१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

रगत

लघुकथा

नैना चिच्च्याइन्, ‘हैन हो, यो के उल्का र अचम्म देख्नुपर्‍यो हँ? यसलाई ठाउँको ठाउँ ठहरै पारिदिन्छु। धर्मनासा... !’

घ्याम्पीले पिउँदा पिउँदैको पानी छोडेर काँम्दै भनिन्, ‘मलाई क्षमा गर्नुस् बर्जू! मलाई सुगर भएको छ। उकालो चढ्दा मुख सुकेर प्राण नै जाला जस्तो भयो त्यसैले...। अबदेखि मर्न नै परे पनि धारो छुदिनँ।’

हरिकृष्णले दौड्दै आएर भने, ‘यसलाई पाता कसेर सिस्नुपानी लाउनुपर्छ। यत्रा गाउँलेहरूले पानी खाने यहीं एउटा धारा छ भन्ने थाहा पाउँदा पाउँदै ...। अब त यी तल्ला जातिले हेप्नु हेप्न थाले। समयमै यिनीहरूको औकात देखाएन भने टाउकामा नै टेक्छन्।’

नैनाले घाम्पीलाई जोरले धकेल्दै भनिन्, ‘यिनीहरूलाई गाउँ निकाला गर्नुपर्छ। खुरुक्क गाउँ छोडेर जाओ। नत्र तेरो घरमा आगो लगाइदिन्छु बुझिस्!’

घ्याम्पी ढुंगामा पछारिइन्। निधार फुटेर तरर्र रगत बग्यो। आँखाबाट बरबर आँसु झर्‍यो। उनको पीडा कसैले देखेनन्। सबैले घ्याम्पीलाई गाउँबाट निकाल्ने नै कुरा गरे।

रत्नले घ्याम्पीलाई उठाएर रगत थुनिदिंदै ठूलो स्वरमा भने,‘गाउँ निकाला गर्ने नै हो भने हामीले काकीका परिवारलाई पनि गाउँ निकाला गर्नुपर्छ, बुझ्नुभयो?’

नैनाले ढुंगा उचाल्दै चिच्च्याइन्,‘हैन के भन्छ यो पाजी? मलाई किन गाउँ निकाला गर्ने हँ? बाहुनको छोरो भएर कीरा परेको बुद्धि मोराको!’

रत्नले घ्याम्पीलाई बसाउँदै भने,‘गोपेले विजयलाई बँचाएपछि नै मेरो मन परिवर्तन भएको हो काकी! पोहोर विजय मोटरसाइकल दुर्घटनामा पर्दा गोपेले नै रगत दिएको थियो। रगत दिएपछि रिंगटा लागेर गोपे पनि ढलेको थियो। यी कुरा गोपेले कसैलाई नभन्नू बाजे-बजैलाई पीर पर्ला भनेकाले हामी चूपचाप थियौं। विश्वकर्माको रगत विजयको रगतमा मिसिएपछि विजय के भयो काकी, बाहुन कि विश्वकर्मा?’

प्रकाशित: ८ श्रावण २०८० ०८:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App