१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

कविको आन्दोलन

कविता

हिजोसम्म तिमीलाई फूल मन पर्थ्याे

तिमीलाई खोलामा बगेको पानी मन पर्थ्याे

पानीसँगै बगेर जान्थ्यो तिम्रो मन

बगर फगत किनार लाग्थ्यो

किनार उदास लाग्थ्यो

सत्ताको विरुद्ध सडक मन पर्थ्याे

व्यानर र प्लेकार्ड मन पर्थ्याे

बागी कविता सडकमा वाचन गर्न मन लाग्थ्यो

नयाँ झोला बाङ्गो बोक्न मन पर्थ्याे

नयाँ सर्ट मुजा भएको मन पर्थ्याे

र कम्मरमुनि जिन्सको पेन्ट औधी मन पर्थ्याे

तिमीलाई ठुला भवनहरू देख्नसाथ

भत्काउन मन पर्थ्याे

ती भवनहरू सत्ताधारीहरूको लाग्थ्यो

ती भवनहरू नवउद्दारवादी र पूँजीवादीको लाग्थ्यो

प्रत्येक सिंढीहरू श्रम शोषणको आकृति लाग्थ्यो

भवनमा विराजमान कुर्सीहरू

तानाशाहीको ... जस्तो लाग्थ्यो

कोठामा बिछ्याएको कार्पेट अशोभनीय लाग्थ्यो

सबै शहर पूँजीवादी दलालीले बनाएको लाग्थ्यो

गल्लीहरूका ढोकाहरू दुई नम्बरी धन्दाको

इन र आउट द्वार लाग्थ्यो

जब एउटा कवि सत्ताको कुर्सीमा वाद लिएर छिर्नुभो

फुलेको फूलभन्दा जरा मन पर्न थाल्यो

खोलामा बगेको पानीभन्दा मुहान मन पर्न थाल्यो

बगर उदास हैन सम्भावनाको खेती लाग्न थाल्यो

नारा लाग्ने सडक फोहोर देखिन थाल्यो

व्यानर र प्लेकार्ड समृद्घिको विरुद्ध लाग्न थाल्यो

काँधको झोला हरायो

ब्रिफकेश हातमा झुन्डिन थाल्यो

सर्टमा आइरन जोतिन थाल्यो

जिन्सको पेन्ट सत्ता विरोधी एलियट लाग्न थाल्यो

ठुलो भवनको घुम्ने कुर्सी आफ्नो लाग्न थाल्यो

प्रत्येक सिंढीहरूको मार्बल वाहवाह लाग्न थाल्यो

गाउँभन्दा शहर प्रिय लाग्न थाल्यो

गल्लीका ढोकाहरू कन्फ्रेन्स कोठा पस्ने द्वार लाग्न थाल्यो

यसरी सत्ताको विरुद्धमा

अश्रुग्याँस खाँदै सडकमा

आफ्नो अधिकार खोज्ने कवि

कुनै कार्यालयमा प्रमुख भएपछि

ऊ आफै क्रूर सत्ता भयो।

- काङमाङ नरेश राई

प्रकाशित: ७ कार्तिक २०८० ०५:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App