१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

नभेटिएको भेट

निबन्ध

भेट पनि कस्तो? नभेटिँदा पनि भेटिएकै जस्तो, मित्रवत् हात मिलाइरहेजस्तो, साथ नछुटेको जस्तो, देखिरहेको, भेटिरहेको, बोलिरहेको जस्तो। पुस्तौनी आफ्नै नातागोता–चिनाजानीजस्तो, अपार मायाले भरिएको र असाध्यै श्रद्धाले उनिएको मालाजस्तो। गहिरो सम्बन्धले बाँधिएजस्तो, सम्झनाको त्यही माला लगाइरहूँ जस्तो।

स्वर पनि कस्तो? हरदम सुनिरहूँ जस्तो, एक्लै एकान्तमा गुनगुनाउँदै रमाइरहूँ जस्तो। एउटा अनौठो सांगीतिक झंकार। कान र मनलाई पवित्र पारिदिने। प्रिय अनुहार र आवाजको कोमल काया–कलेवरमा हृदय आह्लादित भइदिने। नभेटिँदा पनि भेटिएको खुसी, बिछोडमा पनि सुखद मिलनको मायाप्रीति।

दृश्यमा कति सौन्दर्य र सुगन्ध, सुन्दरताको व्यञ्जन कति? भन्न नसकिने रहेछ। हेरेर नअघाइने रहेछ कहिल्यै। सुनेर नसकिने रहेछ जहिल्यै। कति मिठो साहित्य र कला। अदृश्यमा दृश्यको कति गहिरो जीवन–दर्शन। नभेटिएको भेट साँच्चै भेटिएभन्दा बढी महत्वको लाग्दोरहेछ। हर्ष र बिस्मातबीच तुलनै गर्न  नसकिने रहेछ।

हरर बास्नाले सधैं अघाइरहूँ जस्तो, सधैं मन्त्रमुग्ध भइरहूँ जस्तो, सुन्दर, शान्त, शीतल सरोवरमा सधैं रमाइरहूँ जस्तो। क्रमशः श्रुतिमाधुर्य तरंगमा तरंगिँदै तंग्रिँदै, कल्पनाको रूप–लावण्यमा लोभिँदै। परन्तु, देखिएको होइन, भेटिएको पनि छैन। चिनिएको छैन र पनि चिनिएको छ। यसरी नै दुई दिनको जिन्दगी बिताइरहूँ जस्तो, रमाइरहूँ जस्तो।

फूलहरू हुन्, फूलहरू होइनन्’ वा ‘फूलहरू हुन् झारपात होइनन्’ भनिएजस्तै। ‘नभेटिएर पनि भेटिएजस्तै, भेटिएर पनि नभेटिएजस्तै।’ कहिलेकाहीं अदृश्यमा जे देखिन्छ, दृश्यमा पनि त्यही देखिँदो रहेछ। सोचेर मात्रै नहुने, योजना बनाएर र सपना देखेर मात्र पनि केही नहुने रहेछ। अनायास भेटले अपजसभन्दा जसको भागीदार बन्ने अवसर पाउने रहेछ।

भेट पनि कस्तो? नभेटिँदा पनि भेटिएकै जस्तो, मित्रवत् हात मिलाइरहेजस्तो, साथ नछुटेको जस्तो, देखिरहेको, भेटिरहेको, बोलिरहेको जस्तो। पुस्तौनी आफ्नै नातागोता–चिनाजानीजस्तो, अपार मायाले भरिएको र असाध्यै श्रद्धाले उनिएको मालाजस्तो। गहिरो सम्बन्धले बाँधिएजस्तो, सम्झनाको त्यही माला लगाइरहूँ जस्तो।

कति असन्तोषी, कति अतृप्त मन। तृष्णाले कति व्याकुल तन। अथाह मायाका ढुकढुकी, उर्वर खुसीका उमंग, असीमित हर्षका रङ, दर्जनौं मित्रताका हात, उरुङ उरुङ मायाको आभास। अनन्त र अनुपम भावनाका नदी। तिनमा उत्पन्न अनेकौं छाल र छविका कति मादक स्वरूपहरू! तिनैमा उद्वेलित उत्पातका अनुभूति-अभिलेख। साथ, संलाप र संवादका कति प्रीतिकर भेट! रमाएर मन खुसी भेटिने अनि पवित्र मित्रता गाँसिने यहीं रहेछ।

नभेटिएको एउटा यस्तो भेट, भेटिएको भन्दा बढी खुल्दा रहेछन् खुलदुली। बिछोडका पीडा, घाउका चोटमा पनि अदृश्य मिलनका खुसीहरू। हराएर आफू यहीं भेटिने रहेछन् सबैथोक। गुमाउनु के छ र जीवनमा? पाउनुका हरेक उपलब्धी पाइला पाइलामा। भेटिनु र छुटिनुको नियमित क्रममा न भेटिनु न छुटिनुको एउटा पृथक् दर्शन। थाहा छैन, ‘नियमित आकस्मिकता’ हो कि ‘आकस्मिक नियमितता!’

भेट्नलाई समय नभए बोल्नलाई मनग्यै फुर्सद मिल्दो रहेछ। टाढा भएर के भो र, झन् नजिकै भइँदो रहेछ। आफैलाई केही थाहै नभई माया र ममता अझ प्रगाढ भई बढ्दो रहेछ। नदेखेर केही हुन्न रहेछ। टाढा कतैबाट आकाशमार्ग हुँदै कानसम्म सुस्तरी गुन्जिन आएका ध्वनि। तिनै ध्वनिका तरंग जीवनकै सर्वाधिक उत्सव बन्ने रहेछन्। आवाजको मिठासले हृदयभित्रैसम्म आत्मीयपनको आभास निम्त्याएर निकट गराउँदो रहेछ। रोक्नलाई बर्लिनको पर्खाल केही होइन। सात समुन्द्रपारि पनि टाढा हुँदैन रहेछ।

नभेटिएको एउटा यस्तो भेट, भेटिएको भन्दा बढी खुल्दा रहेछन् खुलदुली। बिछोडका पीडा, घाउका चोटमा पनि अदृश्य मिलनका खुसीहरू। हराएर आफू यहीं भेटिने रहेछन् सबैथोक।

यादका तुफानी विम्बले नै हजारौं–लाखौं दृश्य देखाइदिँदा रहेछन्। नभेटिएर पनि भेटिएको जस्तै, नदेखेर पनि देखिएको जस्तै, नजिकै साथसाथै भएजस्तै, सँगसँगै कतै गइरहेजस्तै। प्रेम, खुसी र सुखका अनुभूति मौन संवाद होइनन्। हल्लैहल्लाको घुइँचोको कुरा पनि होइन। सुनसान परिवेशको गोप्य भेट र कानेखुसी पनि होइन। छलछाम छैन, कुनै करकाप पनि होइन। भित्रैबाट प्रस्फुटित विराट आराधनाको अनुष्ठानजस्तो।

हेराहेर, देखादेखभन्दा पर मुखामुख, आमनेसामने पनि होइन। दुरी निकै टाढा, कता हो कता तर अनकन्टारबाट अप्रत्याशित हृदय–हृदयबीच साटिएको सम्बन्ध, गाँसिएको नाता, जुन अति नजिक र आत्मीय छ। उत्ताउलो, उटपट्याङ र उच्छृङ्खल होइन, सप्रेम, सुमधुर  मायाका म्वाइँहरू। शब्द–संवादका स्पर्शमा स्वतः स्पन्दित। सन्निकट संवादका रमाइला सिलसिला। मालाजस्तै गाँसिएका माया र श्रद्धाका थुंगा–थुंगा।

आहा, कतिप्रिय क्षणहरू! जो मेरा आँखाको डिलबाट अहिले भर्खरै बितेर गयो। ध्वनि–तरंगबाट जो अन्तर्ध्यान भई गयो। घण्टा र दिन त केही होइन रहेछ। क्षणभरमै कति कुरा, कति सम्झना र कति यादहरू। विगतका पाना पल्टाएर वर्तमानको अनुगमन गर्दै हेर्नु, खोज्नु र पढ्नुका मिठा मिठा पलहरू। तिनै पलमा भेटिनु जिन्दगीका रहर, रङ र रूप उद्घाटित हुनु हो।

आँखैसामु नभए पनि सामुन्ने नै भएको कल्पना। त्यही कल्पनामा डुबुल्की मार्नुको मजै अर्को हुने रहेछ। अदृश्यमा पनि दृश्यका अनेक आकृतिहरू। कहाँबाट के के मात्रै, कति धेरै कुरा आउँदा रहेछन्। बोलेर नसिद्धिने कुरा, भनेर नरित्तिने मन। समय बितेको पत्तै नहुने। कति जिज्ञासा र जवाफ? कति सुन्दर संवाद आपसमा हुँदो रहेछ।

आहा, कतिप्रिय क्षणहरू! जो मेरा आँखाको डिलबाट अहिले भर्खरै बितेर गयो। ध्वनि–तरंगबाट जो अन्तर्ध्यान भई गयो। घण्टा र दिन त केही होइन रहेछ। क्षणभरमै कति कुरा, कति सम्झना र कति यादहरू।

आफूले आफैलाई चिन्न, बुझ्न र पढ्न नसकेका बेला फर्किएर आफैभित्र हेर्दा लाग्दो रहेछ– ‘ओहो, म त अलिकति संवेदना भएको मान्छे पो हुँ।’

यसरी आफूभित्र पसेर मनन गर्नुको प्राप्ति समाप्ति होइन, प्रारम्भ हो।

बोल्नु र सुन्नुको मिठासमा घोलिएर मनहरू एकाकार भए। चिनिनु, नजिक हुनु, पढ्नु–लेख्नुको दैनन्दिनीमा जिन्दगी तिमीले आज कति आनन्दको महसुस गर्‍यौ? के तिमीले यसअघि यस्तो अनौठो भेटको कहिल्यै महसुस गरेका थियौ? भेटिएको भेट हुनु त स्वाभाविकै भयो। सायदै यस किसिमको संयोग थियो होला! तर नभेटिएको भेटको सौजन्यमा सामेल र साक्षात्कार अनुभूतिका आयामहरू अथाह हुने रहेछन्।

भावनाका चाङैचाङ। विचार-विम्बका अनगन्ती अध्याय र आस्वादनहरू।

अन्ततः चित्रको प्रकृतिजस्तै म निर्मल, निर्वस्त्र सुन्दरताका रङ र आकारमा रूपान्तरित हुन पाएर आज धन्य भएँ। नभेटिएको एउटा यस्तो भेटमा मित्रताको नयाँ परिभाषा र पाठशालाको दैलो उघ्रेको क्षण कति रमाइलो!

त्यहाँबाट देखिएको दृश्य शरद्को बिहानजस्तो, वसन्तको प्रकृति र बर्सादको हरियालीजस्तो। नभेटिएको भेट पूर्णिमाको जूनजस्तो, हिउँदको घामजत्तिकै प्यारो, कञ्चन मूलकै पानी छङछङाएर प्रवाहित भइरहेजस्तो। कति मादक, माधुर्य अनि आश्चर्य। मापन गर्न नसकिने सम्बन्धको आदिम सिलसिला।

अन्ततः चित्रको प्रकृतिजस्तै म निर्मल, निर्वस्त्र सुन्दरताका रङ र आकारमा रूपान्तरित हुन पाएर आज धन्य भएँ। नभेटिएको एउटा यस्तो भेटमा मित्रताको नयाँ परिभाषा र पाठशालाको दैलो उघ्रेको क्षण कति रमाइलो! त्यहाँबाट देखिएको दृश्य शरद्को बिहानजस्तो, वसन्तको प्रकृति र बर्सादको हरियालीजस्तो। नभेटिएको भेट पूर्णिमाको जूनजस्तो, हिउँदको घामजत्तिकै प्यारो, कञ्चन मूलकै पानी छङछङाएर प्रवाहित भइरहेजस्तो। कति मादक, माधुर्य अनि आश्चर्य। मापन गर्न नसकिने सम्बन्धको आदिम सिलसिला।

एकनास सौन्दर्यको नदी बगिरहेजस्तो, भर्खरको कोपिला, पल्लवित मुनामुजुराजस्तो। सुकोमल कलेवर, मायाले सिञ्चित बोली र व्यवहारजस्तो, हार्दिकताले ओतप्रोत भावनाका अविच्छिन्न प्रवाहजस्तो, अर्चापेको औजारजस्तै धारिलो बौद्धिकताको भण्डार बनाएजस्तो। त्यसबाट अनुभूतिका अक्षरमा जीवनको रङ घोलेजस्तो, क्यानभासमा प्रकृतिको रङ पोखेजस्तो, अथक साधनापछि वास्तविक सिर्जना अभिलिखित भएर सन्तुष्ट भएजस्तो।

नभेटिएर छुटिएको विरहले विरक्तिएको मन होइन, नभेटिएर पनि भेटिएकै जस्तो, मिठो स्वप्न–संसारको आह्लादित पलजस्तो। भेटिएर मेटिएको भेटभन्दा कति मिठो मिठो!  

प्रकाशित: २ भाद्र २०८० ०२:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App