२७ मंसिर २०८२ शनिबार
image/svg+xml
कला

जीवन: यादको दस्ताबेज

निबन्ध

एउटा याद बिर्सन अर्काे याद जन्मिनुपर्छ। एउटा याद सम्झिन हजारौं याद जन्मिनुपर्छ, मर्दै जानुपर्छ। बिहानको घामसँगै सधैं सम्झनामा उदाइरहने यादहरू। क्षितिजमा घामजस्तै अस्ताए पनि। हरेक साँझ चन्द्रमाको चाँदनीसँग पुनः उदाइरहने यादहरू। कहिले झरिलो ताजा याद भएर। कहिले धमिलो स्मृतिका अधुरा यादहरू। फक्रिएर, फुलेर आइरहने यादहरू।

छोडी गए पनि कसैले, जति नै पुरानो भए पनि वर्षले। निष्ठुरी मान्छेजस्तो फन्केर जाने अनि फर्केरै नआउने हुँदैन रहेछ यादहरू। बाडुलीले हिक्कहिक्क कसैको केही न केही कुराको आइरहने रहेछ यादहरू। यादबिना पृथक् रहनै नसकिने रहेछ।

विगतलाई वर्तमान बनाउने यादहरू। भेटघाटमा छुटेका अधुरा यादहरू। हाटबजार र मेलापातका यादहरू। सकिँदैन कहिल्यै बिर्सनलाई जीवन–यात्राका यादहरू।

यादका अनेक प्रकार। अनेकौं भेट, बोलीवचन र यात्राका यादहरू। झल्याँस्स याद आउँदा आँखैमा प्रतिबिम्बित दृश्यले मन दङ्ग पनि हुन्छ, भरङ्ग पनि हुन्छ।

आजको समय पछाडि फर्किएर आफैलाई हेर्ने, बुझ्ने फुर्सद छैन मान्छेसँग। मान्छे यति व्यस्त कि कामकै पछि, सधैं पैसाकै धन्दामा मरिमेट्दै। आफैलाई हेर्न नभ्याउनेले अरूलाई सम्झिने, याद गर्ने फुर्सद पनि कहाँ हुनु!

छोडी गए पनि कसैले, जति नै पुरानो भए पनि वर्षले। निष्ठुरी मान्छेजस्तो फन्केर जाने अनि फर्केरै नआउने हुँदैन रहेछ यादहरू। बाडुलीले हिक्कहिक्क कसैको केही न केही कुराको आइरहने रहेछ यादहरू। यादबिना पृथक् रहनै नसकिने रहेछ।

यादहरू भनेको परिकल्पना, परिघटना होइन। हुँदैनन् यादहरू कहिल्यै कल्पनाका। इतिहास हुन् यादहरू, आफैले भोगेको जीवनको। पृष्ठपाना हुन्, यथार्थ यावत कुराका साक्षी शब्द र बिम्बयादहरू। ऐनाजस्तै दुरुस्तै त्यस्तै जस्ताको तस्तै यादहरू। छर्लङ्ग देखिने मनको क्यानभासमा यादका स्वरूपहरू। तिनमा सत्य कुरा पनि असत्य, झुटा कुरा पनि। वास्तविकताभन्दा पर तोडमोड गर्न, यादहरूलाई झुक्याएर अनुकूल पार्न सकिँदैन। जस्तो छ ठ्याक्कै त्यस्तै।

आखिर यादहरूकै दस्ताबेज हो जीवन। कति यादहरू नयाँ, कति यादहरू पुराना। यादहरूकै सिलसिलामा जीवनको लय। यादहरूका खातैखातले भरिभराउ यादहरू। के सम्झिने र कति सम्झिने सीमाहीन यादहरू!

तथापि जीवनबाट कहिल्यै भाग्दैनन् यादहरू। छायाजस्तै जीवनसँगै। जीवनलाई एक्लै छाडेर टाढिन जान्दैनन् यादहरू। जीवन छउन्जेल बाँचिरहँदा मात्रै हो यादहरूले साथ नछोड्ने भनेको। मृत्युसँगै यादहरू पनि मर्छन्। यादहरू जन्मनु र मर्नुको कुनै हिसाब हुँदैन। यादहरू आइरहन्छन्, हरपल आइरहन्छन्।

कहिलेकाहीं कुनै यादले झसक्क झस्काउँछन् पनि। पश्चात्ताप गराउँछन् अनि। जीवनसँगै याद, यादसँगै जीवन! नआऊ भनेर नआउने हुँदैन। आऊ भनेर जति सम्झे पनि यादहरू कहिले सम्झनामा आउँदै आउँदैन। याद आउनुसँगै विगतका सारा दृश्यहरू देखिन थाल्छन्। त्यो बेला बाँचेको समय र परिवेश फुत्त आँखै सामुन्ने देखापर्छ।

सम्झेर कहिल्यै नसिद्धिने। पुगेर कहिल्यै नपुगिने। सुन्दर संसार यादहरूको संसार। यादहरूको गहिराइमा डुबेर यादहरूकै संसारमा रमाउन मन लाग्छ। याद गरेर कहिल्यै नअघाइने प्रिय यादहरू।

आखिर यादहरूकै दस्ताबेज हो जीवन। कति यादहरू नयाँ, कति यादहरू पुराना। यादहरूकै सिलसिलामा जीवनको लय। यादहरूका खातैखातले भरिभराउ यादहरू। के सम्झिने र कति सम्झिने सीमाहीन यादहरू!

टुक्राटुक्रा विगतका झिनामसिना तर कालजयी घटना हुन् जीवनका ती यादहरू। आफूले बाँचेर आएको समयको सचित्र रूपहरू। मिठा यादहरूले कति आनन्द दिन्छ। कति खुसी र आशा प्रदान गर्छ। कुनै यादहरू हावासरी हुइँकिएर आउँछन् र छिनमै कता बिलाउँछन् पत्तै हुँदैन।

यादहरू बिर्सू भनेर कहाँ बिर्सिन सकिन्छ र ! कति यादहरू कति प्रिय र यादगार रहिरहन्छन्। कति यादहरू चाहिँ सम्झूँ भनेर सम्झिँनै सकिँदैन। बिर्सनुपर्ने यादहरू याद आइरहन्छन्। याद आउनुपर्ने यादहरू बिर्सेर हैरान।

यादहरू कहिले सर्प बनेर डस्न उद्यत। कहिले फूल बनेर पुज्न तत्पर। कुनै बेला काँडा बनेर घोच्न अग्रसर। यादहरूले कहिले खाटा बसिसकेका घाउहरू कोट्याएर दुखाउँछन्। कहिले ती घाउहरूमा मलमपट्टी लगाई आराम गराउँछन्।

कहिलेकाहीं कुनै यादले झसक्क झस्काउँछन् पनि। पश्चात्ताप गराउँछन् अनि। जीवनसँगै याद, यादसँगै जीवन! नआऊ भनेर नआउने हुँदैन। आऊ भनेर जति सम्झे पनि यादहरू कहिले सम्झनामा आउँदै आउँदैन। याद आउनुसँगै विगतका सारा दृश्यहरू देखिन थाल्छन्। त्यो बेला बाँचेको समय र परिवेश फुत्त आँखै सामुन्ने देखापर्छ।

अतः कुनै यादहरू प्रिय पनि हुन्छन्। कति याद अप्रिय हुन्छन्। बारम्बार आइरहने यादहरू कि दुःखका कि सुखका हुन्छन्। सामान्य यादहरू सायदै आउँछन्। आफ्नै जीवनभोगाइका व्यतीत पलहरूबाट पाठ सिकेर सजग हुनु बुद्धिमानी हो। हरेक क्षण जोखिम र दबाब अनि असजिला पाटोका बाटाहरू हिँडिरहँदा विगतका यादहरूबाट पाठ सिकेर अगाडि बढ्नु उत्तम हुन्छ।

विगत बटुलेर नआऊ फेरि, अब भैगो, वर्तमानमा नल्याऊ भने पनि आइहाल्छन् पुराना यादहरू। यादहरूबाट भागेर एक्लै एकान्तमा गुप्तवास वा भूमिगतै बसे पनि यादहरूले पछ्याउन छोड्दैनन्। पछ्याउँदै यादहरूका झोंक देखाइहाल्ने। झम्टिहाल्ने यादगार यादहरू।

सम्झना र बिर्सनाको दोसाँधमा यादहरू आइरहेको। यादहरूको उरुङखातमाथि यादहरू मस्त भइरहेको। यादहरूको यादले कति आनन्दी महसुस गरिरहेको। यादहरूले कति रमाइरहेको।

आहा! यादहरू, आऊ यादहरू, प्रिय प्रेमिल यादहरू!

यादहरूकै ओछ्यान, यादहरूकै सिरानी र सिरक अनि यादहरूकै सपना। यादहरूकै विपना। मिलन र बिछोडका यादहरू। यादगार पलहरूका बेहिसाब शृंखला। तिनैमा मन रमाएर विगतको स्मृति–दंशमा मदहोस।

यादबिना बाँच्न नसक्ने। यादहरूले कहिले घायल, कहिले पागल, कहिले खुसीले सीमाहीन। कहिले पीडाले व्यथित। झिनामसिना पनि यादहरू। टुटेफुटेका र धुमिल दृश्य। रङ खुइलिँदै, मैलिँदै पुरानिँदै गएका पनि यादहरू। यादहरूले कहिले रुवाउँछन् धरधरी, कहिले हँसाउँछन् पुराना दिनहरूमा फर्काएर। जति दुःखकै भए पनि यादहरू मिठा हुन्छन्। यादहरू आफ्नै हुन्छन्। अरूका पनि यादहरू आफ्नै जस्ता लाग्छन्।

यादहरू नआऊ भनेर दूरदेश जाँदैनन् भागेर। बरू मिठा मिठा यादहरू आइरहन्छन्। तर याद आऊ भन्दैमा, निम्तो दिँदैमा आउँदैनन् यादहरू। यादहरूलाई याद गर्न कहिले एकान्त पनि चाहिन्छ, कहिले भिड र व्यस्ततामा पनि झल्यास्स आइहाल्छन् यादहरू। कुनै यादले खुसी दिन्छन्। कुनै यादले तनाबमा पनि पुर्‍याउँछन्। कति यादहरू प्रेरणादायी, कति यादहरू सास्तीमय पनि हुन्छन्।

यादहरूले भरिभराउ हाम्रो प्रिय यायावर जीवन! ठेगान हुँदैन यादहरू आउने र नआउनेको। बिसूँ अब भनेर बिर्सन सकिँदैन। दुःखका यादहरू पनि हुन्छन्, सुख, खुसी, पीडा र तनावका यादहरू कति कति ! फुर्सदमा र व्यस्ततामा पनि म याद गरिरहन्छु बितेका यादहरू। प्रकृतिजस्तै सुन्दर र विशाल यादहरू...!

यादबिना बाँच्न नसक्ने। यादहरूले कहिले घायल, कहिले पागल, कहिले खुसीले सीमाहीन। कहिले पीडाले व्यथित। झिनामसिना पनि यादहरू। टुटेफुटेका र धुमिल दृश्य। रङ खुइलिँदै, मैलिँदै पुरानिँदै गएका पनि यादहरू।

हरेक क्षण संयोग, वियोग पनि उत्तिकै। भेटिँदाको खुसी छचल्किने छताछुल्ल। बिछोडिँदाको वियोग यादहरूमा रूपान्तरित विगतदेखि वर्तमानसम्म भताभुंग। पुराना यादका दाग कति कति। तिनलाई कोतर्दै विगतमा पुगेर यादहरूमा विसर्जित हुनुको पल अर्कै। हिजो बाँचेको समय, बोलेको कुरा, हिँडेको ठाउँ र व्यवहार नै हुन् यादका सुरक्षित भण्डार। हामीले भविष्यका लागि मिठा यादहरू आउने काम गर्न सिकौं।

प्रकाशित: १३ श्रावण २०८० ०३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App