२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

एक वर्षमै आठ सय ६७ पुस्तक पढ्ने लीना

लीनाले विद्यालय बिदा हुँदा समेत पुस्तक घर लगेर पढ्ने गर्थिन

नेपालको सबैभन्दा ठूलो जलविद्युत् परियोजना कालीगण्डकी ‘ए’ को पावर हाउस जाने बाटोको नजिकै छ सत्यदेवी माध्यमिक विद्यालय। स्याङ्जाको कालीगण्डकी गाउँपालिका-५ बलामबेल्टारीमा अवस्थित उक्त विद्यालयमा कक्षा दुईमा अध्ययनरत छिन् स्थानीय लीना पाण्डे। आठ वर्षीया लीनाले एक वर्षको अवधिमा आठ सय ६७ पुस्तक पढेर सबैलाई चकित पारेकी छिन्।

२०३० सालमा स्थापना भएको विद्यालयमा बालपुस्तकालय नहुँदा साना बालबालिकामा विषयवस्तुभन्दा बाहिरका पुस्तक पढ्ने चलन थिएन। अहिले विद्यालयमा बालपुस्तकालय स्थापना भएपछि यहाँका बालबालिकामा पुस्तक पढ्ने रुचि विकास हुँदै गएको पुस्तकालयका व्यवस्थापक रुपा न्यौपानेले बताइन्।

एक वर्ष अगाडि विद्यालयमा साक्षरता कार्यक्रम लागू भएसँगै बालपुस्तकालय स्थापना भएको उनले बताए।

‘बालमैत्री पुस्तकालयमा साना कक्षाका विद्यार्थीले रमाइलारमाइला बालकथाका पुस्तक पढ्न सुरु गरेका छन्’, व्यवस्थापक न्यौपानेले भनिन्, ‘विद्यार्थीले पुस्तकालयमा मात्र नभएर आफूलाई मनपर्ने पुस्तक घरमा लगेर पनि पढ्ने बानीको विकास गरिरहेका छन्।’

उनले बालबालिकाले घरमा लगेका पुस्तक फिर्ता गर्ने क्रममा किताबभित्रका विषयवस्तु सोध्दा सही उत्तर दिने गरेको बताइन्।

यसअघि विद्यालयमा बालपुस्तकालय नहुँदा बालबालिका उमेर अनुसार बाहिरी पुस्तक पढ्नबाट वञ्चित थिए। लीनालाई पनि किताबसँग रमाउने बानी परेको थिएन। पाठ्यक्रम र पाठ्यपुस्तकमा जे छ, शिक्षकशिक्षकाले जे पढाउनुहुन्छ त्यही विषयवस्तुमा सीमित हुनुपर्ने बाध्यता थियो।

व्यवस्थापक न्यौपानेले पुस्तकालयमा विद्यार्थीले पढ्ने गरेका पुस्तकसहितको रेकर्ड आफूले राख्ने गरेको बताइन्।

‘लीनाले गएको साउनदेखि अहिले साउन मसान्तसम्म आठ सय ६७ पुस्तक पेढेको रेकर्ड छ’, उनले भनिन्। न्यौपानेका अनुसार ३ कक्षाकी कृतिका न्यौपाने र २ कक्षाकी विभा भट्टराई पनि लीनले जस्तै धेरै पुस्तक पढ्नेमा रेकर्ड राखेका छन्।

लीनाकी आमा रेनुका डुम्रेले लीनाले धेरैजसो समय बालपुस्तक पढ्नमा बिताउने गरेको बताइन्। उनले विद्यालयमा बालपुस्तकालय स्थापना भएदेखि छोरीले टिभी, मोबाइल लगायतका सामग्रीमा ध्यान दिन छोडेको बताइन्।

‘स्कुलबाट फर्केपछि गृहकार्य सकाउने पहिलो काम हो, साँझको खाना खाएपछि रंगीन बालकथा पढ्छिन्’, डुम्रेले भनिन्, ‘गृहकार्य गर्न र उनले सक्ने व्यक्तिगत सरसफाइका काम अ¥याउनु पर्दैन, घरमा पनि अनुशासित भएर अध्ययन गर्न सिकाएका हुन्छौं।’

लीनाले पुस्तकालयबाट किताब घरमै लगेर बाबाआमालाई पनि सुनाउने गरेको उनले बताइन्।

‘एकपछि अर्को किताब कस्तो होला भन्ने लागेर नयाँनयाँ किताब पढ्छु’, लीनाले भनिन्, ‘विद्यालय खुल्दा कहिल्यै पुस्तकालयका पुस्तक पढ्न छुटाउँदिन, किताब छानीछानी पढ्न पाइने, घरमा पनि लैजान पाइने भएकाले विद्यालय आउन मन लाग्छ।’

लीनाले लामो समय विद्यालय बिदा हुँदा समेत पुस्तक घरमा लगेर पढ्ने गरेको बताइन्। विद्यालयका प्रधानाध्यापक पशुपति पाण्डे ‘राजु’ ले बालमैत्री पुस्तकालय स्थापना भएपछि बालबालिकाले कसैको दबाबबिना पुस्तक पढ्न थालेको बताए।

उनले पुस्तकालयका कारण बालबालिकाको विद्यालयमा अनुपस्थित हुने दर कम हुँदै गएको समेत बताए। प्रधानाध्यापक पाण्डेले पुस्तकालयका कारण बालबालिकामा विकास भएको पढ्ने सीप र बानीमा आएको परिवर्तन देखेर खुसी लागेको बताए।

कालीगण्डकी गाउँपालिकामा ३५ सामुदायिक विद्यालय छन्। गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले यहाँका सामुदायिक विद्यालयमा २ कक्षामा अध्ययन हरेक विद्यार्थीले नेपाली सर्र पढ्न सक्ने दाबी गरे। उनले यहाँका पुस्तकालय युरोपेली मापदण्डका आधारमा सञ्चालन गरिएको बताए।

सूर्योदय क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठले यहाँका सामुदायिक विद्यालयमा क्लबले पुस्तकालय  व्यवस्थापनको काम गरिरहेको बताए।

उनले ‘रुम टु रिड’ संस्थाको सहयोगमा बालमैत्री पुस्तकालय सञ्चालन गरिएको जनाउँदै यस अभियानमा पछिल्लो समय पालिकाले पनि लगानी गरेको बताए।

विद्यालयमा रहेका पुस्तकालयको अनुगमन, रेखदेख र व्यवस्थापनका लागि १५ शिक्षकसहित दुई जना प्राविधिक टोली खटाइको उनकने भनाइ थियो।

प्रकाशित: ८ भाद्र २०८० ०८:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App