२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

नाममा केही छ!

यस्तो पनि !

विलियम सेक्सपियरले प्रख्यात नाटक रोमियो जुलियटमा नाम ठूलो कुरा हैन, काम ठूलो हो भन्ने अर्थमा, नाममा के छ भन्ने संवाद नाटकका पात्रमार्फत बोलाएको छ। नाममा के छ भन्ने वाक्यांश अहिले पनि उत्तिकै प्रचलित छ। तर नाममा खास केही छ। नहुँदो हो त, आफ्ना सन्तानको नाम राख्न अभिभावकहरूको माथापच्ची पनि हुँदैनथ्यो होला।

अमेरिकामा अझै पनि बालबालिकाको नाम के राख्ने भन्ने पुस्तक बढी बिक्री हुनेहरूमा पर्ने गर्छ। यसबाटै पनि बुझ्न सकिन्छ, नामको माथापच्ची कम छैन। हालै स्कटल्यान्ड सरकारले वर्षभरि सबैभन्दा बढी रूचाइएका नामहरू सार्वजनिक गरेको छ। यसमा सन् २०२२ मा सबैभन्दा बढी राखिएको पुरुषको नाम नोह रहेको खुलाएको छ। दशकमै सबैभन्दा बढी लोकप्रिय नाम भने एडम रहेको बताइएको छ।

नर्थस्कटल्यान्डडटगभडटयुकेका अनुसार, सन् २०२२ मा महिलाका लागि सबैभन्दा बढी ओलिभिया नाम दर्ता भएको छ।

गएका ८८ वर्षयता खासगरी एडमपछि अलेक्जेन्डर, ड्यानियल, डेभिड, जेम्स, जोसेफ, म्याथ्यु, माइकल, रोबर्ट, स्यामुअल, थोमस र विलियम नाम बढी रोजाईमा पर्ने गरेको छ।

महिलाहरूमा सबैभन्दा बढी लोकप्रिय नाम भने एलिजाबेथ परेको छ। सन् २०१८ र २०२१ बाहेक अन्य बेला सबैभन्दा बढी नाम राखिनेमा एलिजाबेथ परेको हो। स्कटल्यान्डले सन् १९३५ यता वर्षमा सबैभन्दा बढी रूचाइएका सय नामको सूची जारी गर्ने गरेको छ।

सन् १९४० र १९४७ मा सबैभन्दा बढी नाम राखिनेमा जन थियो। त्यो बेला विश्वयुद्ध चलिरहेको थियो। दुई लाख पोल्यान्डबासीहरू तालिमका लागि स्कटल्यान्डमा रहेका बखत उनीहरूको प्रभावमा सो नाम बढी राखिएको थियो।

यस्तै सन् १९४६ देखि १९५३ सम्म मार्लिन मुनरोको लोकप्रियताका कारण त्यहाँ मार्लिन नाम राख्नेहरूको राम्रै संख्या थियो र १९५५ सम्म यो नाम निकै लोकप्रिय बन्यो।

यस्तै सन् १९३० को दशकमा राजा अल्बर्टका कारण सोही नाम राख्नेको संख्या ह्वात्तै बढेको थियो भने ४० र ५० को दशकमा भने संख्या क्रमशः घट्नु पुग्यो। सन् १९५५ देखि त यो टप १०० मै पर्न छाड्यो।

गायिका काइली मिनोगको लोकप्रियताका कारण सन् १९८८ मा काइली नाम राख्नेको संख्या ह्वात्तै बढेको थियो। त्यस्तै ’आउटल्यान्डर’ टेलिभिजन शृंखला लोकप्रिय भएपछि स्कटल्यान्डको इतिहासकी प्रमुख पात्र फ्लोरा म्याक्डोनाल्डको नाम सापटी लिने क्रम बढ्यो।

अब त मान्नुभयो होला, नाममा खास केही छ!

प्रकाशित: १ भाद्र २०८० ०१:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App