२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

नेपाल विद्युत प्राधिकरणकाे अठतीसौं वार्षिकाेत्सवमा कविता प्रतियोगिता

नेपाल विद्युत प्राधिकरणले आफ्नो अठतीसौं वार्षिकाेत्सवकाे अवसरमा प्राधिकरण स्तरीय खुला कविता प्रतियोगिता आयोजना गरेको छ।

अठतीसौं वार्सिकोत्सव अतिरिक्त क्रियाकलाप उपसमिति अन्तर्गतको कविता प्रतियोगिता संचालन उपसमितिले संयोजन गरेको सो कार्यक्रम नेपाल विद्युत प्राधिकरण प्रधान कार्यालयस्थित रूफटप हलमा संचालन भएको हो।

वरिष्ठ गीतकार एवं कवि विश्वनाथ प्रेमको प्रमुख आतिथ्यमा भएको कविता प्रतियोगितामा विभिन्न भावभूमिका ३४ कविता प्राप्त भएका थिए।

वाचित कविताहरूलाई मधुपर्क साहित्यिक मासिकका सम्पादक जयदेव भट्टराई, कवि एवं निबन्धकार नेत्रबहादुर कुँवर तथा छन्द कवि सविता बराल समेतको निर्णायक मण्डलले मूल्यांकन गरी नतीजा सार्वजनिक गरेको थियो।

उक्त प्रतियोगितामा सुभास अधिकारीको ‘रहरको सहर’ प्रथम, समीक्षा अधिकारीको ‘द्रौपदी’ द्वितीय, टीकाराम शर्माको ‘याद’ तृतीय  र मुकुन्दप्रसाद प्रसाईंको ‘म भुइँ मान्छे’ कविता चतुर्थ भएकाे थियाे।

साे कार्यक्रममा विद्युतकर्मी साहित्यिक समाजको नियमित प्रकाशन ‘अमरज्योति साहित्यिक त्रैमासिक’ को ५९ औं अंककाे पनि लोकार्पण गरिएको थियो।

उक्त कार्यक्रममा अतिथि कवि सविता बराल, विद्युतकर्मी साहित्यिक समाजका पूर्व अध्यक्ष विष्णुबहादुर सिंह, कवि अनिल पौडेल, रीता चालिसे खनाल, पोषराज सुवेदी, यादवराज घले लगायतका स्रष्टाहरूले अप्रतियोगी रचना वाचन गरेका थिए।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि विश्वनाथ प्रेमले प्राधिकरणले भौतिकका साथै भावात्मक ऊर्जा उत्पादनमा समेत जागरूकता देखाएकोमा खुसी प्रकट गर्दै देशभक्त सच्चा सपूतको खोजी गर्ने क्रममा यस्तो कार्यक्रमले योगदान पुर्‍याउने बताए।

नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक तुलाराम गिरीले प्राधिकरणको मूल उद्देश्य परिपूर्तिका लागि कर्मचारीमा नवीन सोच र सिर्जनात्मक ऊर्जा थप्न यस्ता कार्यक्रमहरू फलदायी हुने बताए।

सो अवसरमा विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल ‘शब्दसेना’ ले साहित्यकारहरूलाई कोइलीसँग तुलना गर्दै कोइलीले मीठो आवाजमा नगाए समाजमा कागहरूको साम्राज्य बिस्तार हुने र यसले सामाजिक अराजकता बढाउने भएकाले कविहरूले मीठो भाषा र भाकामा निर्भीक भएर सत्यको पक्षमा वकालत गर्नुपर्ने बताए।

सो कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक रामजी भण्डारी,निर्देशकहरू-बेलप्रसाद शर्मा, शिव अधिकारी र शिवप्रसाद आचार्य लगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा नेपाल विद्युत प्राधिकरण विद्युतकर्मी साहित्यिक समाजका पूर्व अध्यक्षहरू कुलप्रसाद पराजुली, केशव रूपाखेती, वीरेन्द्र पाठकका साथै पूर्व निर्देशक जुजुकाजी रन्जित,भाषा आयोगका माननीय सदस्य मातृका पोखरेल, आधिकारिक र क्रियाशील ट्रेड युनियनका पदाधिकारी, नेविप्राका कर्मचारी लगायतको उपस्थिति रहेको थियो।

विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष एवं कविता प्रतियोगिता संचालन उपसमितिका संयोजक कृष्णदेव रिमाल ‘शब्दसेना’को अध्यक्षतामा संचालित सो कार्यक्रमलाई विद्युतकर्मी साहित्यिक समाजका सचिव विष्णु आचार्य ‘अतृप्त’ले सहजीकरण गरेका थिए।

प्रकाशित: २७ श्रावण २०८० ०७:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App