२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

‘काठमाडौं-कलिङ साहित्य महोत्सव’ आजदेखि

त्रिदिवसीय साहित्य महोत्सव ‘सूर्य नेपाल काठमाडौं-कलिङ साहित्य महोत्सव’का विभिन्न सेसनको तालिका सार्वजनिक भएको छ। आयोजक यशस्वी प्रज्ञा प्रतिष्ठान र कलिङ लिटररी फेस्टिभल (केएलएफ)ले प्रेस विज्ञप्तिमार्फत शुक्रबार (आज)देखि सुरु हुने महोत्सवमा करिब ५ दर्जन सेसन हुने बताइएको हो।

दक्षिण एसियाका नेपालसहित भारत, भुटान, बंगलादेश र श्रीलंकाका लेखक तथा कलाकार भेला हुने अन्तर्राष्ट्रिय महोत्सवमा कुल ५७ वटा सेसन रहेका छन्। यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ लिटररी फेस्टिभल (केएलएफ) भारतले संयुक्त रूपमा आयोजना गर्न लागेको महोत्सवको पहिलो दिनको पहिलो सेसनमा विवेक डेब्रोय, जगमान गुरुङ, अवधेष प्रधान र बिना पौडेलले ‘शक्ति र भक्ति-सभ्यतागत सम्बन्ध, विश्वव्यापी विचारको केन्द्र नेपाल’ शीर्षकमा छलफल गर्नेछन्। शुक्रबार बलिउड अभिनेत्री तथा लेखिका दिव्या दत्ताले आफ्नो फिल्म यात्राबारे प्रस्तुति दिँदैछन्।

महोत्सवको दोस्रो दिन अभिनेतृद्वय मनीषा कोइराला र दिव्या दत्तले ‘दक्षिण एसियाली सिनेमाका चुनौती र सम्भाव्यता’माथि अन्तक्र्रिया गर्नेछन्। सोही दिन ‘हरहर शम्भो’ गीतकी ट्रेन्डिङ गायिका अभिलिप्सा पान्डाले आफ्नो प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन दिँदै छन्। ललितपुरमा आयोजना हुँदै महोत्सवको तेस्रो दिन ललितपुरका मेयर चिरिबाबु महर्जन र रेणु दाहालसँग हुने ‘अबको कस्तो नगर?’ शीर्षकको बहसमा महोत्सवकी अध्यक्ष रञ्जना निरौलाले सहजीकरण गर्नेछिन्।

‘पहिलो संस्करणजस्तै दोस्रो संस्करणमा पनि हामीले नेपालको बृहत् साहित्यिक, सांस्कृतिक तथा आध्यात्मिक परम्पराहरूबारे विश्लेषण गर्ने र विश्वकै सोचको केन्द्रको रूपमा नेपालको यात्रालाई प्रतिविम्बित गर्ने विषयवस्तु समेटेका छौं,’ काठमाडौं केएलएफकी निर्देशक तथा यशस्वी प्रज्ञाप्रतिष्ठानकी संस्थापक रञ्जना निरौलाले भनिन्। यशस्वी प्रज्ञा प्रतिष्ठानले विभिन्न साहित्यिक र सांस्कृतिक गतिविधिलाई प्रवर्द्धन गर्दै आएको छ।

‘यो महोत्सव दक्षिण एसियाली क्षेत्रका सभ्यता, सांस्कृतिक र आध्यात्मिक संवादका साथै साहित्यिक दृष्टिकोणलाई बलियो बनाउने उद्देश्यले सुरु गरिएको हो,’ केएलएफकी संस्थापक तथा निर्देशक रश्मी रञ्जन परिडाले भनिन्, ‘दक्षिण एसियाली संवादको केन्द्रीय थलोको रूपमा स्थापित गर्दै महोत्सवले नेपाललाई विश्वव्यापी स्तरमै पहिचान दिनेछ भन्ने विश्वास लिएका छौं।’ कलिङ साहित्य महोत्सव, भारतले विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई सम्मान र प्रवर्द्धन गर्दै आएको छ।

प्रकाशित: १५ भाद्र २०८० ०१:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App