२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

‘मलामी पहाड र सारङ्गी’ माथि विहङ्गम दृष्टि

पुस्तक

रमेश श्रेष्ठ समकालीन कविता क्षेत्रका साधक हुन्। गद्य कवितालाई आफ्नै अलग ढाँचामा प्रस्तुत गर्ने बानीले उनलाई पृथक् चिनारी प्राप्त छ। उनी विम्बकविका नामले परिचित छन्। उनका कवितामा विम्बहरूको अनौठो र रहरलाग्दो प्रयुक्ति पाइन्छ। उनी विम्बहरूसँग बोल्छन्, विम्बहरूसँग खेल्छन् र विम्बहरूसँगै कविताबारे बहस गर्छन्। विम्बहरू प्रायः प्रकृतिबाट लिन रुचाउँछन् उनी। त्यसो त उनले हाम्रो संस्कृति, समाज, जीवनका सरल-बक्ररूपका अनुभूति, जिजीविषाजन्य विडम्बना र प्रेमका विविध अवतारलाई पनि विम्बमा कुशलतापूर्वक उतारेका छन्। तर जब उनी कविता लेख्दा प्रकृतिका रूपहरू सम्झन्छन्- स्वयं प्रकृति बनेर प्रकृतिसँग एकाकार हुन्छन्। अनि प्रकृतिको मानवीकरण र मानवको प्रकृतीकरण गरेर कवितामा सजाउँछन्।

रमेश जीवनलाई कवितामा हेर्न चाहन्छन्। कविताको प्रकाशनले जीवन उजिल्याउन चाहन्छन्। कविताको ‘सारेगम’ मा जीवनको सङ्गीत खोज्न चाहन्छन्। कविताको रङमा जीवनको भावमय चित्र उतार्न चाहन्छन्। उनका कविता स्वयंमा कला पनि हुन्, सङ्गीत पनि हुन् र काव्य पनि हुन्। कवितामा उनी ‘पूर्णब्रह्म’ को अभिदर्शन गर्न चाहन्छन्।

उनी विम्बकविका नामले परिचित छन्। उनका कवितामा विम्बहरूको अनौठो र रहरलाग्दो प्रयुक्ति पाइन्छ। उनी विम्बहरूसँग बोल्छन्, विम्बहरूसँग खेल्छन् र विम्बहरूसँगै कविताबारे बहस गर्छन्। विम्बहरू प्रायः प्रकृतिबाट लिन रुचाउँछन् उनी।

कवितामा ‘सत्यम्, शिवम्, सुन्दरम्’ लाई समाहित गर्न चाहन्छन्। उनका कवितामा बुद्ध प्रबोधित छन्, ‘वसुधैव कुटुम्बकम्’ का भाव तरङ्गित छन् र ‘सर्वे भवन्तु सुखिनः’ का आकाङ्क्षा प्रदीप्त छन्। दया, माया, प्रेम, विश्वास, आस्था, आशा र सत्कर्मका सुनौला रेखाले जीवनको चित्र कोर्न चाहन्छन् उनी कवितामा।

रमेश श्रेष्ठको नवीनतम कृति ‘मलामी पहाड र सारङ्गी’ को पाण्डुलिपि अहिले मसँग छ। दुईचार शब्द यसबारे लेख्ने कविको आग्रहलाई मैले शिरोपर राखेको छु। तर मलाई अहिले रमेशका कविताबारे बोल्न सङ्कोच लागिरहेको छ। कसरी मूल्याङ्कन गर्न सक्छन् समीक्षकहरूले स्रष्टाका सिर्जनालाई? केवल आत्मदृष्टि मात्र राख्न सकिन्छ सिर्जनाका बारेमा।

 रमेशका प्रत्येक कविता स्वयंमा भावचित्र हुन्। भावकले आफ्नो अनुभूतिसँग मिसाएर विभिन्न अर्थ वा भावमा तिनको विश्लेषण गर्न सक्छन्। कविताको एउटै सोझो वा सपाट अर्थ हुँदैन। लक्षणा वा व्यञ्जनाबिना उत्कृष्ट कविता बन्न सक्दैन।

यस कृतिमा प्रस्तुत भएका कवितात्मक उद्गारहरू व्यञ्जनाले पूर्ण र उत्कृष्ट छन्। त्यसैले कविताको पारख वा मूल्याङ्कन गर्ने क्षमताबाट म टाढा छु भन्ने धारणाले ममा सङ्कोच उत्पन्न भएको छ। केवल एकजना विशिष्ट साधक, प्रिय अनुजप्रति आफ्ना शुभेच्छाका केही शब्द मात्र राख्ने जमर्को गरेको छु।

प्रस्तुत कृति एउटै पुस्तकभित्र रहेका दुइवटा काव्यको वेणी हो। यहाँ एउटा काव्य (लामो कविता) को नाम ‘मलामी पहाड’ छ र अर्को काव्यको नाम ‘सारङ्गी’ राखिएको छ। तर दुवैलाई जोडेर पुस्तकको नाम ‘मलामी पहाड र सारङ्गी’ बन्न पुगेको छ। पहाड धैर्यको प्रतीक हो, सहनशीलता अनि उच्चताको प्रतीक पनि हो। यहाँ कविले साहित्य, कला, सङ्गीत र संस्कृतिको प्रतीकका रूपमा पनि पहाडलाई प्रस्तुत गरेका छन्।

रमेशका प्रत्येक कविता स्वयंमा भावचित्र हुन्। भावकले आफ्नो अनुभूतिसँग मिसाएर विभिन्न अर्थ वा भावमा तिनको विश्लेषण गर्न सक्छन्। कविताको एउटै सोझो वा सपाट अर्थ हुँदैन। लक्षणा वा व्यञ्जनाबिना उत्कृष्ट कविता बन्न सक्दैन।

कवि आफैं पनि पहाड-विम्ब भएका छन् यहाँ। बुढो पहाडले प्राचीनता र तन्नेरी पहाडले नवीनताको चिनारी दिन्छन्। हाम्रो प्राचीन कला-वाङ्मय जराजीर्ण अवस्थामा छ। पहाडको प्राण त्यहाँका बासिन्दा हुन् तर अहिले ती द्रुत गतिमा पलायन हुँदै छन्। हाम्रा सांस्कृतिक गौरव, झ्याउरे कर्खा, मागल, बालुन, रोधी, गाईजात्रा, रोपाइँजात्रा, मादल, मुर्चुङ्गा, नरसिंहाआदि बिस्तारै हराउने स्थितिमा छन्। यी हाम्रै पहाडीभेग, लेक, बेंसी, गाउँठाउँका प्राण हुन् र तिनको उपस्थितिबिना पहाडहरू मृत अवस्थामा रहेका छन्।

‘मलामी’ भनेको स्वर्गे हुँदा दाहसंस्कारका लागि घाटमा जाने समूह हो। मलामी अन्त्यका समवेदक हुन् र विपदका सहयोगी, दुःखका साथी र विडम्बनाका प्रतीकका रूपमा रहेका छन्। हामी आफ्ना गौरवमय ऐतिहासिक, सांस्कृतिक धरोहरहरू क्रमशः तिरोहित भएको हेरिरहेछौं मूकदर्शक भएर। अर्थात् गौरवमय वीरत्व एवं सौर्यको अवसान हेरिरहेछौं मलामीझैं बनेर। वर्तमान युगरूपी तन्नेरी पहाडमा पहाड हुनुको उच्चता छैन, पहाडमै पहाडवासीको स्नेहिल जीवन्तता छैन, पहाडबाट निर्मल, निश्छल, सहयोग र सहानुभूतिका पाटाहरू विस्थापित छन्। त्यसैले कविले प्रतीकात्मक रूपमा तन्नेरी पहाडका रूपमा उपस्थित वर्तमान मानिसहरूका स्वार्थी, दम्भी, क्रूर, हिंस्रक, अविवेकी प्रवृत्तिहरूप्रति तीक्ष्ण व्यङ्ग्य प्रस्तुत गरेका छन्।

यसरी कविले पहाडलाई प्रतीकका रूपमा प्रस्तुत गरेर जीवनको गीत गाएका छन्। दोस्रो काव्य सारङ्गीमा पनि विम्ब र प्रतीकहरूका माध्यमबाट जीवनका विविध पक्षको चित्रण गरिएको छ। ‘सारङ्गी’ कलाको, कलाकारको, भोको पेटको, सङ्गीतको, नेपाली संस्कृतिको प्रतीक बनेर प्रस्तुत भएको छ।

सारङ्गी नेपालीहरूको मौलिक वाद्यसाधन हो। परापूर्वकालदेखि नै गन्धर्व जातिले सारङ्गी रेटेर जीवनका गीतहरू गाइरहेका छन्। खासगरी सारङ्गी वेदनाका गीतसँग रेटिएर बज्ने गर्छ। जीवन आखिर दुःखान्त नै छ। सुख त केही समयको पाहुना हो तर दुःख जीवनभरिको साथी हो। वियोगका-पीडाका स्वरले मानिसलाई सदा संवेदित तुल्याउँछन्। सारङ्गी काव्यभित्र समेटिएका जीवनका तरङ्गहरूले पाठकको मनोमस्तिष्कमा गहिरो प्रभाव पार्ने सामथ्र्य राख्दछन्। नेपालीका मन र मुटुमा प्रभाव पार्ने कर्खागीत ‘आमाले सोध्लिन् नि खै छोरा भन्लिन् ......’ का रचयिता र गायक झलकमान गन्धर्व हुन्।

विम्बकवि रमेश श्रेष्ठको अभिव्यक्तिकला विचित्रको छ। उनको आफ्नै पृथक काव्यशैली छ। सरल सङ्क्षिप्त अभिव्यञ्जना-पुञ्जमा उनले जीवनका विविध अनुद्घाटित पक्षहरू प्रस्तुत गरेका हुन्छन्। अर्थगत वैचित्र्य र भावगत गहिराइ उनका कविताका विशेषता हुन्। उनका कविता पढ्दा कुनै भावचित्र अतियथार्थवादी र कतै अमूर्तचित्र हेरिरहेझैं लाग्छ हामीलाई। ती कवितात्मक पुञ्जभित्र जतिपटक हेर्‍यो उति नयाँ अर्थ प्रकट भएझैं लाग्छ।

सारङ्गी नेपालीहरूको मौलिक वाद्यसाधन हो। परापूर्वकालदेखि नै गन्धर्व जातिले सारङ्गी रेटेर जीवनका गीतहरू गाइरहेका छन्। खासगरी सारङ्गी वेदनाका गीतसँग रेटिएर बज्ने गर्छ।

यसरी काव्य र चित्रकलामा उनको दोभानरूपी नृत्य हेर्दा हामीकहाँ पनि अर्का खलिल जिब्रानको जन्म भएको अनुभूति हुने गर्छ। कवि रमेश सङ्गीतको मूर्छनासित मौनसंवाद गर्छन्। इन्द्रेणीका रङहरूमा ‘सारेगम’ का लय सुन्छन्। अक्षरभित्र जीवनको आलोक खोज्छन्।

विचारको सरोवरमा कविताका कमललाई फुलाउँछन्। एउटा अलग प्रेममय संसारको रचना गर्न कविताकाे आराधना गर्छन्।

प्रकाशित: ९ असार २०८० ०५:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App