२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

चार स्रष्टा सम्मानित

लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले विभिन्न विधाका चार स्रष्टालाई सम्मान गरेको छ। विगत २९ वर्षदेखि निरन्तर प्रदान गर्दै आइएका यी सम्मान साहित्यकला मन्दिरका अध्यक्ष मेघा चौधरी तथा अभिनेत्री मनीषा कोइरालाले संयुक्त रूपमा प्रदान गरेका हुन्।  

नेपाली तन्त्रविद्याका विद्वान् प्रा. विद्यानाथ भट्टलाई ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान’, कवि विष्णुविभु घिमिरे र हास्यव्यङ्ग्यकार लक्ष्मण नेवटियालाई संयुक्त रूपमा ‘सरस्वती सम्मान’ तथा लोकगायिका एवम् सङ्गीतकार झुमा लिम्बूलाई ‘नारायणगोपाल सङ्गीत सम्मान’द्वारा सम्मान गरिएको हो। प्रत्येक सम्मानमा एक लाख ५१ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा अभिनेत्री कोइरालाले सिनेमा र साहित्यबिच गहिरो सम्बन्ध रहेको बताउँदै साहित्यले देश, समाज र आफ्नो मान्यतालाई समेट्ने विचार व्यक्त गरिन्। कार्यक्रममा साहित्यकला मन्दिरका संरक्षक तथा कवि वसन्त चौधरीले संस्था ३० वर्षमा प्रवेश गरेकोमा खुसी व्यक्त गर्दै संस्था स्थापित गर्नका लागि धेरै मिहिनेत गर्नुपरेको बताए। यसै क्रममा उनले भने, ‘धेरै संस्थाहरू खुल्दै र बन्द हुँदै गरेको इतिहास छ। यो संस्था तीस वर्षको भएको छ। अहिले नै मेरा सन्ततिले संस्था सम्हालिसकेका छन्।’

कलामन्दिरका अध्यक्ष मेघा चौधरीले संस्थाले साहित्यकलाको क्षेत्रमा अझै धेरै काम गर्नुपर्ने बताउँदै यस भूमिकाका लागि आफू सधैं इमानदार भएर लागिपर्ने बताइन्।

कार्यक्रममा प्रा.डा. उषा ठाकुरद्वारा लिखित ‘विचार र विश्लेषण’ कृति तथा लक्ष्मण नेवटियाको व्यङय कवितासङ्ग्रह अभिनेत्री कोइरालाले लोकार्पण गरेकी थिइन्। लोकार्पित कृतिमाथि कवि रमण घिमिरेले टिप्पणी गरेका थिए।  

प्रकाशित: ३० आश्विन २०८० ०१:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App