१९ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

काठमाडौं–कलिङ साहित्य महोत्सव

पद्मश्री विजेतादेखि मनीषा कोइरालासम्म

‘काठमाडौं–कलिङ साहित्य महोत्सव’मा पद्मश्री विजेताहरूदेखि मनिषा कोइरालासम्म सहभागी हुँदैछन्। आगामी भदौ १५ देखि १७ गतेसम्म राजधानीमा आयोजना हुने महोत्सवमा पद्मश्री विजेताहरू सुदर्शन पटनायक, हलधर नाग, निला माधव पाण्डा र अरूणा मोहन्तीलगायत सहभागी हुने जानकारी आयोजक कलिङ लिटररी महोत्सव (केएलएस) की संस्थापक तथा निर्देशक रश्मी रञ्जन परीडाले जानकारी दिइन्।  

दक्षिण एसियाली क्षेत्रका सभ्यता, सांस्कृतिक र आध्यात्मिक संवादका साथै साहित्यिक दृष्टिकोणलाई बलियो बनाउने उद्देश्यले सुरू हुन लागेको काठमाडौं–कलिङ साहित्य महोत्सवले नेपाललाई विश्वव्यापी स्तरमा पहिचान दिने आशा गरेका छौं,’ केएलएफकी संस्थापक तथा निर्देशक रश्मी रञ्जन परीडाले भनिन्, ‘महोत्सवमा दक्षिण एसियाका कला, साहित्य, संगीत, सिनेमा, नृत्य, कविता, पत्रकारिता, पर्यटन र राजनीतिलगायत समसामयिक विषयमा प्रस्तुति र चर्चा परिचर्चा हुनेछ।’ गत वर्षदेखि सुरू भएको काठमाडौं–कलिङ साहित्य महोत्सवको दोस्रो संस्करणमा भारतका पद्मश्री विजेताहरू सुदर्शन पटनायक, हलधर नाग, नीला माधव पाण्डा र अरूणा मोहन्तीदेखि अभिनेत्री मनीषा कोइराला, दिव्या दत्त, दिप्ती नवल र गायिका अभिलिप्सा पाण्डा सहभागी हुने उनले बताइन्।  

काठमाडौं–कलिङ साहित्य महोत्सवलाई कलिङ लिटररी महोत्सव र यशस्वी प्रज्ञा प्रतिष्ठानले संयुक्त रूपमा आयोजना गर्दैछ। शक्ति र भक्ति–सभ्यतागत सम्बध, विश्वव्यापी विचारको केन्द्र नेपाललाई केन्द्रित गरेर आयोजना हुने महोत्सवमा यसपटक १२ विधामा १२ लेखकहरूलाई यशस्वी पुस्तक पुरस्कार प्रदान गरिँदैछ। महोत्सवमा नेपाल र भारतबाहेक भुटान, बंगलादेश र श्रीलंकालगायत देशका ३ सयभन्दा बढी लेखक तथा साहित्यकारहरू सहभागी हुँदैछन्।  

महोत्सवमा भारतबाट पद्मश्री हलधर नाग, पद्मश्री सुदर्शन पटनायक, पद्मश्री नीला माधव पाण्डा, पद्मश्री अरूणा मोहन्ती, पद्मश्री अरूणा मोहन्तीजस्ता दिग्गजहरू सहभागी हुनेछन्। यस्तै प्रख्यात अभिनेत्री तथा लेखिका दिव्या दत्त, दीप्ति नवल, हरहर शम्भो फेम गायिका अभिलिप्सा पाण्डा कार्यक्रमका मुख्य आकर्षणका रूपमा रहेका छन्। बलिउड सिनेमामा अभिनय गरेर ख्याती कमाएकी अभिनेत्री मनीषा कोइराला पनि महोत्सवको अर्को आकर्षण बन्नेछिन्। मनीषाका साथमा नेपालबाट सुरक्षा पन्त, गौरी मल्ललगायत अभिनेत्रीहरू महोत्सवमा सहभागी हुँदैछन्।

महोत्सवमा भुटानका रिन्झिन रिन्झिन, श्रीलंकाका चमल सञ्जीवा, बंगलादेशका अशरफ ज्वेलदेखि नेपालका नयनराज पाण्डे, अमर न्यौपाने, अभि सुवेदी, चिरिबाबु महर्जन, गुरुराज घिमिरे, विद्या अधिकारी, सुमना श्रेष्ठ, काशीनाथ तमोट, चरीमाया तामाङ, शिवानी थापा, सीके लाल, महेशविक्रम शाह, रजनी ढकाल, गीता त्रिपाठी, मनीषा गौचन, आरती चटौत, त्रिरत्न मानन्धर, शृच्छा प्रधान, भोला रिजाल, नवराज केसी, रामेश कोइराला र हर्क साउदलगायतले विभिन्न सत्रमा वक्ताका रूपमा सभागिता जनाउनेछन्।

‘यसपटक हामीले नेपालको बृहत् साहित्यिक, सांस्कृतिक तथा आध्यात्मिक परम्पराहरूबारे विश्लेषण गर्ने र विश्वको सोच केन्द्रका रूपमा नेपालको यात्रालाई प्रतिविम्बित गर्ने विषयवस्तु समेटेका छौं,’ यशस्वी प्रज्ञा प्रतिष्ठानकी संस्थापक रञ्जना निरौलाले भनिन्, ‘यसलाई हामी दक्षिण एसियाको साहित्यिक कुम्भमेलाका रूपमा स्थापित गर्न लागि परेका छौं। दक्षिण एसियाको साहित्य र कलालाई प्रवर्धन गरिनु जरुरी भएको छ।’ यशस्वी प्रज्ञा प्रतिष्ठानले नेपालमा विभिन्न साहित्यिक र सांस्कृतिक गतिविधिलाई प्रवर्धन गरिरहेको छ।

प्रकाशित: ४ भाद्र २०८० ०१:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App