उसले बारम्बार भन्ने गर्थ्याे, ‘तँ राम्रो नाच्छेस्, बहिनी! मेरो नृत्य कला केन्द्रमा नै काम गरेस् है!’
ऊ च्याँठ्ठइन्थी र भन्ने गर्थी, ‘अब मेरो त्यही काम बाँकी छ,यो गाउँमा सडेर बस्न।’
ऊ स्वतन्त्र थिई। दिनभरि काममा जान्थी। बालबालिकालाई नाच सिकाउँथी। बिहान-बेलुका आमासँग घरधन्दा गर्थी तर केही दिन यता उसले विचार गरिरहेको थियो, बहिनी ढोका लगाएर एक्लै बस्छे। कोहीसँग बोल्दिन। काममा नि गएकी छैन। आफ्नो प्रतिभालाई किन आफैं कुण्ठित गर्दै छे?
उसले आमालाई सोध्यो, ‘बहिनीको व्यवहार किन बदलियो, केही भेउ छ आमालाई?’
आमाले चिन्ता व्यक्त गर्नुभयो, ‘खाेई सोध्यो भने रुन्छे मात्र! खाना पनि खान मान्दिनँ। यस्तो पाराले केही बिगार पो गर्ने हो कि?’
उसले अब अनुमान होइन, यथार्थ बुझ्न चाह्यो। बहिनीलाई बोलायो।
उसले यो र त्यो भनेर अनेक प्रश्न गर्यो तर उसले होइन भन्दै गई।
आखिर ऊ करायो,‘भयो के त? स्पष्ट भन् न!’
उसले यथार्थ ओकली, ‘तिम्रो व्यक्तित्व विकासमा म सहयोग पुर्याउनेछु भन्दै मसँग महिनैपिच्छे उसले पैसा लिन्थ्यो। हामी राजधानी जाने, म सिनेमा बनाउने र तिमी नाच्ने भन्थ्यो तर अहिले थाहै नदिई ऊ भाग्यो।’
उसले जिस्काउँदै, काखी बजाउँदै भन्यो,‘खुच्चिङ, खुच्चिङ!’
दाजुको हाउभाउ देखेर उसले हाँस्दै भनी, ‘मैले आफ्नो र पराया चिनें। अब हजुरसँगै काम गर्नेछु। मलाई क्षमा गरिदिनू दादा!’
प्रकाशित: २१ जेष्ठ २०८० ०७:१५ आइतबार