२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

सुनले ल्याएको मन्दी

यस्तो पनि!

मनसा मुसा

केही दशकअघिसम्म संसारकै सबैभन्दा धनी व्यक्तिको नाउँ लिनु पर्दा युरोपेली इतिहासकारहरू सगर्व जर्मन व्यापारी ज्याकब फुगरको नाउँ लिन्थे। हुन पनि उनी यति धनी थिए कि उनलाई ’फुगर द रिच’ भनी बोलाइन्थ्यो। उनको परिवार बैंकर थियो। उनले आफ्नो समयमा धेरै कमाए। कति भने, पूरा युरोपको जिडिपीको दुई प्रतिशत सम्पत्ति त उनको मात्र थियो।

पछिल्ला दशकमा गरिएको अध्ययनले भने संसारकै सबैभन्दा धनी अफ्रिकी मुलुक मालीका सम्राट मनसा मुसा नवौंलाई सबैभन्दा धनी घोषित गरिएको छ। इतिहासमा धनीहरूमध्येमा अगस्टस सिजर, एन्ड्रयु कार्नेगी, जोन डी रकरफेलर, विलियम द कन्क्वरर, कर्णेल गद्दाफीलाई गणना गरिन्छ। तर ती सबैभन्दा मनसा मुसा नवौं कति धनी थिए भने उनका कारण पूरा मध्यपूर्वको अर्थतन्त्र नै गडबडाएको थियो।

सन् १२८० मा मालीमा जन्मिएका उनी पूर्वमा नाइजरदेखि, माली, बुर्किना फासो, गिनी, सेनेगल, मउरिटानिया, सिरिया लियोन, गाम्बियासमेत उनको साम्राज्यमा पर्थ्याे।

खासमा यी क्षेत्रमा नून र सुनको व्यापारको एकलौटी अधिकार मनसा मुसाको थियो। त्यसै पनि पश्चिम अफ्रिकामा प्राचीन कालदेखि नै सुनखानी चलिरहेकै थिए। द ब्रिटिस म्युजियमको अनुमानअनुसार प्राचीन कालको आधा सुन यही माली साम्राज्यकै उत्पादन हुने गर्थ्याे।

समृद्ध हुनु र दास नहुनु सम्भव थिएन। त्यसैले मनसा मुसासँग १० औँ हजार दास थिए। सन् १३२४ ताका मनसा मुसालाई आफ्ना पैगम्बर जन्मिएको ठाउँ घुम्न मन लाग्यो। उनले मक्का र मदिना यात्राका लागि १२ हजार दास र थप ३८ हजार व्यक्ति छाने र लागे तीर्थयात्रामा।

धनी हुनु र देखाउन नपाउनु, छटपटी हुन्छ नै ! फेरि मनसा मुसा भएका कुरा देखाउने पक्षधरका बादशाह थिए। मनोरञ्जन गर्दै छेउछाउका देश, दरबार, राजा भेट्दै मक्का पुग्दा उनलाई दुई वर्ष लाग्यो।

हरेक दासले आफूसँग चार पाउन्ड सुन बोकेका थिए। हरेक ऊँटको भागमा ३०० पाउन्ड सुनको धुलो परेको थियो। यस हिसाबले उनले तीर्थयात्राका लागि मात्र १८ टन सुन बोकेको अनुमान छ। त्यो सुनले उनले हरेक साता बाटामा मस्जिद बनाउँदै त्यहीँ अजान ढोग्दै अघि बढेका थिए।

मिश्रको कायरो आइपुगेपछि त्यहाँको रमाइलो हेर्न मनसा मुसा बजारतिर लागे। आफूलाई मन परेका चिजबिज किन्दा उनले सुन प्रयोग गर्थे। मक्का र मदिनामा पनि उनले कयौँ किलोग्राम सुन बाँडे। त्यस बेला सुनको यति धेरै किनमेल भयो कि सुनको भाउ नै चल्तीको भाउबाट गिरिरह्यो। कतिसम्म भने १० वर्षसम्म मध्यपूर्वको अर्थतन्त्रमा मन्दी छायो। सन् १३३७ मा ५७ वर्षको उमेरमा उनको मृत्यु भयो।

’मनसा मुसा: एम्परर अफ द वेल्दी माली इम्पायर’ पुस्तकबाट

प्रकाशित: ३१ श्रावण २०८० ०५:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App