१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

अन्तरराष्ट्रिय फिल्म फेस्टिबलमा ‘गोरु पर्व’ छनोट

नुवाकोटको तारुकामा हरेक वर्ष माघेसङ्क्रान्तिमा आयोजना हुने ‘गोरु जुधाउने मेला’ माथि निर्मित वृत्तचित्र ‘गोरु पर्व’ दक्षिण कोरियामा हुन लागेको ‘अपोरिया अन्तरराष्ट्रिय भिलेज फिल्म फेस्टिबल’ मा छानिएको छ। बुसानमा आगामी कात्तिक १६ देखि २० गतेसम्म चल्ने महोत्सवमा पुरु लम्सालको लेखन तथा निर्देशन रहेको उक्त वृत्तचित्र नेपालबाट छनोट भएको हो।

योसँगै विभिन्न देशका १० चलचित्र महोत्सवमा छनोट भएका छन्। सिने मेकर्स प्रालिको ब्यानरमा निर्मित वृत्तचित्रका निर्मातामा निरञ्जन सिग्देल शर्मा, छायाकारमा रमेश धमला र ज्योति सिंह तथा सम्पादकमा लव प्याकुरेल छन्। राजेन्द्र बजगाईँको पाश्र्व सङ्गीत र सुशील ठकुरीको पाश्र्व गायन रहेको ‘गोरु पर्व’ ले दुई अन्तरराष्ट्रिय सम्मान पनि प्राप्त गरिसकेको छ।

जात्रा माघेसङ्क्रान्तिकै दिन आयोजना हुने र त्यससँग विभिन्न संस्कृति जोडिएकाले यसलाई सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वृत्तचित्र निर्माण गरिएको कार्यकारी निर्माता तथा सिने मेकर्सका प्रबन्ध निर्देशक केपी पाठकले जानकारी दिए।

'गोरु जुधाउने जात्रा हाम्रो मौलिक संस्कृति हो। यसलाई अन्तरराष्ट्रियकरण गर्ने प्रयास मात्रै हामीले गरेका हौँ। हाम्रा हरेक पर्व र संस्कृतिको अन्तरराष्ट्रियस्तरमा प्रचार गर्न सकेमा देशलाई चिनाउन सक्छौँ',  लेखक तथा निर्देशक लम्सालले भने।

प्रकाशित: २९ आश्विन २०८० ०८:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App