९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

‘इकिगाई’ अर्थात् दीर्घजीवीहरूको रहस्य!

पुस्तक

संसारमा सबैभन्दा लामो आयु बाँच्ने मान्छे कहाँका होलान्? खुसी, स्वस्थ र दीर्घ जीवन कस्तो दैनिकीको परिणाम होला?

यस्तै प्रश्नहरूको जवाफ खोज्न ‘इकिगाई’ पुस्तकका लेखकद्वय जापानको ओकिनवा प्रान्तको एक गाउँमा पुग्छन्। जुन गाउँ विशेषगरी सय वर्ष बाच्नेहरूका लागि भनेर ‘भिलेज अफ लङजिभिटी’ को नामले प्रसिद्ध छ। हेक्टर गार्सिया र फ्रान्सिस्क मिरालेसद्वारा लेखिएको पुस्तक ‘इकिगाई’मा जापानीहरूको खुसी र दीर्र्घ जीवनको रहस्य बताउने प्रयत्न गरिएको छ।

जापानभित्रको पनि ओकिनवा प्रान्तका बासिन्दाहरूको दैनिकी, खानपान र रहनसहनबारे धेरै कुरा यसभित्र समेटिएको छ। पुस्तकको मूल उद्देश्य चाहिँ पाठकलाई आफ्नै ‘इकिगाई’ पत्ता लगाउन प्रेरित गर्नु हो। ‘इकिगाई’ शब्द जापानी अवधारणाबाट बनेको हो, जसको अर्थ हुन्छ-जीवनको उद्देश्य। अथवा, त्यो चिज जसले सबेरै बिस्ताराबाट उठाउँछ वा उठ्न बाध्य गराउँछ।

तरुणहरूको टापु

दीर्घ र खुसी जीवनबारे इन्टरनेटमा खोज्यौं भने ‘ब्लु जोन्स’ भनेर अग्रस्थानमै आउँछ। ‘ब्लु जोन्स’ अर्थात् संसारमै सबैभन्दा लामो आयु बाच्नेहरू रहेका पाँच ठाउँ। ती हुन्-जापानको ओकिनवा, इटालीको सार्दिनिया, क्यालिफोर्नियाको लोम लिन्डा, कोस्टारिकाको निकोया पेनिन्सुला र ग्रिसको इकारिया। यी पाँचमध्ये जापानको ओकिनवा भन्ने ठाउँ पहिलो स्थानमा आउँछ। पुस्तकले भनेजस्तै इन्टरनेटमा खोज्दा अहिले पनि यस टापुमा बस्ने जापानीहरूको ‘लाइफ एक्सपेक्टेन्सी’ ८० भन्दा माथि रहेको भेटिन्छ। ‘भिलेज अफ लङजिभिटी’ अर्थात् दीर्घायुको गाउँ भनेर चिनिने ओगिमी गाउँ पनि त्यही टापुको उत्तरतिरको भागमा अवस्थित छ। पुस्तकअनुसार त्यस गाउँमा सय वर्ष वा माथिका थुप्रै मान्छे छन्।

ओकिनवा प्रान्तका अधिकांश वृद्धहरू तरकारीबारीमा वा बगंैचामा काम गरिरहेका भेटिन्छन्। ‘ग्रिन टी’ को चुस्की लिँदै एक अर्कासँग कुरा गर्छन्। सानै भए पनि केही न केही काम गरी सक्रिय जीवन बिताइरहेका हुन्छन्। ९० वर्षमाथिका मान्छेको यस्तो चलायमान दैनिकी देखेर जोकोही छक्क पर्छन्। जो दीर्घजीवनको रहस्य खोज्न अनुसन्धानका क्रममा त्यहाँ पुगेका हुन्छन्।

महत्वपूर्ण कुरा के हो भने यो टापु दोस्रो विश्व युद्धबाट धेरै प्रभावित क्षेत्र हो। भोकमरी र स्रोतको अभावले सन् १९५० सम्म त्यहाँका बासिन्दाहरूको अवस्था राम्रो थिएन। तर अहिले विश्वकै सबैभन्दा धेरै खुसी र लामो आयु बाँच्नेहरू त्यही प्रान्तका छन्। यस ओकिनवा प्रान्तसहित अन्य चार वटा ‘ब्लु जोन’बाट गरिएको अनुसन्धानमा विशेषगरी करिब एकैखाले चारवटा महत्वपूर्ण निष्कर्षलाई ‘इकिगाई’ पुस्तकले उद्धृत गरेको छ।

पहिलो, त्यहाँका मान्छेहरूमा क्यान्सर, मुटुरोगजस्ता प्राणघातक रोगहरू न्युन पाइयो। दोस्रो, उनीहरूमा ‘फ्रि रेडिकल’ एकदमै कम पाइयोे, जुन कम उमेरमै बुढ्यौलीको महत्वपूर्ण कारक हो। रमाइलो कुरा के भने यो ‘ग्रिन टि’ नियमित खाएर र खानसकिने खानाको ८० प्रतिशत मात्र खाने बानीका कारणले यस्तो भएको भेटियो।

तेस्रो, महिलाहरूमा ‘मेनोपेज’का मध्यम लक्षण देखियो भने पुरुष र महिला दुवैमा यौनिक हर्मोनहरू प्रयाप्त भएको भेटियो। चौथो, त्यहाँका मानिसमा सुस्त मनस्थितिको दर विश्वको औसतभन्दा कम रहेको भेटियो।

बुढ्यौलीलाई रोक्ने उपाय

पुस्तकभित्र विशेषगरी कम उमेरमै बुढ्यौलीका लक्षणहरू आउन नदिन अपनाउनुपर्ने उपायहरू समावेश छन्। यी उपायहरू तिनै पाचँवटा ‘ब्लु जोन्स’ र विशेषगरी जापानको ओकिनवाका मान्छेहरूका आनीबानी र रहनसहनबाट उद्धृत गरिएका हुन्।

पहिलो हो–सक्रिय दिमाग। दिमागलाई चलायमान र स्वस्थ राखे शरीर ऊर्जाशील र जवान भइराख्छ। यसका लागि ससाना लाग्ने कुराहरूले पनि ‘एन्टी–एजिङ’ को काम गर्छन् भनेर पुस्तकले केही अनुसन्धानको सहयोग लिँदै बताएको छ। जस्तो कि धेरै मान्छेसँग कुरा गर्ने, खेल खेल्न नछोड्ने, नयाँ कुरा सानै भए पनि सिकिराख्ने र परिवर्तनसँग दिमागलाई अभ्यस्त गराइराख्न सकिने बताइएको छ।

त्यस्तै बुढ्यौलीलाई पर धकेल्ने दोस्रो उपाय हो ‘सेडेन्टरी’ जीवनशैलीबाट बच्ने। एकोहोरो एकैठाउँमा बसिराख्ने बानीले आजभोलि सबैलाई असर गरिराखेको छ। अफिसमा काम गर्दा होस् वा घरैमा रहँदा। कुर्सीमा बसिराख्ने, बस्दा पनि आड खोजिहाल्ने बानीले मुटुसम्बन्धी रोग, ओस्टोपोरोसिस र क्यान्सर हुन सहयोगी भूमिका खेल्ने अध्ययनले देखाएको छ। सिँढीभन्दा लिफ्ट प्यारो, हिँड्नभन्दा ड्राइभिङ प्यारो, केटाकेटीसँग खेल्नुभन्दा मोबाइल प्यारो भएको छ मान्छेहरूलाई अचेल।

अर्को महत्वपूर्ण कुरा हो–तनाव व्यवस्थापन। अत्यधिक तनावले स्वस्थ कोषिकाहरूलाई क्षति गर्छ र कम उमेरमै बुढ्यौलीका लक्षणहरू देखा पर्छन्। दुई वटा विश्वविद्यालयको अनुसन्धानको निष्कर्षका रूपमा पुस्तकले यस्तो दाबी गर्छ।

त्यस्तै अर्को उपाय हो ‘एन्टी-एजिङ’ मनोवृत्ति। ‘इकिगाई’मा उल्लेख भएका केही अनुसन्धानअनुसार दीर्घजीवन जिउने मान्छेहरूमा दुईवटा गुण रहेको देखियो। सकारात्मक मनोवृत्ति र भावनात्मक सजगता। ओकिनवामा रहेका सय वर्ष बाँच्ने मान्छेहरूमा पनि यी गुण रहेको देखियो।

यस्तो अवस्थाबाट बच्ने पहिलो उपाय भनेको उद्देश्य थाहा हुनु हो। यति मात्रै भएपछि पनि मान्छेहरू बिहानै केही संकल्प बोकेर बिस्ताराबाट उठ्न सक्छ। दोस्रो उपाय भनेको आफ्ना संवेदनाहरूलाई स्वीकार गर्ने। हामीभित्रका चिन्ता, डर र तनावलाई स्वाभाविक रूपमा लिँदा अत्यधिक सोच्ने बानी ‘ओभर थिंकिङ’बाट बचिन्छ। यदि हामी एउटा छालबाट बच्न अर्को विपरीत छालको प्रयोग ग¥यौं भने अनकन्टार समुद्रका बिचमा हराउँछौं। सोचाइ पनि त्यस्तै हो।

दीर्घजीवनका लागि काममा एकाग्रता

त्यस्तै काममा एकाग्रता वा कर्ममा बग्न सक्ने गुण दिर्घजीवन बाँच्नेहरूमा हुन्छ भनेर पुस्तकले निष्कर्ष निकालेको छ। काम यसरी गर्ने कि सम्पूर्ण ध्यान त्यसैमा केन्द्रित होस्। त्यतिबेला न अतीतका कुरा आऊन् न भविष्यको चिन्ता। केवल वर्तमान होस्।

एकाग्रता भंग गर्न आधुनिक प्रविधिले महत्वपूर्ण भूमिका खेलेको छ। प्रविधि हाम्रो नियन्त्रणमा हुँदासम्म ठिक हो तर हामी यसको नियन्त्रणमा छौ भने रामो होइन। उदाहरणका लागि एउटा राम्रो अनुसन्धानात्मक लेख लेख्नका लागि कम्प्युटर र इन्टरनेटको प्रयोग गरेर महत्वपूर्ण सूचना लिन सकिन्छ। तर यदि हामी अनुशासित भएनौं भने घण्टौं अनेक वेबसाइटमा हराउँछौं तर एक लाइन लेख्न सक्दैनाै।

‘ओकिनवाको मिराकल खाना’

जापानको ओकिनवामा बस्ने दीर्घजीवीहरूले के र कसरी खान्छन् भन्नेबारेमा पुस्तकले उल्लेख गरेको छ। जसमा केही रोचक कुरासमेत छन्। पुस्तकले उद्धृत गरेका केही अनुसन्धानअनुसार त्यहाँका मान्छे ‘इटिङ द रेन्बो’ भन्ने कुरा निश्चित गर्छन्। अर्थात् गाजर, रायो, काउली, भ्यान्टाजस्ता फरक रङ भएका थरीथरीका तरकारी खान्छन्। गुलियो र नुनको मात्रा सरकारी सिफारिसअनुसार कम खान्छन्। खानै परे उखु खान्छन्, जसमा क्यान्सरप्रतिरोधि फाइदासमेत रहेको हुन्छ।

जापानमा एउटा चलन छ ‘हारा हाची बु’। जसको अर्थ हुन्छ–खाना खान सकिने क्षमताको ८० प्रतिशत खाऊ। ओकिनवामा बस्नेहरू पनि यो नियमलाई अनुसरण गर्छन्। यसै नियमलाई मध्यनजर गर्दै जापानको मौलिक खाना पाँचवटा प्लेटमा दिइन्छ। जसमा चारवटा साना र एउटा मात्र अलि ठुलो हुन्छ। यसको उद्देश्य भनेको हेर्दा अलि धेरै देखियोस्, खाँदा कम खाइयोस् भन्ने हो।

वास्तवमा कुपोषणको कुरा ल्याएर कतिपयले यो नियमलाई चुनौती दिन खोज्छन्। तर, ८० प्रतिशत खाने भनेको परिमाणमा हो, पोषणतत्व कायमै राखेर। हप्ताको एक दिन निराहार बस्ने वा उपास्ने चलनसँग यो मिल्दो जुल्दो छ। शरीरलाई अतिरिक्त क्यालोरीको भारबाट बचाउने र पाचनप्रणालीलाई स्वस्थ र तन्दुरुस्त राखिराख्ने यसको मूल उद्देश्य हो।

त्यसैगरी उनीहरू दिनमा तीन कप ‘ग्रिन’ चिया पिउँछन् र ‘सिकुवासा’ फल खान्छन्। सिकुवासा नामको मौसमजस्तै फल त्यहाँको स्थानीय उत्पादन हो। यसमा ‘नोबिलेटिन’ हुन्छ, जसमा एन्टी-अक्सिडेन्ट पाइन्छ। ‘साइट्स’ फलभन्दा चालीस गुणा यसमा नोबिलेटिन हुन्छ। जुन क्यान्सर, डाइबिटिज, ओबेसिटी आदिलाई अत्यन्त लाभदायक हुन्छ भनेर पुस्तकमा उल्लेख छ।

निष्कर्ष

पुस्तकमा विश्वका दीर्घजीवीहरूको लामो समय जिउनुको रहस्य भनेर जापानीहरूको रहनसहन, काम गर्ने शैली, खानपान आदिलाई प्रस्तुत गरिएको छ। चिन्तित नहुने, मनलाई जवान राखिराख्ने, साना तर राम्रा बानीहरू बनाइराख्ने, सम्बन्धहरूलाई सुमधुर बनाउने, कुनै कामलाई अति व्यस्ततामा नगर्ने र आशावादी भइराख्ने भन्ने भेटिन्छ। त्यसैगरी धेरै/थोरैभन्दा पनि सही खानपान एवम् व्यायाममा ध्यान दिँदै कर्मशील भइराख्नुपर्छ भन्ने कुरा पनि पुस्तकले गरेको छ।

प्रकाशित: १३ आश्विन २०८० ०३:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App