५ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

मेलामा साख गुमाउँदै कलाकार

काठमाडौं- दसैंलगत्तै कलाकारको अर्को दसैं सुरु हुन्छ। मंसिरसँगै सुरु हुने मेला र महोत्सवको निम्ताले कलाकारलाई अर्को दसैंको आभाष दिलाउँछ। जाडोयामका चार महिना मंसिर, पुस, माघ र फागुन महोत्सवमय बन्छन् भने कलाकारलाई भ्याइनभ्याई हुन्छ।  मेला–महोत्सवले कलाकारलाई आम दर्शकसँग नजिक मात्र बनाउँदैन, आर्थिक रुपमा पनि सबल बनाउँछ।  कला क्षेत्रमा आफ्नो छवि बलियो बनाउने मौका त हुँदै हो यो। पहिले रेडियो–क्यासेटमा सुनेका भरमा कलाकारप्रतिको दृष्टिकोण बनाउने स्रोता अचेल मेला–महोत्सवमा कलाकारलाई प्रत्यक्ष साक्षात्कार गर्न पाउँछन्। यसरी मेला–महोत्सवमा सहभागी हुने कलाकारले आफ्नो साख गुमाउँदै गएको टिप्पणी हुन थालेको छ।

'मेला र महोत्सवमा पहिले खुब स्वागत–सत्कार पाउने कलाकारलाई अचेल आयोजकले भाडाका संगीतकर्मीजस्तो व्यवहार गर्दैछन्'

पहिले खुबै स्वागत–सत्कार पाउने कलाकार अचेल भाडाका संगीतकर्मीको रुपमा परिणत हुँदै गएको टिप्पणी सुनिन थालेको छ। गीत सुन्ने मात्र होइन, दर्शकलाई प्रत्यक्ष महसुस गराउने माध्यमका रुपमा यस्ता मेला महोत्सव रहने गरेको स्विकार्छन्, गायक शिव परियार।

‘यस वर्ष पनि तीन महिना मेला महोत्सव र कन्सर्टमै बित्यो’, गायक परियार भन्छन्, ‘महोत्सवमा डेढ घन्टासम्म गीत गाउन सक्छु।’ उनले महोत्सव र कन्सर्टको सेरोफेरोमा कपिलवस्तु, बुटवल, तनहँु, लमजुङ, चितवन, धादिङ, झापा, मोरङ, लहान, उदयपुर, कञ्चनपुर, महेन्द्रनगर, कर्णालीको लम्की, नेपालगन्जलगायत स्थानमा आफ्नो गायनकला प्रस्तुत गरेको बताए। उनले भनेझैं महोत्सवले कलाकारलाई आम्दानी मात्र दिँदैन, दर्शकमाझ लोकप्रियसमेत बनाउने भएकाले पनि कलाकारको आकर्षण महोत्सवमा बढ्दो छ।

विदेश जँादाको र यहीँका महोत्सवमा हुने कमाइ बराबरजस्तै हुने भएकाले पनि कलाकार महोत्सवमा जान रुचाउँछन्।

रेकर्डिङतिर भने गायक परियारले कलेक्सनका गीत गाउन छाडेको बताए।

'रहर गरेर गीत लेख्ने र गाउने, म्युजिक भिडियोमा खेल्नेका कारण वास्तविक संगीत मर्दै गएको महसुस गरे। त्यही भएर अब त्यस्ता गीत र भिडियोमा काम गर्दिनँ', परियारले भने।

‘सबैको प्यारो बन्नुपर्छ, आफ्नो चिनजान बढाउनुपर्छ भन्ने धारणाका कारण त्यस्ता गीत र भिडियो पहिले खुब गरेँ’, उनले भने, ‘तर आफ्नो सांगीतिक करिअर नै धरापमा पर्न सक्ने देखेर त्यस्ता रेकर्डिङ छाडे।’

पहिले–पहिले कलाकारलाई राम्रो इज्जत दिने आयोजकले अचेल कलाकारसँग व्यावसायिक सम्बन्ध मात्र राख्ने गरेको टिप्पणी सुनिन्छ। पहिले र अहिले हुने मेला–महोत्सवमा कलाकारको चयन र सम्मानमा केही फरक आएको कुरामा परियार पनि सहमत छन्।

‘आफ्नो व्यक्तित्वलाई कसरी राख्नुहुन्छ भन्ने कुरा आफैंमा भर पर्छ, शिव भन्छन्, ‘मेरो इज्जतै डाउन गर्ने खालका आयोजक मैले भेटेको छैन।’ उनका अनुसार पहिला मेला महोत्सव कम हुन्थे। कसरी कलाकार बोलाउने भन्ने ज्ञान पनि आयोजकमा थिएन। उनीहरुले इच्छाएको कलाकार एउटा हुन्थ्यो भने दर्शकले मन पराएको कलाकार अर्कै। आयोजक पहिले आफैं फूलमाला लिएर कलाकार लिन विमानस्थल धाउँथे। यही क्रममा केही कलाकारले आफ्नो प्रतिष्ठाविपरीत सेवा–सुविधाको दुरुपयोग पनि गर्थे। ५ हजार रुपैयाँ दिने गरी लगेका कलाकारले १५ हजार खर्च गरिदियो। बीचका ठेकेदारले काम पाए। आयोजक गमक्क पर्नेक्रम सुरु भयो। 'तर मेरो केहीसँग पर्‍या पनि छ। म तपाईंको पाहुना हो। म कहाँ बस्ने, सुरक्षा के छ, कसरी आउने फर्कने भन्ने कुरामा निश्चिन्त बनाउँछु’, शिवले भने, ‘कलाकारले आफ्नो स्ट्यान्डर्ड आफैं बनाउने हो।’

यस्ता महोत्सवमा पारिश्रमिक र जथाभाबी कलाकार राख्ने र 'हजुर मलाई बोलाइदिनुस्!' भन्नेलाई प्राथमिकता दिइनाले पनि कलाकारको सम्मानमा असर पर्न थालेको  उनको अनुभव छ।

गायक प्रमोद खरेलले यो सिजनमा अत्यधिक महोत्सवमा सहभागिता जनाए। कैलालीकै १० वटा महोत्सवमा गीत प्रस्तुत गरेका खरेल पहिलेजस्तो कलाकारलाई सम्मान हुन छाडेको टिप्पणीसँग सहमत छन्।  'एउटै जिल्लामा ११ वटासम्म महोत्सव हुने गर्दा दर्शक बाँडिएका छन्। यही कारण कलाकारको क्रेज पहिलेजस्तो हुन्न', प्रमोद बताउँछन्।

कलाकारले सम्मान गुमाउँदै जानुमा उनीहरु स्वयं पनि जिम्मेवार रहेको बताउँछन् प्रमोद।

‘कतिपय ठाउँमा पैसा दिएपछि नाथे कलाकार आइहाल्छ नि भन्ने मानसिकता बनेको छ। महोत्सवमा जान पाए भइहाल्यो नि भन्ने धारणा बोकेका कलाकारको सहजताले यस्तो भएको हो’, खरेल दाबी गर्छन्। उनी आजकाल तीनखालका गीत चलिरहेको दाबी गर्छन्। 'डिजिटलमा चल्ने, बजारमा चल्ने र महोत्सवमा चल्ने गीत फरक धारका हुन्छन्। समयअनुसार तीनैखाले गीत गाउनुपर्छ', महोत्सवमा आफूले गाउने गीतबारे प्रमोदको धारणा छ। महोत्सवमा उनले ६०–७० देखि एक लाख रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन्।

पारिश्रमिक प्याकेजमा लिने हो कि गाएको मात्र लिने हो भन्नेले कलाकारको पारिश्रमिक तय गर्ने मेलिना राईको अनुभव छ। तर, उनले आफूलाई गर्ने सम्मानमा भने कमी महसुस नगरेको बताइन्।  पारिश्रमिकअनुसार रणनीति बनाउने सुनाउँदै मेलिनाले भनिन्, 'कतिपयमा आयोजक आफैंले सबै जिम्मा लिन्छन्। कतिपयमा कलाकार आफंैले व्यवस्था गर्नुपर्छ। ठाउँ हेरेर निर्णय लिन्छु।'

गायिका आस्था राउत भने महोत्सवकै लागि मरिहत्ते गरेर दौडधुप नगर्ने पक्षमा छिन्। ‘स्टारडम कस्तो बनाउने भन्ने कुरा आफैंमा भरपर्छ’, राउत भन्छिन्, ‘अवसर धेरै आउँछन् तर सक्ने  मात्र लिन्छु। आजै कार्यक्रम, भोलि कार्यक्रममा जान मरिहत्ते गर्दिनँ।' राउत पछिल्लो समय आयोजकले कलाकारलाई भावनात्मक रुपमा भन्दा पनि व्यावसायिक रुपमा डिल गर्ने गरेको भने स्विकार्छिन्।

‘तपाईंको प्याकेज कति छ भन्छन्? पैसा र बासको आफ्नो आवश्यकता बताइदिन्छु। चित्त बु‰नेले पठाउँछन्, नबु‰नेले पठाउँदैनन्,' आस्था भन्छिन्। उनलाई कलाकारलाई 'डिल' गर्ने पछिल्लो चलन समयको माग नै हो जस्तो लाग्छ। उनको तर्क छ, 'मेला महोत्सव पनि व्यापारिक प्रयोजनका लागि नै हुन्। आयोजकलाई त्यो समयमा धेरैतिर समय दिनुपर्ने हुन्छ। यस्तोमा कलाकारलाई आफ्नो ख्याल आफैं गर भन्नु नाजायज पनि होइन।'

प्रकाशित: १० चैत्र २०७३ ०३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App