४ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

कलाकारको कलम

अभिनय कलाकारको अम्मल हो। कलासँगै जोडिएको हुन्छ साहित्य। कला र साहित्य सुनाइमा फरक सुनिए पनि गराइमा एकअर्कासँग अन्तर्सम्बन्धित छ। फरक यति हो– कला क्षेत्रमा लाग्नेले अभिनय गर्छ, साहित्यमा लाग्नेले लेख्छ। तर, यी दुवै क्षेत्रमा सिर्जना हुन्छ । त्यसैले त सिर्जनात्मक मान्छे कलाकारिता र साहित्य दुवैतिर फैलिन सक्छ।

कला क्षेत्रमा व्यस्त भइरहँदा पनि कतिपय कलाकारले साहित्यलाई टाढा राख्न सक्दैनन् । साहित्य कलासँग जोडिएर आउने विषय रहेकाले अन्तर्सम्बन्धित रहने बताउँछन्, चर्चित हास्य कलाकार हरिवंश आचार्य । उनी दशकौंदेखि कला क्षेत्रमा छन् । पछिल्लो समय भने आचार्यको नाम साहित्यमा पनि छाएको छ । आचार्यले लेखेको आत्मकथा ‘चिना हराएको मान्छे’ आमपाठकले रुचाए । पुस्तक चिना हराएको मान्छे करिब ७० हजार प्रति बिक्री भएको बजारमा चर्चा छ । यो संख्या भने नेपाली साहित्य क्षेत्रमा बिक्री हुने पुस्तकमध्ये अत्यधिक हो।

आचार्य कविता पनि लेख्छन् । उनका कविता पनि पाठकको रूचिमा पर्छन् । अझ चासोको कुरा त आचार्यको उपन्यास पनि आउँदै छ । यही वैशाखभित्र बजारमा आउने तयारीमा रहेको उनको उपन्यास आमपाठकको मन छुने विश्वास गरिएको छ । उसो त आचार्यको पेसा लेखन होइन । हास्य कलाकारिता क्षेत्रमा अत्यधिक व्यस्त रहने आचार्य लेखनमा पनि समय निकालिरहेका छन् । तर, कलाकारितामा लाग्ने मान्छे लेखनमा लाग्नु नयाँ भने आचार्यलाई लाग्दैन । कलाकारिता लेखनकै एउटा विद्या रहेको उनको बुझाइ छ । ‘कलाकारितामा लाग्ने जो–कोही लेखनमा लागिसकेको हुन्छ,’ आचार्यले भने, ‘लेखनबिना कलाकारिता नै हुन्न, कलाकारिताको सुरुवात बिन्दु नै लेखन हो ।’ हरेक कलाकार पहिला लेखक, त्यसपछि मात्रै कलाकार हुने बताउँछन् उनी ।

अभिनय गर्न ‘स्क्रिप्ट’ लेख्नुपर्ने हुँदा कलाकार किताब नछापिने लेखक रहेको आचार्यको भनाइ छ । ‘कलाकारले किताब लेख्दा आश्चर्य मान्नुपर्ने केही छैन,’ उनले भने, ‘कलाकार जन्मँदै लेखक हुन्छ । फरक यति हो, कसैले किताब लेखेर प्रकाशन गर्छ त कसैले गर्दैन ।’ तर लेखेर अभिनयमा उर्तानुभन्दा किताब प्रकाशन गर्नु धेरै सजिलो रहेको आचार्यको अनुभव छ । अभिनयका लागि लेख्नुप¥यो । लेखनलाई जस्ताको तस्तै अभिनयमार्फत दृश्यमा उतार्दा धेरै प्रक्रिया तथा झन्झट पूरा गर्नुपर्दा सकस हुने उनले बताए । लेखनमा कल्पिएका सबै भाव अक्षरमार्फत उतार्न सकिन्छ । लेखकले भन्दा कलाकारले धेरै नै मेहनत गर्नपर्ने हुँदा कलाकारका लागि लेखन सकसको विषय नहुन सक्छ । लेख्ने रुचि र समय भएको खण्डमा कलाकारले लेख्न सक्छ । कलाकारसँग काल्पनिक क्षमता पनि तुलनात्मक रुपमा बढी हुन सक्ने आचार्यको अनुभव छ ।

कलाकार कला क्षेत्रमा व्यस्त रहँदा पनि समय निकाल्छ, लेख्न बस्छ । अभिनयमार्फत आफूलाई मनमा लागेका सबै कुरा पोख्न सक्दैन । त्यसका लागि लेखन उपयुक्त ठाउँ हुने आचार्यले बताउँछन् । ‘मैले मेरो चिना हराएको मान्छेमा जति कुरा लेखेँ, ती सबै कुरा अभिनयमा उतार्न सकिँदैन,’ आचार्यले अनुभव सुनाउँदै भने, ‘मनमा अनेक कुराहरू थिए । ती कुरा अभिनयमा पोख्न नसकेपछि किताबमा पोखेको हुँ ।’ लेखन सोख भएको हुँदा व्यस्त रहने मान्छेले पनि समय निकालेर लेख्न सक्ने आचार्यले अनुभव सुनाए । उसो त कलाकारले लेखेको लेखनमा भाषा पनि सरल हुने आचार्यको बुझाइ छ । कलाकारितामा बोलीचालीको भाषा खुब प्रयोग हुन्छ । यसैले त कतिपयले बोलीचालीको भाषा कलाकारको हो भन्ने गर्छन् । कलाकारले किताब लेख्दा पनि बोलीचाली तथा सामान्य सबैले बुझ्न सक्ने शब्द प्रयोग गर्ने आचार्य बताउँछन् । कतिपयले बोलीचालीको भाषाले साहित्य हल्का बनाउँछ भन्ने पनि गर्छन् । तर, बोलीचालीको भाषाले साहित्य हल्का हुनेमा भने आचार्य सहमत छैनन् । बरु साहित्यका पाठक बढ्नेमा भने उनी विश्वस्त छन्।

०००

कलाकार खगेन्द्र लामिछाने पनि कलाकारको भाषा सरल हुने दाबी गर्छन् । नाटक, कथा र सिनेमा लेखिरहने लामिछानेका ‘पानीफोटो’, ‘कथा नाटक’ नामका दुइटा नाटक संग्रह र फुलानी कथासंग्रह प्रकाशित छ । यी कृतिमा सरल भाषाको प्रयोग भएको उनले बताए ।

कलाकारितापछि कृति प्रकाशन गरेको खगेन्द्र कलाकारितामा आउनुअगावै लेख्न थालिसकेका थिए । सानोमा ठूला मान्छेका कुरा काटेर बोल्दा खुब उनले गाली खान्थे, गालीपछि उठेको रिस मार्न गाली गर्ने मान्छेबारे छोटाछोटा कविता लेख्थे । एकताका रिस मार्ने हतियार लेखन बनाएका खगेन्द्रले अहिले मनको भाव पोख्ने थलो लेखन बनाएका छन् ।

‘कलाकारको जिन्दगीमा धेरै कुरा देखिने रहेछ,’ उनले भने, ‘देखेका सबै कुरा अभिनयमा देखाउन सकिन्न । त्यसैले लेखेर देखेका तथा लागेका कुरा बाँडिरहेको छु ।’ कलाकारितामा लाग्नेको लागि लेखन नयाँ विषय नभएको बताउँछन् खगेन्द्र । उनी भन्छन्, ‘कलाकार एउटा लेखकभन्दा बढी भावनामा डुब्छ । कल्पनामा हराउँछ । उसका लागि साहित्य लेख्न रुचि मात्रै भए पुग्छ ।’ कलाकारिताबाट थोरै समय निकाल्न सके पनि कलाकारले साहित्य लेख्न सक्ने खगेन्द्रको अनुभव छ । साहित्य, कला कुनै न कुनै हिसाबले एकअर्कासँग जोडिएका छन् भन्ने नै लाग्छ उनलाई । यसैले त अभिनयमा लागेका लामिछाने लेखन तानिए । लेखन र अभिनयलाई सँगसँगै लैजाँदा दुवैतिर सहयोग पुग्ने अनुभव उनीसँग छ । ‘कलाकारितामा लाग्ने सबैले साहित्य लेख्नुपर्छ भन्ने त होइन,’ लामिछानेले अनुभव सुनाए, ‘तर, बजारमा आएका साहित्य पढ्दा भने समाजका विभिन्न आयाम थाहा हुन्छ । त्यसले कलाकारको कलाकारितालाई पनि सहयोग पु¥याउँछ ।’ साहित्यको आवश्यकता कलाकारिता, पत्रकारिता लगायत सबै क्षेत्रमा देख्छन् उनी।

०००

नायिका विनिता बराल लेखनमा लाग्नुको प्रंसग भने अलि फरक छ । अभिनय गर्दागर्दै लेखनमा तानिएकी भने होइनन् उनी । यद्यपि अभिनयको कल्पनाशीलताले लेख्न भने उनलाई धेरथोर सहयोग भने पुगेको छ ।

विनिता एकताका कृषिमा लागेकी थिइन् । जब उनी आफैंले छरेको निर्जीव बिउ केही दिनमा बिरुवामा परिणत भएको देखिन् । विनिताको मनमा गज्जब को तरंग उठ्यो । ‘बिउ तथा बिरुवाको सुन्दरता र महŒव महसुस गरेपछि छटपटी सुरु भयो,’ विनिताले लेखनको प्रेरणा सुनाइन्, ‘छटपटी कसरी देखाउँ, कसलाई सुनाउँ लागेपछि लेख्न थालेकी हुँ ।’

लेख्दै जाँदा विनिताले उपन्यास नै बजारमा ल्याइन्, जुइनो । अहिले उनी दोस्रो उपन्यास लेख्ने क्रममा छन्। उनका उपन्यासमा प्रेमिल कथा हुन्छन्, कतिपय कथामा आफैंसँग जोडिएका प्रंसग हुने बिनिता बताउँछिन् ।

कलाकारिता र लेखन दुई फरक भए पनि काम गर्ने शैली भने उस्तै हुने विनितालाई लागेको छ । लेखकले पात्रका मनसाय बुझेर मर्म लेख्छन् । कलाकारले ती मर्ममा डुबेर अभिनय गर्छन् । लेखक र कलाकार दुवैले बाँच्नु पात्रका तीतामीठा जिन्दगीमा रमाउनुपर्ने बताउँछिन् विनिता । साहित्यमा कलम चलाएपछि कलाकारितामा निकै सहयोग पुगेको छ, विनितालाई । ‘एउटा राम्रा लेखकले आफ्नो पात्रलाई न्याय गरेजस्तै अभिनयमा पनि राम्रो कलाकार भएर पात्रलाई न्याय दिने सक्छ,’ विनिताले भनिन्, ‘लेखकले जस्तो आफ्नो पात्रलाई अरु कसैले बुझेको हुँदैन। त्यसैले साहित्य क्षेत्रमा कलम चलाउन पाउँदा अत्यन्त खुसी छु ।’

कलाकारिताले पनि साहित्यमा उस्तै सहयोग गर्छ । लेखक अक्षरमा खेल्छ, कलाकार अक्षर पढेर अभिनयमा । ती अभिनयले कथा बुन्न सिकाउने विनिताको भनाइ छ । लेख्न थालेपछि पढ्न मन लाग्ने र पढेपछि समाजका आयाम बुझ्न सजिलो हुने विनिता बताउँछिन् ।

०००

कलाकारितासँगै लेखनमा रमेका कलाकार हुन्, अजय अधिकारी ‘सुशील’ पनि । उनी गीत लेख्छन्, आफैँ संगीत भर्छन् र गाउँछन् पनि । त्यस्तै, म्युजिक भिडियो बनाउँछन्, अभिनय पनि गर्छन् । नाटक लेख्छन्, नाटकको निर्देशन र अभिनय दुवैमा अब्बल छन् ।

कलाकारिता लेखनमा रहँदारहँदै पनि उनले दुई वर्षअघि ‘देखेँ, भोगेँ अनि लेखेँ’ अनुभवको संगालो बजारमा ल्याएका थिए । ‘कलाकारिता र लेखन पूरक हुन्,’ अजयले आफ्नो अनुभव सुनाए, ‘सानैदेखि गीत गुनगुनाउँथे । गुनगुनाउन थालेपछि गाउने रहर जाग्यो । रहरमै म गीत लेख्न थालिसकेको थिएँ ।’

सिर्जनामा रमाउँदारमाउँदै आफूले सँगालेका अनुभव लेख्न उत्साहित भएका उनले अनुभवको संगालो प्रकाशित गरेका हुन् । पछिल्लो समय उनले कृति त लेखेका छैनन् तर गीत, नाटक लेखनमा भने व्यस्त छन् । दर्जनौं गीत लेखिसकेका अजयले नाटक पनि लेखेका छन् ।

‘कलाकार भएपछि दिनभरि देखेका कुराले च्वास्स मन छुने रहेछ,’ उनले भने, ‘त्यस्ता कुरा कि गुनगुनाउन मन लाग्छ कि त डायरीमा टिपेर राख्न ।’ पछिल्लो समय उनले कृति नल्याए पनि डायरी भने मेन्टेन गरेका छन् । समय मिलाएर डायरीमा उतारेका कुरालाई कृतिमा ल्याउने उनी बताउँछन् । कृति भनेको दस्तावेज हो । कलाकारले पनि आफ्नो दस्तावेज सुरक्षित राख्न लेख्नु उपयुक्त हुने अजयको सुझाव छ । अजय समय मिलेसम्म आख्यान लेख्ने सोचमा छन् । कथावस्तु भएर पनि समयले साथ नदिएका कारण लेख्न नपाइरहेको सुनाए । लेख्ने बानीले भने कलाकारितामा थप उत्साह तथा सहयोग पु¥याउने उनको अनुभव छ ।

सेलेब्रिटी साहित्य

कलाकारितामा लागेर सेलेब्रिटी बनिसकेपछि साहित्य लेख्दा झनै फाइदा पुग्ने बुझाइ हरिवंश आचार्यको छ। ‘कतै कार्यक्रममा जाँदा तपाईंको पुस्तक पढेँ, धेरै राम्रो छ भन्ने प्रतिक्रिया पाइन्छ,’ उनले भने, ‘यसले लेखनमा लाग्न झनै हौसला मिल्दो रहेछ ।’ तर खगेन्द्र भने साहित्य लेखनबाट पाठकले छुट्टै खालको प्रतिक्रिया नदिएको बताउँछन् । भेट्दा चिनजानेका साथीबाट राम्रो छ भन्ने प्रतिक्रिया भने पाइरहेको उनले बताए ।

विनिताको अनुभव भने अलि फरक छ । नायिकाले उपन्यास लेखेको भन्दा सबैलाई विश्वास गर्न गाह्रो मानेको उनले बताइन् । विनितालाई लाग्छ, पाठकको मस्तिष्कमा नेपाली नायिकाप्रति परेका छापको असर हो यो । यस्तो छाप विस्तारै मेटिँदै जानुपर्ने विनिता बताउँछिन् । यसका लागि थप नायिका लेखनमा आउनुपर्ने उनलाई लागेको छ । थप प्रेरणा दिनेहरू पनि भेट्दै नभेटेकी भने होइनन् विनिताले । सिर्जनशीलता कलाकार तथा नायिकसँग झनै हुन्छ भन्ने पनि भेटेकी छन् ।

यता, अजय भने कलाकारले किताब लेख्दा पाठकको समस्या नहुने बताउँछन् । ‘कलाकारका एक खालका फ्यान हुन्छन्,’ उनले भने, ‘ती फ्यानले किताब आउँदै छ भनेर थाहा पाउँदै पढ्नका लागि तयार भएर बसेका हुन्छन् ।’ एउटा कृति लेखेपछि अर्को लेख्नलाई हौसला मिल्ने बताउँछन्, अजय । यद्यपि अजयको कृतिलाई धेरैले मन पराए पनि उनले पछिल्लो समय अक्षरमार्फत भावना बाँड्न सकेका छैनन् । रुचिको विषय गीत, नाटक लेखनमै व्यस्त रहेकाले उनले अन्य विद्या लेख्न नपाएका हुन् । निकट भविष्यमै दमदार कृतिको साथमा पाठकसँग आउने अजयले बताए ।

नलेखिएको साहित्य

कलाकार आचार्यलाई भने साहित्यमा नलेखिएको कुनै विषय छ जस्तो लाग्दैन । तर, सकारात्मक सोच फैलाउने परिवर्तनधारी साहित्य बढी मात्रामा आइदिए हुन्थ्यो भन्ने लाग्छ । साहित्यले धेरै कुरालाई छोएजस्तो विनितालाई लागेको छ । यद्यपि, विनिताले पढ्न चाहेको विषय साइन्स फिक्सन भने पढ्न पाएकी छैनन् । साइन्स फिक्सन रुचिको विषय हुँदाहँुदै पनि पढ्न नपाएको उनले बताइन् । समाजमा भएका तर नभनिएका कथा साहित्यमा आए राम्रो हुन्छ जस्तो लाग्छ, अजय अधिकारी सुशीललाई । पछिल्लो समय साहित्य, सिनेमा र नाटकमा मौलिक कथाहरू आउन थाले पनि तीव्र रूपमा बढ्न भने नसकेको उनी बताउँछन् । कलाकारको जीवनमाथि पनि कमै लेखिएको र यस्ता कृति आउनुपर्ने अजयलाई लागेको छ । गीत, कविताजस्ता विधामा नीर शाह तथा गौरी मल्ल पनि लामो समयदेखि लागिपरेका छन्।

कलाकारको कृति आउनुपर्छ

हरेक कलाकारसँग सिर्जना हुन्छ । जिन्दगी जिउने कला हुन्छ । लुकेको कस्तुरी हुन्छ । नलेख्ने कलाकारले यी कुरा बाहिर ल्याउन सक्दैनन् । भौतिक सुविधायुक्त जीवनले भन्दा आनन्द मनको भाव बाँड्दा आउने हुँदा नलेख्ने कलाकारले यी सबै कुरा गुमाउँछन् भन्ने नायिका विनितालाई लागेको छ । हास्यमा सुप्रसिद्ध भनेर चिनिएका आचार्य पनि लेख्नु ठूलो उपलब्धि ठान्छन् । ‘कृति भनेको जीवन हो । त्यसमा पनि किताबको आकर्षण छुट्टै छ,’ उनले भने, ‘हरेक कलाकार आफैंमा लेखक हो, त्यसैले कलाकारिताबारे मात्रै नभएर कृति पनि लेख्नुपर्छ ।’

पुस्तकमा आकर्षण बढ्दै गएको हुँदा साहित्य लेख्न सक्ने क्षमतावान् कलाकारले किताब लेख्दा धेरै राम्रो हुने देख्छन्, आचार्य । आफैंमा दस्तावेज भएकाले किताब लेखनीलाई सानो काम ठान्न नहुने उनको बुझाइ छ । ‘सिर्जना सम्पत्ति हो,’ उनले भने, ‘सम्पत्ति बाँड्ने त महान् मान्छे पो हो ।’ साहित्य लेख्दा समाजलाई सकारात्मक ऊर्जा दिने कुरामा लेखकले जोड दिनुपर्ने आचार्यको बुझाइ छ । साहित्य समाजको ऐना भएकाले समाजमा साहित्यले परिवर्तनकारी भूमिका खेल्नुपर्छ भन्ने उनको सोच हो ।

बजारको दबाब र प्रभावमा नपरी कलाकारले लेख्न सक्नुपर्ने खगेन्द्रको भनाइ छ । अजय भने साहित्य पढ्न बसेपछि उठ्न मन नलाग्ने गरी ध्यान तान्ने लेख्नुपर्ने बताउँछन् । पढ्दापढ्दै सकिएको थाहा नपाइयोस् । त्यसका लागि कथावस्तु र लेखनशैली सरल हुनुपर्नेमा उनको जोड छ । साहित्य इन्ट्रेस्टिङ हुने बताउँदै कलाकार पनि यस्तो विषयमा भिज्न सक्ने हुँदा प्रयास गरिनुपर्ने उनलाई लागेको छ । क्षमता हुने कलाकारले लेख्न सकेमा उत्कृष्ट साहित्य बजारमा कलाकारको पनि उपस्थित हुने सम्भावना उनी देख्छन् ।

                            (सामीप्यराज तिमल्सेनाको सहयोगमा)

प्रकाशित: १६ वैशाख २०७४ ०४:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App