२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

डा.आनन्द जोशीका दुई कृति सार्वजनिक

रुबरिक र कुतः पिकाकले नेपाल भाषा साहित्यका आधुनिक कवि डा. आनन्द जोशीका प्यकालँय् जि जि (लघुकथासंग्रह) र थौंया हाइकु: विकास यात्रा वा दिशाबोध (हाइकु सिद्धान्त र समालोचनासंग्रह) को लोकार्पण गरेको छ। कथाकार ध्रुव मधिकर्मीकाे प्रमुख आतिथ्यमा स्रष्टा जोशीका नाति रोनन जोशी र सोहन बाटाजुले कृतिकाे लोकार्पण गरेका हुन्।

कार्यक्रममा प्रमुख अतिथि मधिकर्मीले लघुकथा र हाइकु आकारमा सानो भए पनि विषय र दृष्टिकोणले लामो साहित्यभन्दा कम नभएको बताए। उनले प्रस्तुत हाइकु कृतिमा स्रष्टा जोशीले नेपाल भाषाका हाइकुको अवस्था र अवधारणा स्पष्ट रूपमा उल्लेख गरेकाे तथा महानगरीय चेतना र प्रविधिको अत्यधिक विकासले मानवीय जीवनमा परेको प्रभाव लघुकथा कृतिमा सशक्त रूपमा प्रस्तुत गरिएको बताए।

स्रष्टा डा.आनन्द जोशीले थोरै शब्दमा लेखिने विधा चुनौतीपूर्ण हुने बताउँदै त्यसका लागि आफूले निकै मेहनत गरेको बताए। उनले आफूले नेपाल भाषामा हाइकुको विकासको लागि अवधारणा तयार पारेको र त्यसले आगामी यात्राको लागि एउटा दिशाबोध गरेको पनि बताए।

नलि साहित्यिक मासिकका सम्पादक नरेशवीर शाक्यले साहित्य र भाषामा नयाँ पुस्ताको प्रवेश आवश्यक रहेको बताउँदै आजको कार्यक्रममा पनि त्यसको संकेत देखिएको बताए।

कृतिका प्रकाशक विमल ताम्राकारले हाइकु र लघुकथासम्बन्धी प्रस्तुत कृति पाठक तथा नयाँ लेखकका लागि निकै उपयोगी रहेको बताए।

कार्यक्रममा स्रष्टा जोशीलाई नेपालभाषा परिषदले घोषणा गरेको चित्तधर सिरपा पुरस्कार पनि प्रदान गरिएको थियो।

कार्यक्रममा स्रष्टाहरू: केदार सितु, पुप्परत्न तुलाधर, नरेश अमात्य, धर्म राजकर्णिकार, श्रीराम श्रेष्ठ, दिव्या बज्राचार्य, रीता महर्जन, जीवन कंसाकार, तुयु पुं, दीपक मास्के, कुन्जनी जोशी, विष्णुकेशरी ताम्राकार लगायत विविध क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।

बीसको दशकदेखि नेपाल भाषाको आधुनिक कविता लेखनमा अग्रपंक्तिमा रहेर सशक्त ढंगले उपस्थिति जनाउँदे आएका कवि जोशीले पछिल्लो समय साहित्यका अन्य विधा हाइकु, लघुकथा र समालोचनामा समेत कलम  चलाउँदै आएका छन्। उनका कविता र समालोचना सम्बन्धी एक दर्जन बढी कृति प्रकाशित छन्।

प्रकाशित: १ असार २०८० ०७:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App