१८ असार २०८१ मंगलबार
image/svg+xml
कला

जापानी निर्देशकको नेपाली फिल्म

काठमाडौं- जापानी निर्देशक तोशिआकी इतोहले निर्देशन गरेको नेपाली फिल्म ' माई लभः प्रोमिस अफ काठमाडौं' को निर्माण सम्पन्न भएको छ। २०७२ सालमा गएको भूकम्पको पृष्ठभूमिमा बनेको फिल्ममा नेपाल र जापान दुवैतिरका कलाकारले अभिनय गरेका छन्।

इतोहले यसअघि 'कठपुतली' र 'शिरिषको फूल' को निर्देशन गरिसकेका छन्। दुवै फिल्ममा अभिनेता गणेश लामालाई लिएर फिल्म बनाएका इतोहले  नयाँ फिल्ममा पनि लामालाई नै मुख्य भूमिकामा अभिनय गराएका छन्।

 फिल्ममा रमेश नामको एक आर्किटेक्चरले भोग्नुपरेको उतारचढावको कथालाई पेस गरिएको छ। इतोहले करिब १० वर्षअघि पुराना सम्पदामा रुचि राख्ने चरित्रलाई लिएर 'कठपुतली' शीर्षकमा फिल्म बनाएका थिए। उनले नयाँ फिल्मको कथालाई त्यहीबाट जोडेका छन्। 'मेरो पहिलेको फिल्ममा चरित्रले पुराना कला–संस्कृति र सम्पदा बचाउने काम गर्दै आएको हुन्छ। यही चरित्रको पूर्व कथालाई मैले दसवर्ष अगाडि बनाएको फिल्म 'कठपुतली'मा समेटेको थिएँ' निर्देशक इतोहले भने ' भूकम्पसित जोडेर फेरि त्यही चरित्रलाई यो फिल्ममा ल्याएको हुँ। र, यो फिल्ममा धेरैजसो ऐतिहासिक र सांस्कृतिक सम्पदाको अवस्थिति पनि समेटिएको छ।'

फिल्मको केही भागको सुटिङ जापानमा पनि गरिएको इतोहले जानकारी गराए। इतोह आफैंले लेखेको फिल्मलाई गौरीशंकर धुजुले छायांकन गरेका हुन् भने फिल्ममा गणेश लामा, शीतला श्रेष्ठ र नारायण रुपाखेतीलगायतले अभिनय गरेका छन्। फिल्मका मुख्य कलाकार गणेश लामाले फिल्म प्रदर्शनका लागि तयार रहेको भए पनि आउँदो सेप्टेम्बरमा मात्र प्रदर्शन गर्ने योजना रहेको बताए। फिल्म नेपालसँगै जापानमा पनि प्रदर्शन हुनेछ।

प्रकाशित: २४ वैशाख २०७४ ०५:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App