उदितले भन्यो,‘तिमीलाई थाहा छ? मेरो मामुको बुढो मामा घर यहीं हो रे।’
दीपाले भनिन्,‘कस्तो रमाइलो ठाउँ।’
‘त्यहीं भएर मैले रेस्टुरेन्टमा भन्दा यता मजा आउँछ भन्या नि।’ उदितले भन्यो।
दीपाले भनिन्,‘पानी त फोहोर भएछ है।’
‘मामुको बुढा मामाहरूले यहींको पानी खाएर हुर्क्या रे।’ उसले भन्यो।
‘पूरै हरियो घाँस छ त यसले त पुर्न आँट्या जस्तो छ।’ दीपाले भनिन्।
‘यो जलकुम्भी हो नि। पैसा मात्र खान्छ्न्, कसैलाई मतलव छैन भन्या। सफा राख्नुपर्छ नि।’ आफूले जानेको भन्यो।
उनीहरूले आआफ्नो झोला खोले।
उदितले सोध्यो, ‘एक गिलास पनि ल्या’काे हो?’
‘तिमी जस्तो हो र? ठाडै पार्ने।’ दीपाले भनिन्।
फेवाको किनारमा झन्डै एक घण्टापछि फोहोर फाल्ने टोकरीभन्दा चार हात पर ड्राई फ्रुट्स्को खाली पाकेट, प्लास्टिकका दुई वटा गिलास र बियरका दुईवटा खाली बोतल लडिरहेका देखिन्थे।
प्रकाशित: ११ श्रावण २०८० ०५:५० बिहीबार