९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

‘धाम’लाई आस्थाले जोगाउँछ

संस्कृति

नेपाली बृहत् शब्दकोशमा ‘धाम’ शब्दलाई अथ्र्याइएको छ– देउदेउताहरू रहेको प्रसिद्ध ठाउँ, स्वर्ग, पुण्यस्थान, तीर्थ। जनकपुरधाम यस मानेमा अत्यन्त प्राचीन कालदेखि नै माथि उल्लिखित सबै विशेषता बोकेको ठाउँ हो।

वास्तवमा जनकपुरलाई जनकपुरधाम भनेर भनिँदै आइएको पनि हो। यस पंक्तिकारकै कृति ‘जनकपुरधाम र यस क्षेत्रका सांस्कृतिक सम्पदाहरू’ आजभन्दा साढे दुई दशकअगाडि (२०५६) मै प्रकाशित भएको हो। यसमा सामेल गरिएका आलेखहरू तीन दशकअगाडिदेखि नै प्रकाशित हुँदै आएका हुन्। त्यस बेला धाम लेखाउने कुनै अभियान पनि थिएन। सामान्य जनजिब्रोमा यस्ता पवित्र नगरलाई धाम जोडेर भन्ने प्रचलन देखिन्छ। सरकारी रेकर्डमा धाम जोडेर राख्दैमा सामान्य बोलचालमा यसै भनिएला भन्न सकिँदैन। सामान्य बोलचालमा जनकपुर भन्ने चलन रहँदै आएको छ।

धार्मिक पर्यटनको विकासमा जनकपुरधामको महत्व उल्लेख्य रहने देखिन्छ तर यसका लागि धेरै काम गर्नुपर्छ। मात्र धाम लेखाइँदैमा सबै थोक हुने होइन। नगरलाई सफा, स्वच्छ राख्न जरुरी छ, जसको अभाव यहाँ सधैं रहन्छ।

यसका लागि जनकपुरधामको गरिमा बनाइराख्न पुण्यस्थानका लागि केही सर्तहरू पूरा गर्नुपर्छ। त्यसमा पवित्र जानकी मन्दिर र राम मन्दिरको सेरोफेरोमा स्वच्छ र सफा वातावरणको निर्माण गर्नुपर्छ। जानकी मन्दिरको चारैतिरका क्षेत्रमा एउटा खास क्षेत्रफल निर्धारण गरी पूर्ण रूपमा सफा र प्रस्ट मन्दिर देखिने गरी वातावरण बनाउनुपर्छ।

यो प्रसङ्ग पहिला पनि नउठेको होइन। तर जवाफदेही निकायले टेरपुच्छर नलगाएकाले आजसम्म यो क्षेत्र अस्तव्यस्त रहेको छ। जानकी मन्दिर आजको समयमा विश्व सम्पदा सूचीमा सूचीकृत गरिने प्रक्रियामा पुगेको छ। तर युनेस्कोले निर्धारण गरेका मापदण्ड अझसम्म पूरा गरिने प्रयास कतैबाट पनि भएको देखिँदैन। हो यसपालिको नेपाल सरकारको नीति तथा कार्यक्रममा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रयास गरिने भनिएको छ, जसलाई सकारात्मक पहल मान्नुपर्छ। यसका लागि पूर्वाधार दिने दायित्व त हाम्रै हुनुपर्छ। केही थान कुचो बोकेर फोटो खिचाइँदैमा युनेस्कोले निर्धारण गरेका मापदण्ड पूरा हुने होइन।

जनकपुरधामको गरिमा बनाइराख्न पुण्यस्थानका लागि केही सर्तहरू पूरा गर्नुपर्छ। त्यसमा पवित्र जानकी मन्दिर र राम मन्दिरको सेरोफेरोमा स्वच्छ र सफा वातावरणको निर्माण गर्नुपर्छ। जानकी मन्दिरको चारैतिरका क्षेत्रमा एउटा खास क्षेत्रफल निर्धारण गरी पूर्ण रूपमा सफा र प्रस्ट मन्दिर देखिने गरी वातावरण बनाउनुपर्छ।

यी सबै कामका लागि प्रथम जवाफदेही क्षेत्रका रूपमा जनकपुरधाम उपमहानगरपालिका नै देखिन आउँछ। त्यसैले यसको पवित्रता, स्वच्छता, सौन्दर्यलाई बचाइराख्ने जिम्मेवारीबाट भाग्न पाइँदैन। सरकारी दस्ताबेजमा मात्र सुरक्षित राखेर भएन, वास्तविक स्वरूपलाई कायम राख्न जरुरी छ। यी सबैथोक भइदियो भने मात्र यस पवित्र नगरीप्रतिको असल जवाफदेहिता पूरा हुने सम्झनुपर्छ।

धामको प्राचीनता

जनकपुरधाम अराध्यदेव राम र माता जानकीको पावन परिणय थलो, राजर्षि जनकको राजभूमि र माता सीताको जन्मथलोका रूपमा प्रसिद्ध छ। भारतको मध्यप्रदेशअन्तर्गतको टिकमगढका ओरछा नरेश प्रताप सिंहकी पत्नी वृजभानु कुँअरिद्वारा (सन् १९११) निर्मित ‘नौलखा’ अर्थात् भव्य जानकी मन्दिर आज सबै श्रद्धालुहरूका लागि पवित्र तीर्थस्थल भएको छ। पुरातत्व र भवन निर्माण शैलीमा रुचि राख्ने पर्यटकहरूका लागि दर्शनीय थलो पनि बनेको छ।

भक्तिभावको यस स्थललाई आफ्नो उच्च महत्वको ठाउँसम्म पुग्न रामानन्द (चौधौं शताब्दीको आरम्भ) द्वारा गरिएको योगदानको स्मरण स्वरूप रामानन्दचोकमा रहेको मन्दिर र भव्य द्वार जनकपुरको सान नै भएको छ। जनकपुरको यो स्वरूप प्रदान गर्ने भक्ति सम्प्रदायका सन्तहरूले खेलेको भूमिका स्मरण गर्नु आवश्यक हुन्छ। ती पलको स्मरणार्थ भारतको अयोध्याबाट भव्य जन्ती जनकपुरधामसम्म आएर विवाह पञ्चमीको प्राचीनतम महत्वलाई प्रतिस्थापित गर्ने गर्छन्।

शङ्कराचार्य (आठौं शताब्दीको अन्तिम भाग) ले बैष्णव धर्मप्रचारका क्रममा ब्राह्मणहरूका लागि वेद र ऋचाको अध्ययन, वाचन मात्र सम्भव हुने, अन्य अर्थात् शूद्रका लागि पूर्णतः वर्जित हुने अवधारणा समाजमा राख्दा त्यसको विरोध दक्षिणका सन्तहरू रामानुचार्य (एघारांै शताब्दीको मध्य) र गुजरातका माध्वाचार्य (तेह्रौं शताब्दीको अन्त्य) ले प्रखर रूपमा गरे। तर त्यसले शङ्कराचार्यको प्रभावलाई सामान्य मत्थर पनि बनाउन सके।

जनकपुरधाम अराध्यदेव राम र माता जानकीको पावन परिणय थलो, राजर्षि जनकको राजभूमि र माता सीताको जन्मथलोका रूपमा प्रसिद्ध छ।

रामानुजाचार्यकै शिष्य परम्परामा आउने रामानन्दले यो अभियानलाई तीव्रता दिए। ब्राह्मणहरूको धर्ममाथिको एकाधिकारलाई समाप्त पारी समाजका सबै वर्गका लागि भक्ति सम्प्रदायको बाटो खोले। उनका शिष्यहरू पनि विभिन्न क्षेत्र र वर्गबाट आएका थिए। बङ्गालमा चण्डीदासदेखि लिएर चैतन्य (सन् १४८५-१५३३)सम्म मानिसमात्रको समानतामाथि जोड दिँदै वैष्णव भक्ति–भावनालाई अझ दृढ पारे।

चैतन्य महाप्रभुका शिष्यहरू निम्न जातिका हिन्दु र मुसलमानहरू पनि प्रशस्त बने। त्यसपछि कबिरदासले पनि छुवाछुत-जातपातको विरोधसँगै भक्तिभाव र सम्प्रदायमा ब्राह्मणहरूको एकाधिकारको खुलेरै विरोध गरे।

वैष्णव भक्तहरूमा यस प्रकारको आक्रमकताको साहस थिएन। शास्त्रीयताको नाउँमा जसरी वर्णवादी मर्यादालाई लोकजीवनमा थोपर्ने काम भयोे, कबिरले ती सबैलाई उदाङ्ग पार्ने काम गरे। कबिरदासले रामानन्दबाट ‘रामनाम’ को मन्त्र लिएर रामलाई निर्गुण निराकार ब्रह्मको स्वरूप प्रदान गरे र पूर्ण आत्मविश्वासपूर्वक लेखे-‘दशरथ सुत तिहुलोक बखाना। राम नामका मरम है आना।’

रामानुजाचार्यकै शिष्य परम्परामा आउने रामानन्दले यो अभियानलाई तीव्रता दिए। ब्राह्मणहरूको धर्ममाथिको एकाधिकारलाई समाप्त पारी समाजका सबै वर्गका लागि भक्ति सम्प्रदायको बाटो खोले।

कबिरदासको मृत्यको १५-२० वर्षपछि तुलसीदासको जन्म भएको थियो। आफ्नो चारैतिर कबिरको निर्गुणपन्थको बढ्दो प्रभाव उसले महसुस गरे। त्यसपछि उनले ‘रामचरितमानस’ मा लेखेका छन्-‘तुम्ह जो कहा राम कोउ आना। जेहि श्रुति गाव धरहिं मुनिध्याना।

कहहिं सुनहि अस अधम नर, ग्रसे जे मोह-पिचास।

पाखण्डी हरि-पद विमुख, जानहिं झुठ न साँच।’

यसरी भक्ति आन्दोलनले सम्पूर्ण समाजलाई एउटा सांस्कृतिक सूत्रमा आबद्ध गर्‍यो, जसको फलस्वरूप धर्म र अध्यात्मप्रतिको आस्थाले निरन्तरता पायो। बीचमा राजनीतिक उतारचढावले धर्मप्रतिको धारणामा शिथिलता, विचलन, खण्डन र नैराश्य पनि ल्यायो तर त्यसले हिन्दु धर्मावलम्बीहरूलाई गाँस्ने ‘रामचरितमानस’ का पङ्क्ति र आदर्शलाई स्थापित गर्‍यो। जसले आजसम्म राम–सीता र रावण–विभीषण चरित्रहरूको जीवनचरित्रलाई आफ्नो आदर्श मान्ने समाजको विकासलाई निरन्तरता दिँदै गयो। आज जनकपुरधाम त्यसै भक्ति सम्प्रदायको विकसित र प्रतिष्ठित भावभूमिका रूपमा विश्वविश्रुत छ। तिनै धार्मिक आस्थाकै आधारमा रामनवमी, विवाह पञ्चमीलगायतका पर्वहरूको आयोजन यहाँ हुन्छन्। वर्षमा लाखौं श्रद्धालुहरूको आगमन यहाँ हुने गर्छ।

अन्तमा

धार्मिक पर्यटनको विकासमा जनकपुरधामको महत्व उल्लेख्य रहने देखिन्छ तर यसका लागि धेरै काम गर्नुपर्छ। मात्र धाम लेखाइँदैमा सबै थोक हुने होइन। नगरलाई सफा, स्वच्छ राख्न जरुरी छ, जसको अभाव यहाँ सधैं रहन्छ। प्रदेश सरकारद्वारा प्रारम्भ गरिएको मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत जानकी मन्दिर सौन्दर्यीकरण योजना अहिले पनि पूर्ण भएको छैन। यसलाई अझै स्वच्छ बनाउन सकिएको छैन। यसका अवधारणा विकसित गर्नेहरूसँग रहेको योजना पूरा हुनुपूर्व नै यसलाई बदनाम गर्ने काम भयो। यो योजना अलपत्र छ। यसले निर्धारित स्वरूपमा पूर्णता पाउन सके निश्चय पनि जनकपुरधामका लागि ठुलो उपलब्धि हुनेछ। जनकपुरधामको गौरवशाली स्वरूपको निर्माण आत्मश्लाघाले होइन, त्यसप्रति दायित्वबोधले हुने कुराको हेक्का राख्नुपर्छ।स

प्रकाशित: २ असार २०८० ००:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App