१९ असार २०८१ बुधबार
image/svg+xml
कला

पत्रकारिता अनुभव एक पत्रकारको बकपत्र

पुस्तक

पत्रकार खिलध्वज थापाकृत ‘एक पत्रकारको बकपत्र’ पढ्दै गर्दा यस्तो लाग्यो-साहित्य र गैरसाहित्य भनेको के हो? आख्यान र गैरआख्यान भनेको के हो? काव्य र गैरकाव्य, निबन्ध, नियात्रा वा संस्मरण आदि के हुन्? सैद्धान्तिक विधागत परिचयका लागि संस्मरणको ‘ट्याग’ घाँटीमा झुन्याइएको यो बकपत्र किन साहित्यिक कृति होइन? किन उपन्यास, कथा, काव्य वा आख्यान आदि होइन? साहित्यमा के हुन्छ र गैरसाहित्यमा के हुँदैन? यस्तै प्रश्नहरूले चिमोटिरहे।

पत्रकारिता पनि साहित्यको पृष्ठभूमि पक्कै हो। कसैले भनेको वा सबैले मानेको यही हो-पत्रकारिता हतारको साहित्य हो।’ अग्रज पत्रकार जीवेन्द्र सिम्खडाले यो बकपत्र पढेको भए के ठाने होलान् वा अहिलेसम्म नपढेको भए अब पढेपछि के ठान्लान्? मनमा खुलदुली लागिरहेकै छ।

सिम्खडा पत्रकारिताका विद्यार्थीलाई भनिरहेका हुन्छन्–‘समाचार र इतिहासको पूर्णता प्राप्त गर्न वा पर्खिन सकिन्न। जहाँ जति प्राप्त हुन्छ, त्यहाँ त्यति नै समाचार हो र त्यही नै इतिहास हो। यसलाई समाचार र इतिहासको विधिको कसीमा जाँची सार्वजनिक गर्नु पत्रकार वा लेखक/इतिहासकारको तत्कालको कर्म हो।’ आजको समाचार र इतिहासको सत्य भोलि बदलिन पनि सक्छ तर आजको सत्य के हो, थाहा पाउनुपर्छ।

‘एक पत्रकारको बकपत्र’ पनि यस्तै एउटा दस्ताबेज हो, जहाँ समाचारका अनेक दृष्टान्त र इतिहासका अनेक झिल्का देखिएका छन्। कालिगडले तिनलाई समाचार र इतिहासको कसीको विधिमा जाँच्न सक्नुपर्छ।

२०२२–२३ सालतिरबाट नेपाली पत्रिकामा फुटकर लेखहरू लेख्न सुरु गरेका थापाले पहिलोपटक २०२४–२५ मा प्रकाशित आफ्नो रचनाबापतको २५ रूपैयाँ पारिश्रमिक प्राप्त गरेका रहेछन्। जुन रकम उनलाई काठमाडौंको एक महिनाको घर बहालका लागि पुगेको थियो।

भारतीय सैनिक पल्टन प्रवेशको प्रयासका साथै अन्य सरकारी जागिरको अवसर त्यागेर कम तलबसुविधा भए पनि सरकारी पत्रकारितामा होमिएका थिए थापा। पत्रकार थापा करिब ६ दशक लामो नेपालको कुना कन्दरादेखि राजधानीका महल र गल्लीका आँखोदेखा गबाह हुन्। विद्यार्थीका अतिरिक्त काठमाडौं केन्द्रित राजनीति, पत्रकारिता, साहित्य, सामाजिक जीवनका भोगाइ र अनुभव उनको बकपत्रका कोसेली हुन्।

बागलुङमा २००५ चैत ५ गते जन्मेका थापा २०२३ मा तानसेनको जनता हाइस्कुलबाट एसएलसी पास गरेर राजधानी छिरेका थिए। एक ग्रामीण युवाले देखेको सपना, भोगेको जीवन, गरेको सङ्गत, प्राप्त गरेको अनुभवलाई पत्रकार थापाले उनकै शब्दमा बिस्कुन सुकाइदिएका छन्। त्यो बिस्कुनबाट पाठकले आआफ्ना रुचि र क्षमताअनुसारका सामग्री खोज्न सक्छन्।

जीवनका साढे सात दशकको आफ्नो ज्ञान र सिपको अनुभव थापाले निसङ्कोच र निर्धक्क सार्वजनिक गरेका छन् एक पत्रकारको बकपत्रमार्फत्। यो बकपत्र एक पुण्य दान नै हो पाठक र नयाँ पुस्ताका लागि। यसमा उनले कालक्रमलाई भने ख्याल गरेको देखिँदैन। युद्ध जितेर फर्केको लाहुरेले घरको पिँढीमा बसेर हुक्का तान्दै नाति–पुस्तालाई मनमौजी सुनाएको कथाजस्तो पात्र र प्रवृत्तिलाई उनले बेपर्बाह बोल्ने मौका दिएका छन्।

भनिन्छ, साहित्य भनेको लेखकको स्वैरकल्पना मात्र हो तर साहित्य स्वैरकल्पना मात्र हो भने पनि त्यो कल्पना चाहीं लेखक कविहरूमा कहाँबाट आउँछ त? साहित्य स्वैरकल्पना मात्र होइन है। यो मानिसको व्यक्तिगत र सामाजिक जीवनको दैनन्दिनी पनि हो। यसो पनि धेरैले भनेका छन्। नेपाली साहित्यका सन्दर्भमा बिपी कोइरालाले पनि यो स्विकारेका छन्।

अब त साहित्यको त्यो परिभाषा धेरै पुरानो भइसक्यो। साहित्यमा हिजो लेखिने पात्रहरू अब प्रविधिका माध्यममा पाठकहरूसँग ‘इन पर्सन’ अर्थात् ‘लाइभ कन्भर्सेसन’ गर्न तयार छन्। हिजोका साहित्यमा लेखकको छनौटमा हुने नायकत्व अब स्वयम् पात्रको रुचि र क्षमतामा निर्भर हुन थालेको छ।

अबको पाठकको रुचि एकल नायकत्वमा छैन। ‘एक पत्रकारको बकपत्र’ पत्रकार थापाको बयानमा बगेको वाग्मतीको पानीजस्तै समकालीन नेपाली राजनीतिलाई छोएर बगेको नेपाली पत्रकारिताको एउटा प्रवाह पनि हो। स्वैरकल्पनामा आधारित भनिएको साहित्यमा चाहिँ हुन्छ के त? तिनमा पनि अमुक र अनाम पात्रका नाममा कतै कसैसँग मेल खाएमा यो संयोग मात्र हो भन्दै एउटा लेखकले कि त आफ्नै, कि घरपरिवार र आफ्नै साथीहरूकै वा कुनै छिमेकीको कथाव्यथा, इतिहास, भूगोल र जीवनी लेखिरहेको हुन्छ।

अब ती पात्र नै म यो हुँ र त्यो हुँ भनेर बोल्न थालेका छन् पाठकसँग। अबको साहित्यमा स्वैरकल्पनाका लेखकहरूको एकल वा तिलस्मी नायकी पछि पर्ने देखिन्छ। खिलध्वज थापाकृत ‘एक पत्रकारको बकपत्र’ यस मार्गको उदाहरण हो।

जब कथाका जीवन्त पात्र नै बोल्न थाल्छन् भने ध्रुवचन्द्र गौतमको कट्टेल सरको चोटपटक, विपी कोइरालाको मोदिआइनजस्ता कृतिको आडभरोसा लिएर लेखकहरूले कुनामा बसेर समाजलाई किन जिस्काउनु र किन आफू तर्सिएर कुनामा लुकेर बस्नुपर्‍यो र अब? खिलध्वज थापा आफ्नो साढे सात दशक लामो जीवन यात्रा सुनाइरहेछन् पाठकलाई-यो जहाँ जो जससँग जे जसरी मिल्न सक्छ, त्यसरी नै मिलोस्। उनको बकपत्रमा लेखिएको छैन-‘कसैसँग मिल्न गएमा यो संयोग मात्र हो, यी सबै काल्पनिक पात्र हुन्।’

यो पङ्क्तिकारको सरुभक्त, अमर न्यौपाने वा सुनिल पोख्रेलहरूलाई सिफारिस छ–दरबारका अमुक नायक वा विदेशी साहित्यका अनाम पात्रमा कति प्राण भर्ने? खिलध्वज थापाको बकपत्रलाई साहित्यको विधागत साँचोमा हालेर खलाँती चलाएर त हेरौं, कस्तो हतियार बन्न सक्छ? अनि पो थाहा हुन्छ, हाम्रो समाज कस्तो छ र हामी कहाँ छौं !’

साहित्य र गैरसाहित्यको परिभाषाबारेमा माथि पनि चर्चा वा प्रश्न गरिएको छ। मानौं, स्वैरकल्पना वा काल्पनिक पात्रको सहारा साहित्य हो। यदि कसैले यथार्थ यही नै हो र यसको नायक पात्र म नै हुँ भन्यो भने त्यो के हुन्छ?

समय, विज्ञान र प्रविधिको विकासले अभिव्यक्तिका माध्यम अनेक छन् र ती बदलिरहेका छन्। ती माध्यममा पात्रहरू जो जहाँ जसरी भेटिन्छन्, पाठक, दर्शक वा स्रोतासँग सस्वर आफ्नै अभिनयमा प्रकट हुन थालेका छन्। अब विज्ञान प्रविधिको विकास र प्रयोगका आधारमा साहित्यको परिभाषा मात्र होइन, तिनका पात्रको चरित्र र नायकीमा पनि परिवर्तन हुनु स्वाभाविक छ। यो स्वाभाविक यात्राका सहजकर्ता हुन्–खिलध्वज थापा।

कृति परिचय वा समीक्षाका नाममा हामीले पनि लेखक र पाठकलाई एकआपसमा मिल्न वा भेट्न नदिएर अन्याय गरिरहेका छौं। त्यसैले अब कृति परिचय वा समीक्षा–लेखकले पनि आफ्नो शैली बदल्नुपर्छ।

कृति परिचय वा समीक्षामा कृतिको सारांश वा प्राथमिकताका विषयहरूको चर्चा पढेपछि पाठकलाई त्यो कृति पढ्न पर्ने नहुन सक्छ। यो पङ्क्तिकारको ध्येय लेखक र पाठकको सम्बन्धलाई टाढा बनाउने होइन, नजिक बनाउने र जोड्ने हो। त्यसैले कृतिका बारेमा भन्नुपर्दा अहिले यति मात्र पर्दा खोलौं-खिलध्वज थापाकृत ‘एक पत्रकारको बकपत्र’ पठनीय छ।

सरकारी समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) का प्रधान सम्पादक थापा ३० वर्षको सेवापछि निवृत भएका हुन्। सरकारी सेवामा रहँदा वा त्यसपछि व्यावसायिक सञ्चार माध्यामहरूमा काम गर्दाका अनेक रोचक अनुभव, तितामिठा स्मृति, गलत समाचारका प्रभाव र परिणाम, तत्कालीन समयमा सञ्चार सुविधाको अवस्थाको चित्रण बकपत्रमा समेटिएको छ। 

प्रकाशित: ३० भाद्र २०८० ०२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App