२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

बृहत् नक्सा

दुई लघुकथा

यमुना प्रधानाङ्ग ‘मुना’

१) बृहत् नक्शा

रोशनको सुन्दर सानो परिवार! आफू लगायत आमाबुवा, श्रीमती र  छोराछोरी सबै खुसी र सुखी थिए। आमाबुवा साथै भएकाले पनि रोशनको बूढाबूढीलाई छोराछोरी हुर्काउन त्यति गाह्रो भएन। समयअनुसार श्रीमती पनि बाहिर काम गर्ने भएकाले घरमा अभावको सामना गर्नुपरेको थिएन रोशनले। हजुरआमा र हजुरबुवाको संरक्षणमा हुर्केका छोराछोरी निकै अनुशासित, ज्ञानी र पढाइमा अब्बल थिए।

देशको राजनीतिक खिचातानी र देशको अवस्थादेखि चिन्तित रोशनका बुवाले एक दिन देशको पुरानो नक्सा किनेर ल्याए र बैठक कोठामा सजाए।

नाति स्कूलबाट घर फर्किंदा बैठक कोठामा नक्सा सजाएको देखे र खुशी हुँदै हजुरबुबालाई सोधे, ‘हजुरबुवा, हजुरले हामीलाई हाम्रो देशको इतिहासबारे धेरै कुरा भन्नुभएको थियो। पूर्वमा टिष्टा, पश्चिममा काङ्गडा सतलज र दक्षिणका धेरै भूभाग हाम्रो थियो भन्नुहुन्थ्यो। हाम्रा बडा महाराजधिराजले आर्जेको मुलुक हो यो। शत्रुबाट देश बँचाउने क्रममा हाम्रा धेरै पुर्खाले आफ्नो ज्यान आहुति दिएका थिए भन्नुभएको थियो। आहा! पहिले हाम्रो देश कति ठूलो रहेछ, हगि हजुरबुवा!’

हजुरबुवाले ‘हो नि बाबु’ भन्दै थिए।

यता छोरा र ससुराको कुरा सुनिरहेकी रोशनकी श्रीमती निकै खुसी हुँदै  सोचिन्, ‘अहो, मेरो छोरा देशको चिन्ता गर्ने भइसकेछ तर मलाई पत्तै छैन!’

केहीबेरमै रोशन पनि आइपुगे। प्रवेशद्वारसँगै बैठक कोठा। ढोकाबाट भित्र पस्नासाथ नक्शा देखे र सोधे, ‘यो बृहत् नक्सा किन कोठामा? यसले भोलि विवाद ल्याउन सक्छ।’

रोशनका बुवाले भने,‘छोरा, तँ त कायर रैछस्! आफ्नो देशको बृहत् नक्सा राख्दा मैले के गल्ती गरें?’

रोशनको छोरालाई आफ्नो बुबाको कुरा चित्त बुझेन र भन्यो, ‘बुवा, हजुर पनि...! हजुरबुवाले यो नक्सा राख्नुभएकाले मैले आफ्नो देशबारे यो नक्सा हेरेर धेरै कुरा थाहा पाउनेछु, बहिनीले थाहा पाउनेछिन्, त्यस्तै धेरैले थाहा पाउनेछन्। म त भन्छु, यो हाम्रो देशको बृहत् नक्सा प्रत्येकले घरघरमा सजाउनुपर्छ।’

२) पानी

‘शीतल, मैले तिम्रो धेरै गीत/ कविता सुनेको छु, पढेको छु। हिजोआज तिम्रो कलम लघुकथा लेखनतर्फ चलेको लाग्यो नि!’ मिल्ने साथी विश्वासले भन्यो।

शीतलले हँसिलो मुद्रामा भन्यो,‘चलेको मात्र होइन साथी, पुस्तक नै बाहिर आइसक्यो।’

विश्वासले हात मिलाउँदै भन्यो,‘ए हो र,लु बधाई छ साथी!’

‘साथी, मेरो सपना भनेको जातीय भेदभाव र छुवाछुतरहित सुन्दर समाजको निर्माण गर्ने भन्ने नै हो। त्यसका लागि कलमको माध्यमबाट आवाज उठाउँदै छु। समाजमा जातीय भेदभाव र छुवाछुत गर्नेलाई कारवाही गरिने कानुनमा लेखिएको भए पनि व्यवहारमा उतार्न नसकेकै कारण समाजमा विभिन्न घटना घट्दै आइरहेको हामी सबैले देख्दै, सुन्दै आइरहेका छौं।’ दुखित स्वरमा शीतलले भन्यो।

‘ल भन न त साथी, मैले के सहयोग गर्न सक्छु! तिम्रो यो काममा म सधैं हाजिर छु।’ हौसला दिंदै विश्वासले भन्यो।

‘धन्यवाद साथी! तिमीले साथ दिन्छौ भन्ने कुरामा विश्वस्त छु’ भन्दै फेरि भन्यो, ‘पहिले हामी आफूले लेखेको रचना आफ्ना लेख्ने साथीहरूमाझ सुन्ने र सुनाउने गर्दै आइरहेको। कसैले थपडी मार्दा मक्ख पर्‍यो र सक्यो? अब त्यसो होइन साथी! हामी आफ्नो टोलबाट थालाैं। तब मात्र यो जातीय भेदभाव छुवाछुतरहितको सुन्दर समाज बनाउन सकिन्छ।’

‘यसो गरौं न त साथी! दुई/तीन टोलका सबैलाई शनिवार भेला गराऔं। गाविस अध्यक्ष लगायतका जनप्रतिनिधिहरूको उपस्थितिमा साहित्यिक कार्यक्रम सहित सांस्कृतिक कार्यक्रम पनि राखौं र अन्त्यमा समाजले हेपेका समुदायको हातबाट सर्वत बाँड्न लगाऔं।’

विश्वासले भन्दै गर्दा शीतलले व्यंग्यपूर्ण भावमा भन्यो, ‘त्यो समुदायका सीप चल्ने, मासु काटेको चल्ने, दुध चल्ने, सर्वत पनि चलिहाल्छ नि! सर्वतको सट्टा उनीहरूको हातबाट पानी बाँड्न लगाऔं।’

प्रकाशित: ११ श्रावण २०८० ०७:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App