओछ्याए। बस्न आग्रह गरे। भएको मिठो मसिनो खुवाए। भएको ओढ्ने ओछ्यानउनेमा उनैलाई सुताए।
अनुपमा झुत्रे गुन्द्रीमा १८ महिने बालक लिएर सुतिन्। पुसको लामो चिसो रात! बालकले तुर्क्याइरहे। अनुपमा दायाँबायाँ सर्कँदै न्यानो दिन बल गरिरहिन्। थकित भएर सुइय्य गरिन् अनुपले थाहा नपाएझैं गरिरहे। कतै आफ्नो अभावग्रस्त जीवनको बेथा १ दिने आगन्तुकले थाहा पाएर सधैंभरि हेप्ने हो कि! दुवैको मन त्रसित थियो।
छातीमा टाँसेर सन्तानलाई चिसो लाग्न दिइनन् अनुपमाले। सन्तान स्नेहले उनलाई निजी पीडा बिर्सायो। बालकलाई अरूको लाखले दिन नसक्ने न्यानो आमाको काखले दिइरहेको बुझ्न मुस्किल थिएन।
गरौं न खोजी! यस्तै संवेदनशील आमा हृदय चिन्ने सन्तान हृदय भेटिएला कि कतै?
-डा.छायादत्त न्याैपाने
प्रकाशित: १० कार्तिक २०८० ०१:२९ शुक्रबार