७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

हारेकी नम्रता उर्फ कमरेड सिमाना

कथा

बिर्तामोडको व्यस्त सडक। धुवाँ-धुलो, होहल्ला अनि भागदौड। चारआली ब्यारेकमा भूतपूर्व सैनिक सम्मेलनमा सहभागिता जनाउन मेरा श्रीमान् र म दुर्गा मन्दिरअगाडि गाडी पर्खिरहेका थियौं। दुर्गा मन्दिरतिर यसो हेर्छु, भिडभाड छ। मलाई उत्सुकता जाग्यो।

‘के भएको रहेछ?’ मैले कसैलाई सोधें।

‘खै एउटी पागल लडिरहेकी छे।’

मनमा कस्तो कस्तो भयो। भिडलाई पन्छाउँदै अगाडि हेरें, सपनाजस्तो लाग्यो। उनी त मेरी बालसखा नम्रता थिइन्। एकदमै कमजोर अवस्थामा मन्दिरको भित्तामा अडेस लगाएर बसिरहेकी थिइन्।

‘यो बिर्तामोड भिखारी र पागलहरूको पेवाजस्तै भइसक्यो,’ भिडमा कोही बोल्दै थियो।

मलाई नमजा लाग्यो र भने, ‘उनी पागल होइनन्।’

‘को हो? चिन्नुहुन्छ?’

‘तिमी कसरी चिन्छ्यौ र सानी?’ श्रीमान्ले आश्चर्य मान्दै सोध्नुभयो।

‘मेरो साथी हुन् नि, जनयुद्धकी लडाकु थिइन्।’

‘बिचरी !’

‘ए माओवादी पो रै’छे। पापीहरू पहिले त मन्दिर भत्काउँदै हिँड्थे। हेर, अहिले सिर अड्याउन त मन्दिरकै शरण पर्नुपर्दो रहेछ,’ एउटा प्रतिक्रिया आयो भिडबाट।

‘अरूलाई लुटेको–मारेको पाप लागेको !’ मान्छेलाई बोल्न कति चाँडै आउँछ।

भिडको प्रतिक्रियाले मलाई नमज्जा लाग्यो। मैले उनको परिचय नदिनुपर्ने रहेछ तर भिडले उनलाई पागल भनेको मैले सहनै सकिनँ।

‘युद्ध लडाउनेहरू कहाँबाट कहाँ पुगे? यी लड्नेहरू यहाँ यस्तो हालतमा बिचरा !’

‘यस्तो गर्मीमा कहाँ हिँडेकी होलिन्?’

म उनलाई हेर्छु-नकोरिएका कपाल, गडेका आँखा तर चिम्म गरेकी थिइन्। शरीरमा हाडछालाबाहेक केही थिएन। घाँटीमा एक लुङ पोते, नाडीमा रङ उड्न लागेको पुरानो रातो चुरा, नाकमा फुली, सिउँदोमा मेटिन लागेको सिन्दुर, सुकेका ओठ। हृदय भारी भयो त्यो दृश्यले।

छेउमा सानो हाते ब्याग अनि पानीको बोतल। बाल्यकालको साथीलाई त्यो रूपमा देख्नुपर्ला भन्ने कहिल्यै सोचेकी थिइनँ। उनको त्यो अवस्था देखेर आँसुले आँखा भरिएर आयो। उनले गर्ने गरेका परिवर्तन र समानताका चर्का भाषण सम्झिएँ। त्यो बेलाको उनको मुहारको चमक सम्झिएँ अनि त्यहाँ आँखा चिम्लेर मन्दिरको भित्तामा अडेस लगाएर बसेकी नम्रता (कमरेड सिमाना)लाई हेरें। समयले मान्छेलाई कहाँबाट कहाँ पुर्‍याउने रहेछ, जिन्दगी के नै पो रहेछ र?

मैले उनलाई त्यहाँ बेवारिसे अवस्थामा छोडेर हिँड्न सकिनँ। श्रीमान् एक्लै ब्यारेकतर्फ लाग्नुभयो। उहाँले मलाई सँगै कार्यक्रममा जाऊँ भन्न सक्नुभएन। म उनको नजिक गएँ। सबै रमिता हेर्दै थिए।

‘नम्रता !’ मैले उनलाई बोलाएँ। कुनै प्रतिक्रिया दिइनन्।

‘मरेकी त होइनन्?’ कसैले भने।

‘हत् ! त्यस्तो नबोल्नु न हउ,’ मैले भनें।

‘नम्रता ! म सानी।’ उनलाई झकझकाउँदै बोलाएँ। बल्ल आँखा खोलिन् अनि मलाई एकैछिन नियालेर थोरै हाँसेर भनिन्, ‘सानी ! हेर न, म त गाडी लागेर निदाएछु।’

उनले आफ्नो वरिपरि भिड देखेपछि अलि असहज मानेर लजाएजस्तो गरिन्।

‘समय र परिस्थितिले सद्दे मान्छेलाई पनि पागल करार गरिदिने रहेछ सानी। दुनियाँले मलाई पागल बनाउन लागिसक्यो।’

‘तँ कहाँ हिँडेकी? यस्तो अवस्थामा? कहाँ थिइस्?’

‘मेरो त जिन्दगी बर्बाद भयो सानी,’ उनले आँखाभरि आँसु पारेर भनिन्।

मलाई त्यो अवस्थामा त्यहाँ नम्रतालाई राखिरहन मन लागेन। मेरो बाल्यकालको साथीलाई रमिता बनाउन मनले मानेन।

‘भो घरमा बसेर कुरा गरौंला।’

उनले अलि अप्ठ्यारो मानेजस्तो गरिन्। मैले हात तानेर अटो चढाएँ अनि घर लिएर आएँ। बाटाभरि केही बोलिनन्। म पनि चुपचाप थिएँ। घर पुगेर उनलाई नुहाउन लगाएँ।

दाल-तरकारी त फ्रिजमा थियो। म भात पकाउन लागें। उनले नुहाएपछि मेरा कपडा फेर्न दिएँ। मैले नम्रतालाई केही सोधिनँ। पहिला खाना खुवाउनु थियो। कति दिनदेखि नखाएकीजस्ती लाग्दै थिइन्। म उनको पुरानो च्यातिन लागेको झोला हेर्छु। आफैलाई पीडा भएकोजस्तो लाग्छ। विगतका धेरै कुराको याद आयो। हाम्रो बाल्यकाल अनि किशोरावस्थाका दिन सम्झें। १० कक्षा पढ्दापढ्दै उनी देशमा भएको सशस्त्र युद्धमा सामेल भएर हिँडेकी थिइन्।

कसरी घर छोडेर हिँडिन्? किन हिँडिन्? केका लागि हिँडिन्? यस्तै प्रश्न धेरै दिनसम्म मेरो मनमा खेलिरहन्थ्यो। दिन बित्दै गए। गाउँमा आमाहरू त्रसित हुनुहुन्थ्यो। नम्रताको पछि लागेर सायद हामी उनका साथीहरू पनि हिँड्छौ भनेर होला। मेरी आमा त भरसक मैसँग स्कुल पनि जान्छुझैं गर्नुहुन्थ्यो मेरो गार्ड बस्न। आखिर आमाहरूको मन नै यति कमजोर हुने रहेछ। सन्तान भनेपछि मर्न पनि तयार हुने !

‘हेर नानी, तैंले मलाई छोडेर गइस् भने म त मर्छु,’ मेरी आमा सधैंभरि मलाई रुँदै सम्झाउनु हुन्थ्यो। म उहाँलाई विश्वस्त पार्थें कि कहिले छोडेर जान्नँ भनेर। महिनौंपछि एकदिन साँझमा नम्रता र उनका केही साथी हाम्रो घरमा आएका थिए। मलाई एकप्रकारले ढुक्क लागेको थियोे नम्रतालाई सकुशल देखेर तर घरमा सबै जना डरले स्तब्ध थियौं।

हामीलाई माओवादी र सरकारी फौज नै मृत्युको अर्को रूप लाग्थ्यो। हामी गाईगोठको काम सकेर चुला वरिपरि बसेर भात खाने तयारीमा थियौं। उनीहरूले भात खाने भनेपछि आमाले चुपचाप भात पस्किदिनुभएको थियोे। घरमा त्यसबेला बिजुलीको सुविधा थिएन। बन्द, हडतालले बजारमा मट्टीतेल पनि पाउन छोडेको थियोे। त्यसैले हामी दिउँसै बाँसका भाटा बनाएर राख्ने गथ्र्यौं अनि रातमा बाँसका भाटा बालेर बस्थ्यौं, खान्थ्यौं, पढ्थ्यौं।

उनीहरू भात खाएर अँध्यारोमा हराएका थिए। गाउँ प्रायः साँझमा नै सुनसान हुन्थ्यो। पूरै गाउँमा सन्नाटा छाउँथ्यो।

मेरा बाबाआमाको ओठ सुकेको थियो। आमाले हत्तपत्त मलाई छातीमा टाँस्नुभएको थियोे। थररर काँपेका बाबाको हातगोडा आगोको लप्कामा मैले देखेकी थिएँ। दाजुलाई आमाले कोठामा नै थुनिदिनुभएको थियो।

बाबाले लामो सास फेरेर भन्नुभयो, ‘यो नम्रताले हामीलाई सुखले बाँच्न नदिने भई।’

मेरो मुटु चिसो भयो।

‘धेरै नबोल तिमी,’ आमाले बिस्तारै बाबालाई सम्झाउँदै हुनुहुन्थ्यो। हामी त्यो रात भात नखाई सुतेका थियौं। हाम्रा बाबाआमा दाजु र मलाई आँखाअगाडि देखेपछि अलिकति ढुक्कले सास फेर्नुहुन्थ्यो। सन्तानको माया भनेको बाबाआमाका लागि मृगतृष्णा रहेछ। आज आफू आमा बनेपछि थाहा पाउँदै छु। संकटकालीन अवस्था को कतिखेर मारिन्छन्? थाहै हुँदैनथ्यो। रेडियो सुन्दा बन्द, आगजनी, हत्या र भिडन्तका समाचार मात्रै सुनिन्थ्यो। कतै उत्साह र आशा थिएन।

साँझ परेपछि माओवादीको डर, बिहानपख सेनाको डर। बिहान घरमाथिको डाँडामा सेना देख्दा हाम्रो ओठ–तालु सुक्थ्यो। हामी सर्वसाधारण दुवैतर्फबाट असुरक्षित थियौं। ठाउँ हुनेहरू त गाउँबाट भागेर हिँडिसकेका थिए। हाम्रो त भागेर जाने ठाउँ पनि थिएन। थोरै खेती, दुईचार माउ गाई, अलिकति चियाखेती अनि सानो घर, हाम्रो संसार भन्नु यति नै थियो।

बाबा भन्नुहुन्थ्यो, ‘शान्तिसँग दुई गाँस भात खाएर सुत्न पाएको दिन कस्तो हुन्छ होला?’

म निरास भएर बाबाको मुहार अनि फुल्दै गरेको कपाल हेर्थें। लाग्थ्यो, मेरो बसमा समय र परिस्थिति भइदिए म बाबाले खोजेको शान्ति ल्याइदिन्थें। आमा सधैंभरि चुलाको छेउमा झोक्राइरहनुहुन्थ्यो। पिलपिल रुन खोजेका आँखा बाँसको भाटा बल्दै गरेको आगोको लप्कामा प्रस्ट देख्थें। सन्तान बचाउन हो या गरिबीको मारले हो, बाबाले दाजुलाई विदेश पठाइसक्नुभएको थियोे। जीवनको सहारा माओवादीले लैजान्छ भन्ने कत्रो पिर थियो बाबालाई।

मलाई पनि बेलाबखत डर लाग्थ्यो तर म समयसँग हातेमालो गर्न कटिबद्ध थिएँ। म बाबाआमाको आँखाअगाडि उभिएपछि उहाँहरूको आँखामा चमक छाउँथ्यो। नम्रता र साथीहरूको गाउँमा आउने क्रम चलिरहेको थियो। गाउँमा नम्रताप्रति सबै असन्तुष्ट थिए तर कसैले केही भन्न सक्ने अवस्था थिएन।

सबैको बुझाइमा गाउँमा माओवादी आएकै उनको कारणले हो भन्थे। म एसएलसी दिएर बसेकी थिएँ। रिजल्टको पर्खाइमा थिएँ। नम्रतासँग भेट नभएको पनि धेरै भइसकेको थियोे। यसैबिचमा उनले धनकुटाको पार्टीकै केटासँग बिहे गरिन् भन्ने खबर सुन्यौं।

‘गतिछाडाहरू !’ गाउँमा यसै भन्थे।

मैले पनि बिस्तारै नम्रतालाई भुल्दै गएँ। पढाइलाई अघि बढाउदै थिएँ।

आफूसँग छुटेर जानेहरूलाई भुल्नै पर्दोरहेछ।

देशमा राजनीतिक सहजता भइसकेको थियो। जनआन्दोलन–२ पश्चात् नम्रताहरू खुला राजनीतिमा आइसकेका थिए।

मलाई यसमा कुनै चासो थिएन। समय बितिरहेको थियो। मेरो बिहे भइसकेको थियोे भने नम्रताको खबर बेला बेला सुन्थें माइतीघर गएका बेला।

‘दुःख पाएकी छ रे...’

‘लोग्ने एक नम्बरको जँड्याहा छ रे।’

अलिकति नमिठो त लाग्थ्यो नै। आफ्नो आफ्नो भाग्य आफैसँग तर साथी हो, माया लाग्थ्यो। उनीसँग सम्पर्क नभएको पनि ७–८ वर्ष भइसकेको थियो।

‘साह्रै दुःख पाएकी रहिछ। हड्डी र छाला मात्रै भएको शरीर लिएर आएकी थिई,’ पछिल्लो भेटमा आमाले भन्नुभएको थियो।

‘के कारणले रहेछ आमा?’

‘खै, लोग्नेले बाहिर अर्की राखेको छ रे। छोराछोरी छैनन् भनेर साह्रै हेलाँ गर्छ रे। अभागिनी रहिछे।’

मेरो आँखामा आइतबारे चोकमा न्याय, स्वतन्त्रता र मुक्तिको भाषण गर्दै गरेकी उज्याली, दृढ संकल्प बोकेर सयौंको भिडमा मुट्ठी उठाउँदै बोलिरहेकी नम्रता मात्रै नाँचिरहन्थिन्। नम्रताको बजारमा भाषण सुनेको दिन म घरमा पुगेर रोएकी थिएँ आरिसले।

गाउँलेहरू पनि छक्क परेका थिए र प्रशंसा गरेका थिए तर समयले बिस्तारै रङ फेर्दै गयो। समयसँगै नम्रताको जीवनको पनि रङ फेरिँदै गएको थियोे भन्ने खबर सुन्थें।

आज १० वर्षपछि दयनीय अवस्थामा मैले नम्रतालाई भेटेकी थिएँ। उनलाई भेटेपछि हृदय भारी भएको थियोे। नुहाएर बाथरुमबाट अलिकति हाँस्दै निस्केकी नम्रतालाई हेर्छु, रुन मन लाग्छ। उनको यो अवस्था कसरी भयो? सोध्न पनि सकिरहेकी थिइनँ। टेबलमा बसेर अलिकति भात खाइन्। म उनीसँग बोल्नै सकिरहेकी थिइनँ। नम्रतालाई पनि अलि असहज भएजस्तो लाग्यो।

‘तँ यत्रो वर्ष कहाँ थिइस्?’

‘कहाँ थिएँ सानी कहाँ?’

‘के भएर यस्तो भयो? यो गतिमा कहाँ हिँडेकी?’

‘मलाई मेरै सपनाहरूले उठ्नै नसक्ने गरी पछार्‍यो। सबै छुट्यो मदेखि। यति ठुलो संसारमा म आज एक्लो भएँ,’ नम्रताले आँखा पुछ्दै भनिन्।

‘म यी सबै कुरा दोहोर्‍याएँ। तँलाई दुःखी बनाउन चाहेकी होइन तर तेरो यो हालत देखेर मलाई गाह्रो भयो नम्रता। हिजो त्यत्रो राज्य व्यवस्थासँग लड्ने तैंले किन आफैसँग हार मानिस्?’

‘सानी सबैभन्दा ठुलो लडाइँ त आफैसँग र आफ्नैसँग लड्नुपर्ने रहेछ। खै, सबै जितेर पनि आफैसँग हारेर एक्लो भएँ। आफैसँग र आफ्नैसँग हारेपछि सबै जित जितजस्तो उल्लासमय नहुँदा रहेछन्। देखेको सपना र भोगेको बिपनाबिच धेरै ठुलो खाडल हुँदोरहेछ। म त्यही खाडलभित्र पुरिन लाग्दै छु सानी,’ नम्रताले रुँदै भनिन्।

‘अरूको अधिकारका लागि बोल्दै हिँड्ने तँ आज कसरी निरीह भइस्? आफ्ना लागि किन बोल्न सकिनस्? किन लड्न सकिनस्?’

‘म आफैको आफै नरहेपछि, म हुनुको औचित्य नै कहीं नभएपछि कोसँग साथ मागौं? कोसँग केका लागि लडौं? मैले सबै हराएँ सानी, सबै गुमाएँ। अब एकपटक आमालाई हेर्नु छ, आमाको काखमा रुन हिँडेकी म, कहिले खुसी र सुख नदिएकी एउटी छोरी फेरि आमालाई रुवाउन जाँदै छु भनेर सोच्दा पनि आफैप्रति बेस्सरी ग्लानिको अनुभूति भएको छ। मैले कसैलाई अलिकति पनि खुसी दिन सकिनँ, विषेशगरी आमालाई !’

‘नहुने कुरा नगर्, फेरि जिन्दगी शून्यबाट सुरु गर्न सक्छेस्। हरेस नखा। हेर्, दुनियाँमा तँजस्तै पीडामा रहेका नारीहरू कति होलान्? उनीहरूका लागि केही गर्न सक्छेस्, म पनि सकेको सहयोग गर्छु। अरूलाई पनि भनौंला। अब धेरै सहयोग त गर्न सक्दिनँ। हेर्, हामी मानव जीवनको औचित्य धेरै छ। हिजो पनि तँ अरूकै लागि बाँचेको मान्छे, अब पनि अरूकै लागि बाँचेर हेर त केही समय। एकातिर भत्के पनि अर्कोतिर बाटो खुल्छ नि नम्रता,’ म नम्रताको चिसो हात समातेर भन्छु।

‘सकियो सानी, मनै मरिसक्यो। तर, हेर न, मन मरे पनि सास चलिरहेको छ।’

म निःशब्द भएँ।

‘सानी, मान्छेको जिन्दगीले कति खेर, कहाँ, कस्तो मोड लिने रहेछ थाहै नहुने। एकचोटि आमालाई हेर्न मन छ, अरू केही छैन !’

फेरि दुवै आँखा पुछिन् नम्रताले।

‘आमालाई भेटेर आइज अनि केही सर सल्लाह गरौंला।’

‘तेरो पनि घरपरिवार छ, सामाजिक रीतिरिवाज छ। तेरो आफ्नै बन्धन छ कर्तव्य, माया र बाध्यताको। त्यो चुँडाल्ने प्रयास गरिस् भने जिन्दगीको लय नै बिग्रन्छ सानी। मायाबाहेक केही नगर् मलाई। त्यो दुस्साहसले आज मेरो यो हालत भएको छ। मलाई मेरै हालतमा छोडिदे। म कसैको बोझ बन्न चाहन्नँ।’

‘मलाई धेरै नसिका है, बढी जान्ने न हो,’ मैले यति भनेपछि डाँको छोडेर बल्ल रोइन् नम्रता मलाई अँगालो हालेर।

मेरो मुटु चर्किएजस्तो लाग्यो।

‘मैले मेरो जिन्दगीसँग हारें सानी।’

म चुपचाप उसको काँधमा स्नेहले थपथपाइरहन्छु। मान्छेलाई डाँको छोडेर रुन पनि कसैको काँध चाहिने रहेछ।

सारै चित्त फाट्ने गरी रोइन् नम्रता। मेरा पनि आँखा रसाए। छि ! छोरी मान्छेको जुनी !

०००

‘समर मलाई यस्तो व्यवहार किन गर्नुहुन्छ? मैले केही गल्ती गरेकी छु जस्तो त लाग्दैन। तपाईंसँग थाकिसकें,’ नम्रताले श्रीमान्लाई सम्झाउँदै भनिन्।

‘बढी गनगन नगरी बस्। एकछिन शान्तिसँग बस्न दिने होइन यो आइमाईले। थुतुनो भत्किने गरिभेट्लिस्,’ रिसाउँदै बोल्यो समर।

‘तपाईं सधैंभरि यसरी बोल्नुहुन्छ। तपाईं यस्तो त हुनुहुन्नथ्यो।’

‘तैंले बनाइस् मलाई।’

‘राम्रो मुखले भन्नू न यही कुरा। किन सधैंभरि झैझगडा गर्नुहुन्छ?’

‘भन्दै छु, मलाई रिस नउठा।’

‘के गर्नुहुन्छ? मार्नुहुन्छ?’

‘चुप लागेर बस् थान्कोमा। भन्दै छु, मर्लिस् मेरो हातबाट,’ रिसले दाह्रा किट्दै बोल्यो समर।

तल्लो माथिल्लो घरका झ्याल, फूलको झाङमा छलिएर रमिता हेर्दै थिएँ।

‘एक दिन होइन, दुई दिन होइन, सधैंभरि सहनुभन्दा बरु मारिदिनु मलाई। किन दुनियाँलाई रमिता देखाउनुहुन्छ?’

‘तँलाई मारेर जेल जानु छैन मलाई, बुझिस्,’ रिसले हातमा भएको गिलास फाल्दै बोल्यो समर।

स्टिलको गिलास ढुंगामा ठोक्किएको आवाज आयो। नम्रता डरले झसङ्ग भइन्।

समरलाई कुनै निहुँ चाहिँदैनथ्योे नम्रतालाई कुट्न। असफलता, असक्षमता नम्रतालाई कुटेर ढाक्ने प्रयास गथ्र्यो। स्वास्नी कुटेर ऊ पुरुषार्थ देखाउँथ्यो।

‘म कस्ती थिएँ, त्यो तपाईंलाई भन्दा बढी कसलाई थाहा छ र समर?’

‘बढी नकरा बाँझी आइमाई !’ सधैंझैं तथानाम बोल्न थाल्यो समर।

फेरि यही वचनले मरिन् नम्रता।

‘मलाई किन यस्तो वचन लगाउनुहुन्छ ? मेरो के दोष ? जे मन लाग्यो त्यही नबोल्नु न प्लिज,’ नम्रता रुन थालिन्। एक्कासी बाँसको भाटा उठाएर समरले नम्रताको शरीरमा हिर्कायो।

‘म मरिसकेको मान्छेलाई कति मार्नुहुन्छ ? म तपाईंको केही लाग्दिनँ ? तपाईं यस्तो हुनुहुन्थ्यो ?’ लाचार भएर बसिरहिन् नम्रता।

समरले कपालमा समातेर लात्तै लात्ताले शरीरमा जताततै हान्न थाल्यो।

नम्रता प्रतिकार गर्न नसकी भुइँमा लडिरहिन्।

‘साला वेश्या !’ मेरो जिन्दगी बरबाद गरेर पुगेन? बैंस भइन्जेल दुनियाँसँग मोजमस्ती गरिस्, जब कसैले पत्याउन छोडे अनि म सोझोलाई फसाइस्। तेरो रङलीला मलाई थाहा नभएको हो र? पार्टीमा हिँड्दा केके गरिस्, मलाई थाहा छैन र?’ सीमा नराखी बोलिरहेको थियो समर।

समरको कुटाइले बेहोस्जस्तै भइसकेकी थिइन् नम्रता।

समरको लात्तीले भन्दा वचनले धेरै दुख्थिन् उनी। सधैंको कुटाइले शरीर मरिसकेको थियो, वचनले मन !

पल्लो घरको दाइ आएर समरलाई छुट्याए। भाउजूले नम्रतालाई उठाएर सिकुवामा राखिन्। नम्रताको टाउको फुटेर जिउ रगताम्मे भएको थियोे।

‘कति झगडा गर्छस् साहिँला ? बुहारीलाई कस्तरी कुट्छस् ? तँमा धर्म र पापको डर छैन ? गोरुलाई कुटेजसरी कुट्छस् एउटी स्वास्नी मान्छेलाई ? अति भयो, यो हामी देख्नेलाई त यति दुख्छ, त्यो बुहारीलाई कति दुख्छ ? यसपालि तँलाई पुलिसको जिम्मा नलाई भएन। यहाँ तिमीहरू मारामार गरेर मरेपछि हामी छिमेकीलाई पो गाह्रो हुन्छ। कामकाज केही छैन, बरालियो, रक्सी खायो, घरमा आयो, स्वास्नी कुट्यो लाछी !’

छिमेकीको कुरा सुनेर रिसले फन्किएर हिँड्यो साहिँलो उर्फ कमरेड समर।

‘कस्तो फटाहा छ। राम्रो त भन्न हुँदैन। छिमेकी गतिलो नहुँदा छिमेकीलाई यति गाह्रो छ। घर छिटो आइज,’ आफ्नी श्रीमतीलाई बोलाउँदै घरतिर लागे छिमेकी दाइ।

‘सधैंभरि कति सहेर बस्छौं? यसो माइतीमा भन। पुलिसलाई भन। वार्डतिर गएर अध्यक्षलाई भन। कुन दिन यसले मार्छ साईली।’  

नम्रता केही बोलिनन्।

‘यति निरीह पनि हुनु हुँदैन। तिमी त पढेलेखेकी, त्यत्रो लडाइँ लडेको मान्छे, यस्तो कुटाइ सहेर किन बसेकी छौ ? मनै मिल्दैन भने छुट्टिएर बसे भइहाल्छ।’  

केही नबोली आँसु मात्रै झारिरहिन् नम्रताले।  

अनुहार सुनिएर डम्म भएको थियोे। लछारपछार गर्दा लुगा च्यातिएको थियो। केही बेरमा पल्लो घरकी भाउजू पनि घरतिर लागिन्।

नम्रता धेरै बेरसम्म सिकुवामा बसेर रोइरहेकी थिइन्।

समर हप्ता दिनसम्म घर आएन, नम्रता पनि हिँडडुल गर्न सक्ने भइसकेकी थिइन्। गाईवस्तुको बेहाल थियोे। एक गाँस भात नम्रतालाई पल्लो घरकाले नै दिँदै थिए।

गाईवस्तु पनि हेरिदिँदै थिए।

१०–१२ दिनपछि समर तल्लो गाउँकी रमा लिएर हिँडेको भन्ने खबर गाउँमा फैलियो। नम्रताले केही प्रतिक्रिया दिइनन्।

ढुंगालाई फुटाउँदा ऐया कहिल्यै भनेको छ र?

रमाका माइती उनीहरूलाई खोज्दै नम्रताको घरसम्म आइपुगे। रिसले आगो भएर आएका उनीहरू नम्रताको हालत देखेर हिउँजस्तै चिसो बनेर फर्किए।

नम्रतालाई त्यति धेरै पीडा भएन। समरले एकदिन यही गर्नेछ, उनलाई थाहा थियो तर जब समरले उनको चरित्रमा आंैला उठाउँथ्यो, त्यतिबेला साह्रै मन दुख्थ्यो। तर, मन दुखाउने आफ्नै थियो। गुनासो कसलाई सुनाउनु?

नम्रताले पुराना तस्बिर हेर्छिन्। नमिठोमाथि तितो थपिन्छ मनमा। आँखाबाट खसेका आँसुले ती तस्बिर मेटिएर जान लागिसकेका थिए।

हँसिलो अनुहार अनि सहयोगी कमरेड समर पार्टीको निष्ठावान् कार्यकर्ता थियो। पार्टीको काममा निरन्तर लागिरहन्थ्यो। जनतासँग घुलमिल भइहाल्ने समर इमानदार थियोे। यही गुणले नम्रता समरसँग भावनात्मक रूपले नजिक भएकी थिइन्।

पार्टीको स्वीकृतिपश्चात् जनवादी विवाह भएको थियोे। पार्टी शान्ति प्रक्रियामा फर्केपछि उनीहरू पनि घर फर्केर पार्टीकै काममा हिँडिरहेका थिए। समयले रङ फेर्दै गयो। बिस्तारै समर बदलिँदै गयो। पार्टीको विचार, सिद्धान्त, अनुशासनदेखि विमुख बन्दै गयो र पार्टीको काम सबै छोडिदियो। नम्रतालाई पनि पार्टीको काममा बन्देज लगाइदियो।

सानै कुरामा नम्रतासँग झगडा गर्न थालेको थियोे। कुनै काममा लागि पर्दैनथ्यो। त्यसै बरालिएर हिँड्थ्यो। दिनदिनै ससाना झगडामा मुछिएको हुन्थ्यो। नम्रताले समरलाई सही मार्गमा डोर्‍याउन धेरै प्रयास गरिन् तर असफल भइन् उनी। बिस्तारै समरले नम्रतामाथि हात उठाउन थालेको थियोे। सधैं चरित्रहीन भन्ने आरोप लगाउँथ्यो।

नम्रता पनि समय परिस्थितिसँग हायलकायल भइसकेकी थिइन्। पीडा पोख्ने ठाउँ, रुने ठाउँ कहीं थिएन। पार्टी, पार्टी रहेन। सहयोद्धा सहयोद्धा रहेनन्। समरमा कमरेडी मन मरिसकेको थियोे। विचार र सिद्धान्तदेखि शून्य भइसकेपछि ऊ आम मानिसजस्तो पनि थिएन। नम्रता जिउँदै मरिसकेकी थिइन्।  

आफ्ना कोही थिएनन्। माइती, मावली बिरानो भइसकेका थिए। अब त नम्रतासँग क्रान्तिका जुझारु शब्द केही थिएनन्। आँसु र रोदन मात्रै थियोे। कसैले परिवर्तनको कुरा गरे भने उनलाई अचम्म लाग्थ्यो, असम्भव लाग्थ्यो। संघर्ष र लगनशीलता भन्ने नम्रता आज भाग्य भन्दै टाउकोमा हात राखेर रुन्थिन्। उनको हँसिलो चन्द्रमाजस्तो मुहारमा ग्रहण लागिसकेको थियोे। शरीरमा हड्डी र छालाबाहेक केही थिएन। त्यो मुहार, शरीर, कपाल र हातका औंलाहरूको वर्णन गरेर कहिल्यै नथाक्ने समर नम्रताको छेउमा पर्नै छोडिसकेको थियो। बिस्तारै समर र नम्रता नदीका दुई किनाराझैं भइसकेका थिए।

हुन त नम्रतालाई रमासँगको समरको सम्बन्ध अलिअलि थाहा थियोे तर केही बाँकी नरहेपछि सम्बन्धमा उसलाई बाँधेर राख्न चाहिनन्। सम्बन्ध भत्कन कतिबेर लाग्दो रहेछ र ? कतै मन बुझाउने ठाउँ थिएन। जताततै शून्य लाग्थ्यो। आफ्ना कोही थिएनन्। सारा जिन्दगीको भारी बिसाउने चौतारी भत्किसकेको थियो। ओताउने छानो चुहिने भइसकेको थियो। आशा र विश्वास खरानी भइसकेका थिए। सबैदेखि हार मानेर नम्रता एकचोटि आमालाई हेर्न इलाम हिँडेकी थिइन्।

सबै कुरा सुनेर सानीलाई सपनाजस्तो लाग्यो। नम्रताका जस्तै उनको पनि शरीर र मन दुवै दुख्यो।

‘अब बाँकी केही छैन सानी।’

‘चुप लाग, त्यो मान्छेको करङ गन्नुपर्छ। यो देशमा कानुन छैन ? प्रशासन छैन ? त्यसलाई जेलको हावा खुवाउनुपर्छ।’

‘सानी, मनै मरेपछि सजाय र क्षतिपूर्तिको केही औचित्य रहँदैन। मलाई मन मरिसकेको समर होइन, मायालु, इमानदार, लगनशील समरको चाह छ, जुन अब असम्भव छ। आत्मा छुटिसकेपछि शरीर मात्रै साथमा भएर कुनै खुसी मिल्दैन सानी। विश्वास र आस्था मरिसकेपछि बाँकी केही रहँदैन। हामीबिचमा घृणा र तितोपन मात्रै छ। त्यसैले म ऊदेखि टाढा हुने निर्णय गरें। ऊ खुसीसाथ बाँचोस्। ऊप्रति मसँग न प्रेम छ न गुनासो। मेरालागि अब समर सम्झना मात्रै बनेर रहनेछ।’ मैले सुनिरहें, केही बोलिनँ।

‘संसार केही रहेनछ। मैले चिन्नै सकिनँ। यति ठुलो संसारमा आफ्नो भन्ने केही रहेनछ। कसैसँग केही छैन। छ त धेरै गुनासो आफ्नै मनसित मात्रै छ। अपराधी म मेरै मनको सजाय भोगिरहेकी छु। बस्, एकचोटि आमालाई भेट्न चाहन्छु। आमाको काखमा रुन चाहन्छु। बाबासँग माफी माग्न चाहन्छु सानी।’

नम्रता रोइरहेकी छिन्। म लाचार र स्तब्ध छु ।

प्रकाशित: २३ भाद्र २०८० ०२:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App