२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

साहित्यिक पत्रकार संघकाे स्वर्ण महोत्सवमा स्रष्टा अभिनन्दित एवं सम्मानित

साहित्यिक पत्रकार संघले आफ्नो स्वर्ण महोत्सवको समापनको अवसरमा विशिष्ट १३ साधकको अभिनन्दन र साहित्यका विभिन्न विधामा योगदान गर्ने स्रष्टाहरूलाई सम्मान गरेको छ।

२०२९ सालमा स्थापित साहित्यिक पत्रकार संघले एक वर्षदेखि स्वर्ण महोत्सवको अवसरमा विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको थियो।

संघको समापन समारोहमा सापस स्वर्ण महोत्सव सम्मानबाट मोहन सिटौला (अमेरिका), घनश्याम राजकर्णिकार, केके कर्माचार्य, गणेश रसिक, नरबहादुर दाहाल (भारत), डा. सुरेन्द्र केसी, द्वारिका श्रेष्ठ, रमा शर्मा, माया ठकुरी, हिरण्यकुमारी पाठक, प्रदीप बमजन, एसपी कोइराला र डा. डीआर उपाध्याय अभिनन्दित भएका छन्।

सर्जक गणेश रसिकलाई नेपाल-भारत साहित्य महोत्सवमा प्रदान गरिएको सम्मानपत्र पनि प्रदान गरिएको थियो।

यसैगरी ‘सापस स्वर्ण महोत्सव सम्मान’ बाट संघका पूर्व अध्यक्षहरू-नगेन्द्रराज शर्मा,अच्युतरमण अधिकारी, विश्वविमोहन श्रेष्ठ, हेमन्त श्रेष्ठ र नरेन्द्रबहादुर श्रेष्ठ अभिनन्दित भएका छन्।

पूर्व अध्यक्ष नगेन्द्रराज शर्मालाई नगद १० हजारसहित ‘साहित्यिक पत्रकारिता पुरस्कार-२०६३’ पनि प्रदान गरिएको थियो।

यसैगरी ‘सापस स्वर्ण महोत्सव समालोचना विशिष्ट सम्मान’ बाट वरिष्ठ समालोचक प्रमोद प्रधान र गीता त्रिपाठी ‘सापस स्वर्ण महोत्सव समीक्षा सम्मान’बाट वरिष्ठ समीक्षक ज्ञानु अधिकारी र समीक्षक छविरमण सिलवाल सम्मानित भएका छन्।

यसैगरी ‘व्यथित काव्य सम्मान’ बाट कविहरू- उदय निरौला (२०७४), श्रवण मुकारुङ (२०७५), रमेश श्रेष्ठ (२०७६), कृसु क्षेत्री (२०७७), मोमिला जोशी (२०७८) र गीता कार्की (२०७९) सम्मानित भएका छन्।

यसैगरी ‘व्यथित काव्य डायस्पोरा सम्मान’ हेमन्त श्रेष्ठ (अमेरिका), गोवर्धन पूजा (अमेरिका), भीमसेन सापकोटा (अस्ट्रेलिया), प्रकाश पौडेल माइला (जापान), जगत नवोदित (बेलायत) र शकुन ज्ञवाली (अमेरिका) सम्मानित भएका छन्।

संघले आफ्नो स्वर्ण महोत्सवमा अवसरमा साहित्यिक पत्रकारहरूलाई प्रशंसापत्र प्रदान गरेको छ। सम्मानबाट किशोर पहाडी, कृष्ण भुषाल, सुमन वैरागी पण्डित, श्रीराम राई, प्रेमिला गौचन, अमेरिका, विश्वराज थापा, अमेरिका, ठाकुर बेलबासे, उमेश पाण्डे, भूपराज खड्का, राजेश खनाल, राजन कार्की, रत्नप्रसाद अनामी, निबन्ध आचार्य, सरस्वती गौतम, नरनाथ लुइँटेल, सागर श्रेष्ठ, रमेश दाहाल, बलराम थापा र रुद्र अधिकारी सम्मानित भएका छन्।

कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठले संघको योगदानको चर्चा गर्दै शुभकामना व्यक्त गरेका थिए।

संघका अध्यक्ष राधेश्याम लेकालीले संघको पचास वर्षको योगदानबारे बोल्दै साहित्यिक पत्रकारिताको उन्न्यन विकासका लागि सरकारले छुट्टै निकायको व्यवस्था गर्नुपर्ने र नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणको लागि विभिन्न दूतावासहरूमा सांस्कृतिक सहचारीको व्यवस्था गर्नुपर्ने बताए।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ चलचित्र निर्देशक एवं साहित्यकार यादव खरेलले साहित्यिक पत्रकार संघले विभिन्न क्षेत्रका साधकहरूलाई अभिनन्दन र सम्मान गरेर अत्यन्तै महत्त्वपूर्ण कार्य गरेको बताए।

अभिनन्दित व्यक्तित्व प्राडा सुरेन्द्र केसीले बहुदलीय व्यवस्था भनेको हाम्रो नभै राम्रालाई ठाउँ दिने व्यवस्था भए पनि हामीकहाँ भने ठीक उल्टो प्रवृत्ति देखिएकोमा असन्तुष्टि व्यक्त गर्दै यस्तो प्रवृत्तिविरुद्ध सबै जाग्नुपर्ने अवस्था आएको बताए।

संघका पूर्व सभापति विश्वविमोहन श्रेष्ठले अत्यन्त कठिन समयमा स्थापना भएको संघको इतिहास सबैलाई थाहा भएको बताउँदै अब संघ महासंघको संरचनामा जानुपर्ने आवश्यकतामा जोड दिए।

सम्मानित स्रष्टा प्रमोद प्रधानले पत्रकार संघले कवितायात्रा, आत्मवाचन कार्यक्रम, अभिनन्दन र सम्मान लगायतका थुप्रै सिर्जनात्मक कार्यहरू गरेको बताउँदै अब विभिन्न विधाका विभिन्न विषयमा बहस र विमर्श कार्यक्रम गर्नुपर्ने बताए।

व्यथित काव्य पुरस्कारबाट पुरस्कृत कवि रमेश श्रेष्ठले पुरस्कारबाट आफूले लेखनका लागि थप ऊर्जा मिलेको उल्लेख गरे।

साहित्यकार श्रीबाबु कार्कीले संचालन गरेको कार्यक्रममा संघका पूर्व अध्यक्ष नगेन्द्रराज शर्मा, रमा शर्मा लगायतले पनि बोलेका थिए भने अभिनन्दित वरिष्ठ सर्जक प्रदीप बमजनले गीत गाएका थिए। 

प्रकाशित: ३१ श्रावण २०८० ०६:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App