२२ असार २०८१ शनिबार
image/svg+xml
कला

सारुक मृत्युको छानबिन गर्न कलाकारहरुले उठाए आवाज

अभिनेता तथा मोडल सारुक ताम्राकारको मृत्यु भएको ९ दिन बितिसकेको छ। उनी असार २१ गते बेलुका रातोपुलस्थित निवासमा मृत भेटिएका थिए।

सोही दिन बिहान फिल्म ‘ह्यासट्याग माया’ को सुटिङ सकेर घर फर्किएका सारुक बेलुका झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।

काम सकेर घर फर्किएका सारुक मृत भेटिनुले चलचित्र क्षेत्रमा तरङ ल्याएको छ। सोही दिन अभिनेत्री केकी अधिकारीले चलचित्र निर्माताहरूले मानसिक स्वास्थ्य परामर्शका लागि छुट्टै विभाग खडा गर्न आवश्यक रहेको बताएकी थिइन्।

उनले लेखेकी थिइन्,हामीले चलचित्र निर्माताहरू र मिडिया उद्योगका प्रतिनिधिहरूको रूपमा, हाम्रो बजेट योजना बनाउँदा वा चलचित्र हस्ताक्षर गर्दा, निर्माणको समयमा सम्पूर्ण कलाकार तथा प्राबिधिक सदस्यहरूका लागि मानसिक स्वास्थ्य परामर्शको विभाग पनि राखिन जरुरी भैसकेको छ। सार्वजनिक स्पटलाइटमा हुनुको लागत अकल्पनीय हुन सक्छ, बेलैमा सबै मिली यसलाई गम्भीरताका साथ लिऔँ।

अहिले अन्य कलाकारहरुले पनि सारुक ताम्राकारको मृत्युको छानबिन गर्नुपर्ने बताइरहेका छन्। निर्देशक सुरेशदर्पण पोखरेल पनि ताम्राकारले आत्महत्या गर्नुको कारण खोज्न आवश्यक रहेको बताउँछन्।

उनी लेख्छन्, 'ताम्राकारको आत्महत्याको कारण के थियो रु केही समयअघिसम्म फिल्मको सुटिङ गरीरहेका ताम्राकार केही घण्टामैं किन यस्तो निर्णय लिन बाध्य भए ?'  

त्यस्तै पूर्वमिस नेपाल मलिना जोशीले सारुकले आत्महत्या गर्नुको कारण पत्ता लगाएर दोषीलाई कारवाही गर्न भनेकी छन्।

जोशीले विभिन्न प्रश्नहरु गर्दै ताम्राकारमाथि के भएको थियो भन्ने जान्न पाउने अधिकार सबैसँग भएको र निष्पक्ष छानविन गर्न माग गरेकी छिन्।

अभिनेत्री सृष्टि श्रेष्ठले पनि इन्स्टाग्राममा सारुकको तस्बिर सेयर गर्दै लेखेकी छन्, ‘सत्य र न्यायको जित हुनेछ।’  

३१ वर्षे सारुकले ‘रानी’, ‘मेरी मामु’, ‘इन्टु मिन्टु लण्डन’मा लगायत चलचित्रमा अभिनय गरेका छन्।  उनी कलाकार सानुकुमार ताम्राकारका छोरा हुन्। 

प्रकाशित: २९ असार २०८० ०८:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App